• १० माघ २०८१, बिहिबार

म्यान्मारकी नेत्री आङसान सुकीलाई थप पाँच वर्ष जेल सजाय

blog

याङ्गुन, वैशाख १४ गते । म्यानमारको जुन्ता अदालतले बुधबार आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । यहाँको जुन्ता सरकारले अपदस्थ नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने सङ्केत देखाएको छ ।

पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाइएको  थियो । दुई दिनपछि सेनाद्वारा निर्मित राजधानी नेपिदको विशेष अदालतले बुधबार बिहान ९ः३० बजे फैसला र सजाय सुनाएको हो । सुकीका वकिलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो ।

सैन्य शासनको अधिनमा रहेको म्यान्मारको विशेष अदाललत गोप्य सुनुवाइपछि नेत्री सुकीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।सन् २०२१ को फेब्रुअरीमा भएको सैन्य ‘कू’ मा आफ्नो नेतृत्वको सरकार अपदस्थ भएयता सुकीलाई सैन्य हिरासतमा राखिएको छ ।

सैन्य शासकले ७६ वर्षीया नोबेल पुरस्कार विजेता नेत्रीलाई थुप्रै फौजदारी अभियोगहरू लगाएको छ । उहाँले सबै आरोपहरु अस्वीकार गर्नुभएको छ भने मानवअधिकारकर्मीहरुले पनि अदालतको सुनुवाइ निष्पक्ष नरहेको बताउँदै आएका छन् ।

उहाँलाई पाँच वर्षको थप जेल सजाय तोकिएपछि जेल बस्नुपर्ने कुल समय ११ वर्ष पुगेको जनाइएको छ । गत डिसेम्बरमा उहाँलाई कोभिडसम्बन्धी स्वास्थ्यका नियम तोडेको र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।