• १३ साउन २०८१, आइतबार

दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सांसद परियारको ध्यानाकर्षण

blog

नेपाली कांग्रेसका सांसद जीवन परियार

काठमाडौँ, जेठ ३० गते । नेपाली कांग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिए अनुरुप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद परियारले संविधानको धारा ४० ले दलित समुदायलाई विभिन्न हक, अधिकार दिएको भए पनि त्यसको कार्यान्वयन गर्नमा सरकारले ध्यान नदिएको बताउनुभएको हो ।

उहाँले दलित समुदायको हक, अधिकार सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले दलित समुदाय ४५ लाखको हाराहारीमा रहेका र त्यसमध्ये ९० प्रतिशत दलित गरिबीको रेखामुनि रहेका भन्दै उनीहरुको पक्षमा सरकारले कुनै कार्यक्रम ल्याउन नसकेको बताउनुभयो ।

‘‘संविधानका धारा ४० न सरकारका मन्त्रीहरुले पढ्नुहुन्छ । न सरकारमा एकजना दलित मन्त्री छ । म धारा ४० मन्त्रीज्यूहरुलाई, सचिवज्यूहरुलाई एकपटक पढेर हेरिदिनुस् । दलितहरुका हक, अधिकारका बारेमा शिक्षा, रोजगारी, आवास, जग्गा, छात्रवृत्ति, स्वास्थ्य सेवालगायतका धेरै अधिकार त्यहाँ उल्लेख गरेका छन् । त्यसको कार्यान्वयन गर्ने कुरामा सरकार अहिलेसम्म ध्यान, दृष्टि जान थालेको छैन ।,’’ सांसद परियारले भन्नुभयो, ‘‘म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु, दलित समुदाय सन् २०२१ को जनगणना अनुसार १३.८ प्रतिशत छन् । ४५ लाखको हाराहारीमा छन् । त्यसमध्ये ९० प्रतिशत दलितहरु गरिबीको रेखामुनि छन् । गरिबीको रेखामुनि रहेका दलितहरुको पक्षमा यो सरकारले कुनै कार्यक्रम ल्याउन सकिरहेको छैन । पुनर्स्थापित प्रतिनिधि सभाले जेठ २१ गते छुवाछूतमुक्त राष्ट्र घोषणा गर्‍याे । तर त्यसको कार्यान्वयन भएको छैन । त्यसतर्फ सरकारको गम्भीरतापूर्वक ध्यान जाओस् ।’’

उहाँले छुवाछूतमुक्त राष्ट्र घोषणा भए पनि कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।