• ११ पुस २०८१, बिहिबार

हाकुमाया (नाटक)

blog

मञ्च अन्धकार छ । नेपथ्यबाट अस्पष्ट ध्वनि क्रमशः नजिकिन्छन् । जँड्याहाको लरबरिएको स्वर सुनिन थाल्छ । 

जड्याहाँ: (रक्सीको बोतलमा लात हानेको प्रस्ट सुनिन्छ) कस्ता कस्ता मै हुँ भन्ने त म इन्द्रमान भने पछि थुरर्र हुन्छन् । ...यो जाबो ...रक्सीको बोतलले ...मेरो बाटो छेक्न खोज्ने......कत्रो हिम्मत ? देखिस्, मेरो लातले तँलाई कहाँ पु-यायो ? 

(बोतल एकअर्कासँग ठोक्किएको आवाज सुनिन्छ) चुप लाग् । हल्ला नगर ...मलाई शान्ति चाहिन्छ ...चुप लाग् ...आवाज फिटिक्क होइन । अब बोल्ने मात्र म... सुन्ने पालो तिमीहरूको.... चुप लाग् । (जँड्याहा लडेको आवाज सुनिन्छ ।) 

मञ्चको मध्य भागमा मात्र प्रकाश केन्द्रित हुन्छ । बच्चाहरूको कोलाहलको आवाज सुनिन्छ । चारैतिरबाट अत्तालिएका बच्चा एउटी अधबैँसे आइमाईलाई अँगालो हाल्छन् । उनीहरू एक्लै डल्लो बनेका छन् । तिनीहरू भयभीत देखिन्छन् । आमा सबैको कपाल पालैपालो सुम्सुम्याउँछिन् । 

हाकुमाया: (सबैलाई सान्त्वना दिँदै), तिमीहरू डराउनु पर्दैन, म छँदै छु नि ! किन 

डराएको ? भो डराउनु पर्दैन । (आँसु पुछ्दै) ल उठ, तिमीहरू पनि खाना छिट्टो खाओ नत्र...ल उठ् उठ् .. ।

ठुलो छोरो: (आमातिर हेर्दै) नत्र, आज पनि भोकै बस्नुपर्छ हगि मा !

आमा छोरोको मुखमा टुलुटुलु हेर्छिन् । 

हाकुमाया: ल, ल हिँड्, यिनीहरू अझै यहाँ ....तिम्रो जँड्याहा बाउ आए भने ...पाकेको भात पनि खान पाउँदैनौ.. (चिन्तित मुद्रामा) आफू अघाएपछि छोराछोरीको के चिन्ता ? भात पकाएको कसौडी करेसाबारीमा पुग्छ... लौ तिमीहरू पनि के–के कुरामा अल्झिरहेका... लौ छिट्टै हिँड् । 

माहिलो छोरो: (आमाको फरियाको फेरो समात्दै) आज फेरि हामी मकैबारीमा लुक्ने अनि... अनि ...साहिँली भाउजूकहाँ राति सुत्न जान्ने हो... ।

कान्छी छोरी: (आमाको हात समात्दै) मा ! मकैबारीमा नजाने क्या ! राति त्यहाँ डरलाग्दो हुन्छ । त्यसमाथि लामखुट्टेले टोेकेर हातखुट्टाभरि नै डाबर नै डाबर आउँछ, म त्यहाँ त नजाने मा...

(बिचमा कुरा काट्दै)

ठुलो छोरो: मा ! साहिँलो भाउजूूकहाँ नजाने क्या.. त्यहाँ बाउले हामीलाई भेटे भने फेरि तपाईंलाई कुट्नु हुन्छ ...अस्ति साहिँली भाउजूकहाँ हामी सुतिसकेका थियौँ । बाउले ढोका नै फुटाउँला जस्तो गरेपछि साहिँली भाउजूले ढोका 

खोलिदिनुभो । त्यसपछि बाउले तपाईंले कुटेको मैले देखेको थिएँ । तपाईंले सोच्नु भएको होला, हामी निदाइसक्यौँ तर म ...मलाई पटक्कै निद्रा लागेको थिएन ...आज अरूको घरमा जाने त्यो माथि घरको रामबहादुर काकाको घरमा जाऊँ न ...त्यहाँ... ।

त्यसपछि छोराले के बोले आमाले सुनिनन् । अवाक् भएर छोरोको अनुहारमा एक टकसँग हेरिरहिन्, मात्र हेरिरहिन् । छोराछोरीहरू सबै आमाको फरिया समातेर लुछ्दै केही भन्दै हुन्छन् ।  

दृश्य २

मञ्चमा व्रmमशः उज्यालो छरिन्छ । बच्चाहरू सबैसँगै लस्करै सुतेका देखिन्छन् । अधबैँसे दुई आइमाई सँगै टुव्रmुक्क बसेका छन् । हाकुमाया टाउकोमा हात राखेर चिन्तित देखिन्छिन् । छेवैमा साहिँलीकी छोरी पुनेश्वरी उभिएकी देखिन्छिन् ।

साहिँली ः के सधैँ यसरी चल्छ जीवन, भाउजू ?

हाकुमाया चुप लागिरहिन्छन् । 

हेर, बिहान झिसमिसेदेखि रातसम्म हात एकछिन खालि छैन, घरखेत दुवै एक्लैले धान्नु परेको छ... त्यसमाथि छोराछोरी सानै छन् ।  न खानु न सुत्नु ...हरे आइमाईको जिन्दगी !

हाकुमाया: के गर्नु त साहिँली ? विवाह गरेर अर्काको घरमा जाने जात भनेर सानैदेखि त्यस्तै व्यवहार गरिन्छ । अनि विवाह भएपछि भएका यस्ता जस्तासुकै व्यवहारलाई हामीलाई सामान्य झँै लाग्छ ...लाग्नु पर्छ नत्र.... ।

साहिँली: हामी किसान भएपछि दिनरात नभनी काम गर्नु पर्दछ भन्ने कुरामा हाम्रो गुनासो होइन, त्यो त हाम्रो धर्म पनि हो, कर्म पनि हो तर घरपरिवारका सदस्यले त्यसको उचित मूल्याङ्कन नगरेपछि ...यसरी रातबिरात घरबाट भाग्नुपरेपछि.. सधैँ अर्काको घरमा रात बिताउनु परेपछि घर हुनु र नहुुनुमा के फरक ? 

साहिँलीको कुरा सुनेपछि हाकुमायाको मुख झन् निन्याउरो हुन्छ । उनको आँखाबाट बरर्र आँसु झरिरहन्छ । 

पुनेश्वरी: (मुख निन्याउरो पार्दै) तपाईंहरू उस्तै जे पनि सहने ...अनि यस्तै त हुन्छ नि !

साहिँली: (छोरीतिर कर्के आँखा लगाउँदै) तँ चुप लाग् ...घर गृहस्थीको कुरा तँलाई के थाहा ...?

पुनेश्वरी: (अलि उत्तेजित हुँदै) हो, यही तपाईंहरूको सोचले गर्दा पछि हाम्ले पनि यस्तै तपाईंहरूको जस्तो जीवन बाँच्न विवश हुन्छौँ... यसका लागि कहीँ कतै तपाईंहरू पनि जिम्मेवार हुुनुहुन्छ ।

साहिँली: भो भो, जा यहाँबाट समस्या आएपछि सबै सिक्छेस् ...

पुनेश्वरी: हाकुमाया मा ! अब तपाईंले त यस्तो दुःखपूर्ण जीवन बिताउनुपरेको छ तर... (निदाइरहेकी सानी छोरीतिर सङ्केत गर्दै) छोरीलाई चाहिँ पढाउन नबिर्सनु नि !

हाकुमाया र साहिँली: (एकै स्वरमा) पढ्न त हाम्ले पनि कहाँ नखोजेका हौँ र ...

सबै फ्रिज हुन्छन् । व्रmमशः मञ्चमा अँध्यारो हुन्छ । 

मञ्चमा व्रmमशः प्रकाश छरिन्छ । त्यहाँ आकाशे रङको सर्ट र निलो रङको पाइन्ट र फ्रक लगाएका केही विद्यार्थी सुकुलमा बसेर पढ्दै देखिन्छन् तर उनीहरूको आवाज सुनिँदैन । अगाडि गुरुआमा कालोपाटीमा केही लेख्दै हुन्छन् । कक्षाकोठाबाहिर कोही देखिन्छन् । 

सेतीमाया ः  ए हाकुमाया ! (कक्षामा पस्दै) नभन्दै ए यो त यहाँ पो रहेछ, मलाई शङ्का त लागेकै थियो... तँ यहाँ नै आउँछेस् भनेर ...के गर्न लागेकी ? 

शिक्षिका ः के भो र भाउजू ? ..किन हाकुमाया पढ्दै छिन् ?

सेतीमाया ः (रिसाउँदै) यसले दिनभरि यहाँ बसेर पढी भनी खेतको काम... घरको काम...गाईवस्तुको अर्काे झन्झट... म एक्लैले कसरी भ्याउन सक्छु र ?

शिक्षिका; (सम्झाउँदै) काम त हुँदै गर्छ नि भाउजू...छोरीले पढी भने.. अक्षर चिनी भने पछि उनको जीवन ...

सेतीमाया: (बिचमा कुरा काट्दै)..तर के गर्नु खानु त प¥यो नि ! काम पनि गर्नुप¥यो ...पढ्न नै किन प¥यो र ? तपाईंहरूले झैँ पढाएर खानु पर्दैन... खेतमा काम गरेमा मजाले वर्षभरि खान पुगिहाल्छ... त्योभन्दा अरू के चाहियो र ? ...तपाईंले भन्नुभएको कुरा पनि म बुझ्दिनँ र बुझ्नु पनि पर्दैन जस्तो लाग्छ । 

(छोरीतिर हेरेर) यो अझै... ट्वाल्ल परेर यहीँ पो बसिरहेकी रहिछे । लौ हिँड् ...ल हेर यहाँ अरू कोही केटी मान्छे पढ्न आएका छन् ?  ...काम गर्नु पर्दैन ल हिँड्... । 

हाकुमाया: (नमान्दै) अरूसँग मलाई के ..तर म पढ्न चाहन्छु ...मलाई पढ्न मन लाग्छ ...बिहान बेलुका काम गरिहाल्छु नि !

सेतीमाया: ल हेर एक दुई दिन पढ्न गएकी यो त मुखमुखै लाग्न सिकिछे ..लौ हिड् (पाखुरामा समातेर जबरजस्ती लतार्दै लैजान्छिन्)

पुनः मञ्चमा अघिल्लो फ्रिज भएको दृश्य देखिन्छ । उनीहरूमा प्रकाश केन्द्रित 

हुन्छ । 

हाकुमाया: देख्यौँ पढ्न त मैले पनि कहाँ नचाहेकी हुँ र ! ...त्यतिबेला पढाइभन्दा काम ठुलो मान्ने थिति थियो । तिमीहरू पो भाग्यमानी अहिले जन्मियौ.. पढ्न पाएका छौ ।

साहिँली: हो त नि ! बिहान झिसमिसेदेखि अबेर रातसम्म गधाले झैँ नजोतिए न हाम्ले माइतमा खान पायौँ  न घरमा नै ... ।

नेपथ्यमा ढोका ढक्ढक्याएको आवाज व्रmमशः ठुल्ठुलो अवाजमा सुनिन थाल्छ । 

सबै खासखुस कुरा गर्छन् । 

साहिँली ः (छोरीलाई कोट्याउँदै) ए पुनेश्वरी ! झ्यालबाट हेर् त मदन दाइ हो कि जस्तो छ... (स्पष्ट आवाज सुनिन्छ) ए साहिँली ! ..साहिँली !..

साहिँली ः (दबेको आवाजमा) ए हो हो, मदन दाइ नै हो ...(छोरीतिर हेर्दै) बत्ती बन्द गर ...छिटो.. ।

(मञ्च अँध्यारो हुन्छ ।) 

दृश्य ३

मञ्चमा व्रmमशः प्रकाश छरिन्छ । दायाबायाँ मठमन्दिर देखिन्छ । घण्ट बजेको आवाज पनि सुनिन्छ । चोकमा केही केटीहरू घ्वाइँ खेलिरहेका छन् । सबै पालैपालो खेल्दै छन् र हाँस्दै छन् । 

केटी १ ः ल ल, तिमी म¥यौँ ...हातले देखाउँदै लौ हेर यहाँ कुल्च्यौ तिम्ले ..हेर ..अब मेरो पालो ...

अर्काे केटी भुइँको घ्वाइँ लिएर खेल्न थाल्छिन् । सबैको ध्यान उनैतिर जान्छन् । 

अलि ठाँटिएर पूर्णमायाको प्रवेश

पूर्णमाया ः  (अलि दम्भका साथ) ए तिमीहरू यहाँ पो .. मैले तिमीहरूलाई कहाँ कहाँ खोजेँ ? ....म पनि खेल्छु नि !

केटी १ ः अँ एकछिन कुर न ..हामी खेल्दै छौँ ..

पूर्णमाया ः (अलि जोसका साथ फूर्ति लगाउँदै) मलाई साँच्चिकै खेल्न नदिने हो ?

केटी १ ः (अलि डराउँदै) हाम्ले खेल्न नदिने भन्या हो र एकछिन क्या... ।

पूर्णमाया ः (जिद्दीका साथ) होइन, म अहिले नै खेल्छु ... । 

सबै चुप लाग्छन् 

तिमेरूलाई थाहा होला नि मलाई खेल्न दिएन भने के हुन्छ ?

सबै मुखामुख गर्छन् 

केटी २ ः (हाँस्दै) ए भइहाल्छ नि ! फेरि पहिलेदेखि सुरु गरौँ न है  (घ्वाइँ उसको हातमा राख्दै) बेलुका म तिम्रो घरमा टिभी हेर्न आउँछु ...मलाई ढोका खोलिदेऊ है ।

केटी १ ः (अर्काे केटी पनि अगाडि सर्दै) मैले भनेर तिम्ले खेल्न पाएका हौ... म पनि आउँछु है बेलुका तिम्रो घरमा...मलाई पनि ढोका खोलिदेऊ है । 

(पूर्णमाया झन् घमण्डी भाव प्रस्तुत गर्दछिन्) 

केटी ३ ः म पनि आउँछु है ..अस्ति त कति ढोका धक्धक्याएँ ..तिम्ले ढोका नै खोलेनौ ...अस्ति त तिमी मसँग रिसाएका थियौ ..आज त मैले तिम्ले भनेको सबै मान्छु... मलाई ढोका खोलिदेऊ है ! 

सबै जना उसलाई बोकेर झ्याइँकुटी गर्दै नेपथ्यतिर लैजान्छन् ।

दृश्य ४

मञ्चमा व्रmमशः उज्यालो देखिन्छ । अधबैँसे आइमाईहरूको समूह देखिन्छ ।  सबै खेतको काममा व्यस्त देखिन्छन् । कोही डल्ला फोडिरहेका देखिन्छन् भने कोही केही बिउ छरिरहेका झँै देखिन्छन् । एकछिनपछि सबै थाक्छन् । मञ्चको चारैतिर छरिएका बस्छन् । 

आइमाई क ः निकै थाकियो आज त ? कति बज्यो भोक पनि लागेजस्तो भो ! 

आइमाई ख ः (लामो सुस्केरा हाल्दै) के थाकियो भन्ने ? हाम्रो जीवनमा भोक र थकाइको कुरा गरी साध्य छ र ! ....झिसमिसेमा उठेर आयो ...दिनरात खेतमा नै ...दुई गाँस टिप्न पनि भ्याइनभ्याई.. ।

आइमाई ग ः जति काम गरे पनि के गर्नु थैलीमा एक रुपियाँ हुँदैन ?

आइमाई क ः खान त पाइएको छ भन्नु प¥यो ...खाने बेलामा बच्चाहरू आइपुग्छन्.. तिनको खानदिँदा आफ्नो पेटमा अन्न पर्ने त्यही न हो... सधैँ आधा पेट । 

आइमाई ग ः (दिक्क मान्दै) छैन भनौँ भने यत्रो धान्न नसक्ने खेतबारी छ ..तर के गर्नु आफूलाई चाहिएको बेला केही काम छैन ...(ठट्यौलो पारामा) नभएको भन्दा अरूले देख्दा छ त भन्न पाइयो । 

आइमाई क ः छ भन्ने मात्र न हो । न खेत हाम्रो नाममा छ न हाम्ले चाहिएको बेला बेच्न सक्ने हामीसँग अधिकार छ ...  लुगा यही हो जहिले पनि ....थोत्रो र रङ उडिसकेको ..नयाँ लुगा किन्न चाड आउनु पर्छ । 

आइमाई ग ः (कुरामा सहमत हुँदै) खेतबारी सबै पुरुषकै नाममा तर पर्म गरेरै भएर पनि धानी दिनुपर्ने आइमाईले .... ।

आइमाई क ः (व्यङ्ग्य गरेर हाँस्दै) बाँचुन्जेल खान पाए त पुगिहाल्छ नि ! 

आइमाई ग ः कहाँ त्यसो भनेर हुन्छ, प्रौढ शिक्षामा गएर पढ्न थालेपछि मैले अलि अलि बुझ्न थालेको छु । हाम्ले पनि आझ्ना लागि बोल्नु पर्छ, सधैँ चुप लागेर 

बस्नु हुँदैन । ...हामी पनि उस्तै... छोरालाई खेतै बेचेर पढाउने कुरा ग¥यो भने हामी खुसी हुने तर छोरीलाई पढाउन प¥यो भने पछि हट्ने ....अब विरोध गर्नु पर्छ ।

आइमाई ग ः हाम्रो त जीवन यस्तैमा बित्न लाग्यो तर अब आउने पिँढीका लागि भए पनि आवाज उठाउनु पर्छ ।

आइमाई कः (निराश भावमा) हाम्रो जीवन त दासको झैँ लाग्छ मलाई, नदेखिने सिव्रmीले बाँधिएको ...! ...ल, यस्तै हो, जिन्दगीका कुरा जति गरे पनि नसकिने ..लौ लौ उठौँ, बेलैमा काम सक्नु पर्छ ।

सबै उठेर पुनः काममा व्यस्त हुन्छन् ।

दृश्य ५

मञ्च अन्धकार छ । नेपथ्यबाट अस्पष्ट ध्वनिहरू व्रmमशः नजिकिन्छन् । जँड्याहाको लरबरिएको स्वर सुनिन थाल्छ । मञ्चमा व्रmमशः प्रकाश छरिन्छ । स्पोट लाइट केवल मञ्चको बिच भागमा मात्रै केन्द्रित हुन्छ । एउटी अधबैँसे आइमाई भान्साघरमा खाना पकाउँदै देखिन्छिन् । ससाना केटाकेटीहरू वरिपरि बसेर कुरा गर्दै छन् । उनीहरूको सबैको ध्यान नेपथ्यबाट आएको आवाजमा पुग्छ । आवाज सुनेपछि सबै चुप 

लाग्छन् । उनीहरूको अनुहारमा व्रmमशः भयको भाव सञ्चार हुन्छ र सबै डराएर आमालाई अँगालो हाल्छन् । 

हाकुमाया ः (सबैलाई अँगालो मार्दै) तिमेरु, किन डराएका ? म छैदै छु नि !

जेठो छोरो ः किन र मा ? तपाईंले बाबा कराउँदै आउनुभएको सुन्नुभएको छैन । 

माहिलो छोरो ः (डराउँदै) मलाई त असाध्यै डर लाग्छ । उहाँले तपाईंलाई पिट्नुहुन्छ ।

कान्छी छोरी :  (तोते बोलीमा) आज... आज पनि... हाम्ले खाना नखाने ....नखाने ...अनि आज पनि... हामी मकैबारीमा लुक्ने !

छोराछोरीका कुरा सुनेर हाकुमायाका आँखाबाट बर्रर आँसु झर्छन् । उनी मनलाई बलियो बनाएर आँसु पुछ्छिन् । 

हाकुमाया :  (छोरीको टाउको सुम्सुम्याउँदै) आज हामी कहीँ नजाने । तात्तातो भात खाने र आफ्नै घरमा सुत्ने !

सबै छोराछोरी :  (आश्चर्यसहित) आफ्नै घरमा सुत्ने... अनि बाबा... ।

नेपथ्यमा ढोका जोडसित हानेको आवाज सुनिन्छ । त्यससँगै जँड्याहाको लरबरिएको अस्पष्ट आवाज पनि सुनिन्छ । 

छोराछोरी सबै आमा हाकुमायालाई अँगालो हाल्छन् । आमा सबैलाई अँगाल्छिन् । 

हाकुमायाको आँखामा दृढताको भाव प्रबल देखिन्छ । एकैछिनपछि नेपथ्यमा ढोकालाई हानेको आवाज व्रmमशः सुनिन छोड्छ । बिस्तारै मञ्चमा अन्धकार छाउँछ ।