• १२ साउन २०८१, शनिबार

समयमा नै किसानलाई मल उपलब्ध गराउन रास्वपाको माग

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार

काठमाडौँ, जेठ ३१ गते । किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो माग गर्नुभएको हो ।

उहाँले सरकार मलको अभाव छैन भन्ने तर किसानले १० किलोभन्दा बढी मल नपाउने अवस्था रहेको बताउनुभयो । उहाँले भक्तपुरका कृषि उब्जनी हुने मध्यपुर ठिमी  र बोडेलगायतका किसानहरुले १० किलोभन्दा बढी मल नपाएको बताउनुभयो ।

सांसद परियारले मल अभाव छैन भने पनि बजारमा मल नपाएको भन्दै सरकारले तत्काल मल समयमा किसानलाई उपलब्ध गराउन माग गर्नुभयो । उहाँले किसानहरुले कालोबजारीमार्फत मल किन्दा जति पनि पाइने अवस्था रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरकार मलको अभाव छैन भन्छ । तर भक्तपुरका किसानहरु १० किलोभन्दा मल पाउँदैनन् । भक्तपुरको नयाँ ठिमी, बोडे कृषि उब्जनी हुने क्षेत्र छ । तर सरकार मल अभाव छैन भन्छ अर्कोतिर मल पाइँदैन । कालोबजारी गरेर मल दिने जति पनि भेटिन्छन् । यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । कृषि उत्पादन बढाउनको लागि मलको व्यवस्था गरोस् ।’’

उहाँले कृषि उत्पादन बढाउनका लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।