• २१ कात्तिक २०८२, शुक्रबार

धान उत्पादनमा वृद्धि

blog

चितवन,  कात्तिक २१ गते ।  जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २१ हजार ४८० ‘मेट्रिकटन’ बढी धान उत्पादन भएको हो ।

कृषि बिकास कार्यालय चितवनका अधिकृत निर्मल पौडेलका अनुसार यस वर्ष २७ हजार ३२४ दशमलव ९ ‘हेक्टर’ क्षेत्रफलमा धान लगाइएको थियो । यस वर्ष धान उत्पादकत्व ४ दशमलव ९६७ मेट्रिकटन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । एक लाख ३५ हजार ७२५ दशमलव ६ मेट्रिकटन धान उत्पादन भएको छ । बेमौसमी वर्षाले ३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको थियो । जसबाट १४९ दशमलव १ मेट्रिकटन धानमा क्षति भएको उहाँले बताउनुभयो ।

गत वर्ष जिल्लामा एक लाख १४ हजार २४४ दशमलव २ मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा हर्दिनाथ ६, गोरखनाथ, मुकाबाला, सावित्री, रामधान, गङ्गोत्री जस्ता धान लगाइएको थियो । समयमा पानी र रोग किराको प्रकोप कम हुँदा यस वर्ष धान उत्पादन बढेको उहाँले बताउनुभयो । रासस