धर्बेन्द्र झा
धनुषा, जेठ २८ गते । जनता समाजवादी पार्टी नेपालको एकताको राष्ट्रिय महाधिबेशन सोमबारदेखि जनकपुरधाममा सुरु भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रमविच महाधिबेशनको उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उदघाटनसत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै पूर्व प्रधानमन्त्री एवम नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधानले दिशानिर्देश गरेबमोजिम देशमा समाजवाद ल्याउन सबै राजनीतिकदल एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका उपसभापति धनराज गुृरुङ्गले एउटा पार्टीको नेताले अर्को पार्टीका नेतालाई शत्रु ठान्नु गलत भएको बताउनुभयो । उहाँले गरिवी, रोग, भोक, अशिक्षाजस्ता साझाशत्रुको पहिचानगरी यसविरुद्ध लडनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले संघीयताको स्थापनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको भूमिका महत्वपुर्ण रहेको भन्दै नेपालमा समान्तवादलाई आफूहरुले तोडेको बताउनुभयो ।
लोसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनलले अधिकार प्राप्तीको आन्दोलनमा मधेशको भूमिका महत्वपुर्ण भए पनि अधिकार प्राप्तीको सवालमा पछाडि पारिएको आरोप लगाउनुभयो ।
राष्ट्रिय स्वतन्त्रपार्टीका प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेले संविधानमा देखिएका त्रुटिलाई संशोधन गर्नुका साथै वर्षौदेखि पछाडि पारिएका मधेशलाई राज्यले फरक दृष्टिकोणले हेर्नु पर्ने बताउनुभयो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शोषण उत्पिडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाउन जनता समाजवादी पार्टीले जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताउनुभयो ।
उद्घाटनसत्रमा नेपाल र भारतका विभिन्न राजनीतिकदलका प्रतिनिधिहरुले महाधिबेशन सफलताको शुभकामना दिनुभएको थियो । तीन दिनसम्म चल्ने उक्त महाधिबेशनमा १३ सय पार्टी प्रतिनिधिको सहभागिता रहेको छ । मंगलबार विहान ८ वजेबाट बन्दसत्र सञ्चालन गरिने तयारी रहेको जसपा नेपालका मनिष सुमनले जानकारी दिनुभयो ।