• १२ साउन २०८१, शनिबार

लट्ठा चुँडिँदा विद्यार्थीले पढ्न पाएनन्

blog

रमेशबहादुर रावत

अछाम, जेठ २९ गते । कर्णाली नदीको झोलुङ्गे पुलको लट्ठा चुँडिँदा आवतजावत बन्द भएपछि कर्णलीपारिका ९५ जना विद्यार्र्थी विद्यालय जानबाट वञ्चित भएका छन् । आइतबार बिहान भारी बोकेका खच्चड पार गर्ने क्रममा चुँडिएको पुललाई स्थानीय प्रशासनले आवतजावतमा रोक लगाउँदा विद्यार्थीको अध्ययनमा असर परेको हो । 

अछामको पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडामा रहेको चण्डिका माध्यमिक विद्यालयमा विभिन्न कक्षामा पढ्ने दैलेखको आठबिस नगरपालिकाका विद्यार्थीले विद्यालय जान नपाएका हुन् । उक्त विद्यालयमा आठबिस नगरपालिकाको वडा नम्बर ४, ५ र ६ का ९५ जनाभन्दा बढी विद्यार्थी पढ्ने गरेका छन्  । 

“पुलको एकातर्फको लट्ठा चुँडिँदा थप जोखिम भएको भन्दै स्थानीय प्रशासनले आवतजावतमा रोक लगाएको हो । पुलमा मान्छे हिँड्न सक्ने अवस्था छैन । पूरै पुल कोल्टे परेको छ,” पञ्चदेवल विनायक नगरपालिकाका रामप्रसाद जैसीले भन्नुभयो ।

पुलमा आवतजावत बन्द हुँदा चण्डिका माविमा पढ्ने विद्यार्थीको पढाइ भने प्रभावित बनेको छ । जम्मा ३३५ जना विद्यार्थी भएको उक्त विद्यालयमा ९५ भन्दा बढी विद्यार्थी कर्णालीपारिका छन् । उनीहरूलाई आइतबार बेलुका विद्यालयबाट घर फर्काउँदा जोखिमपूर्ण तरिकाले डुङ्गामा राखेर फर्काइएको थियो । सोमबार भने कर्णालीपारिबाट एक जना पनि विद्यार्थी विद्यालयमा आउन नसकेको विद्यालयका प्रधानाध्यापक नयाँराम जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार दैलेखका विद्यार्थी र अभिभावकले पुलको मर्मत नहुन्जेलसम्म विद्यालय बिदा गर्नुपर्ने माग राखेका छन् । 

कक्षा १० मा अध्ययनरत विद्यार्थी एलिजा खातुनले विद्यालयमा आफूले नियमित पठनपाठन गर्न सक्ने वातावरणका लागि पुलको मर्मतमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । विद्यालयका अभिभावक सौकत अलीले विद्यार्थीको भविष्यसँग जोडिएको विषयलाई सरकारले गम्भीरसाथ लिनुपर्ने बताउनुभयो । 

विद्यालय प्रशासनले विद्यालय व्यवस्थापन समितिको बैठक राखेर १५ दिन बिदा दिने तयारी गरेको छ । प्रधानाध्यापक जैसीका अनुसार नगरपालिकासँग अनुमति लिएर विद्यालयलाई १५ दिन बिदा दिने र अहिलेको समयलाई बर्खेबिदामा मिलान गर्ने योजना छ ।