• ९ मंसिर २०८१, आइतबार

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

blog

फाइल तस्बिर

मोरङ, जेठ २८ गते । कोशी प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी आज सम्पन्न भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्तरुपमा विराटनगरमा आयोजित गोष्ठीमा शान्ति सुरक्षा, सामाजिक सद्भाव र सूचना व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउनेलगायत विषयमा छलफल भएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले गोष्ठीका निष्कर्षलाई कार्यान्वयन, प्रभावकारी सूचना व्यवस्थापन, गैरकानुनी कार्य र सामाजिक सद्भाव बिथोल्ने गतिविधिलाई समयमै कानुनको दायरामा ल्याउन सबै सुरक्षा निकाय र सरोकार भएकाहरू थप क्रियाशील हुने निर्णय गरिएको सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो । गोष्ठीले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन र परिचयपत्र वितरणलाई थप प्रभावकारी बनाउने, निजी हतियारको प्रयोग व्यवस्थित गर्ने, सुरक्षा व्यवस्था र सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धिमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने जोड दिएको पनि उहाँले बताउनुभयो । 

यसैगरी गोष्ठीले अपराध र लागुऔषध नियन्त्रण तथा विपद् व्यवस्थापनका काम थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । गोष्ठी समापनका अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री  हिक्मतकुमार कार्की शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाहका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न गोष्ठीबाट उत्साह थपिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिकले परिवर्तनको अनुभूति गर्ने किसिमका काम गर्नुपर्ने र यस्ता काममा खटिने सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “जनताको आशा र भरोसा जगाउन सबैले आ-आफ्नो ठाउँबाट इमान्दार प्रयत्न गर्नु पर्छ ।” 

शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रदेश सरकारले प्रहरी परिचालन गर्ने अधिकार दिइनुपर्ने उहाँको भनाइ छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, नेपाली सेनाका अधिकृत, १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला तहका प्रहरी प्रमुख, गृह मन्त्रालयका अधिकृतहरू, प्रदेशको आन्तरिक मामिला मन्त्रालयका अधिकृतहरूको गोष्ठीमा सहभागिता रहेको थियो । रासस