• १२ साउन २०८१, शनिबार

दिगो कृषि उत्पादनका लागि कृषक पाठशाला सञ्चालन

blog

कृषक पाठशालामा सिक्दै कृषक समूह ।

प्रनिश गिरी

कुश्मापर्वत, जेठ ३० गते । पर्वतको विहादी गाउँपालिकाका केही वडामा दिगो कृषि उत्पादनका लागि कृषक पाठशाला सञ्चालन गरिएको छ । विहादी गाउँपालिकाका अनुसार आम्दानीको प्रमुख स्रोत मानिने कृषि क्षेत्रमा कार्यरत कृषकलाई व्यावसायिक बनाउन २, ४ र ६ गरी तीन वटा वडामा कृषक पाठशाला सञ्चालन गरिएको हो । 

कृषक पाठशाला कार्यक्रममा कृषकलाई एकीकृत शत्रुजित व्यवस्थापन(आइपिएम)बारे जानकारी दिइएको छ । कार्यक्रमको प्रमुख उद्देश्य भनेको जैविक विविधतालाई संरक्षण र दिगो कृषि उत्पादनमा जोड दिने रहेको पालिकाका कृषि शाखा प्रमुख सन्तोष सुवेदीको भनाइ छ । प्रमुख सुवेदीका अनुसार भइरहेको कृषि उत्पादन भन्दा कम्तीमा पनि १.५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य कृषक पाठशाला कार्यक्रमको छ । पाठशालाबाट कृषकहरूले प्राङगारिक कृषि उपज उत्पादन गर्ने र रासायनिक विषादीको प्रयोग घटाउने विधि आत्मसात् गर्नेछन् ।

पालिकाको कृषि उत्पादन बढी हुने कृषि योग्य क्षेत्र वडा २ मा बर्राचौर, वडा ४ उहाँकी, वडा ६ शालिग्रामका कृषकहरूलाई फिल्डमै गएर सामूहिक रूपमा पाठशालाको सञ्चालन गरिएको सहजकर्ता ऋषिराम भुसालले बताउनुभयो । सहजकर्ता भुसालका अनुसार कृषकहरू २५ देखि ३० जनाको समूहमा जुटेर कृषि उत्पादनसँगै व्यवहारिक रूपमा नै १६ हप्तासम्म पाठशालामा सहभागी भएका छन् । उत्पादनका हिसाबले जुन कृषिबाली बढी हुन्छ सोही अनुसार कृषक पाठशाला सञ्चालन गरिएको बताइएको छ । 

बर्राचौरका कृषकहरूले खायन आलु उत्पादनका लागि कृषक पाठशाला कार्यक्रममा भाग लिइरहेका छन् भने कृषकहरूले करेला खेती र शालिग्रामका कृषकहरू लहरेतरकारी बालीमा कृषक पाठशाला कार्यक्रममा सक्रिय छन् । 

कृषक पाठशाला सञ्चालन कार्यक्रमबाट प्रत्यक्ष अप्रत्यक्ष गरी कम्तीमा पनि २ सय कृषक लाभान्वित भएको पालिकाको कृषि शाखाले उल्लेख गरेको छ । वडा २ का कृषक तिलक पराजुलीले कृषक पाठशालाले कृषिबारे धेरै कुरा सिक्ने मौका मिलेको बताउँदै भन्नुभयो, “कृषि बालीमा लाग्ने रोग र किरा रोगको पहिचान साथै रोग र किराको उपचार गर्ने विभिन्न विधिहहरु जस्तै भौतिक विधि, जैविक विधि, यान्त्रिक विधि, रासायनिक विधि सिक्न पाइयो । बिउँ उमार्नेदेखि बाली कटानीसम्मका आधुनिक कृषि प्रणालीबारे जानकार हुन पाउँदा उत्साही भएका छौँ ।” 

वडा ६ मा कृषि कर्म गर्दै आउनुभएकी कृषक वर्ष २७ उमा न्यौपानेले कृषक पाठशाला कार्यक्रमबाट कृषि क्षेत्रमै केही गर्न सकिन्छ भन्ने विश्वास बढेको बताउँदै भन्नुहुन्छ, “मैले केही रोपनी जग्गामा करेला तरकारी खेती गरेकी छु । यो कार्यक्रमपछि भने अझै बढी क्षेत्रफलमा कृषि खेती गरी व्यावसायिक बन्ने निश्चय गरे । कृषिबारे प्राप्त ज्ञानले कृषि क्षेत्रमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलाएको छ ।”

पालिकाले आयोजना गरेको ४ लाख ५० हजार बजेटको आइपिएम वार्षिक कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र पर्वत र बाली संरक्षण प्रयोगशाला गण्डकी प्रदेशको आर्थिक सहयोग छ ।