• १२ साउन २०८१, शनिबार

श्रमाधान रोजगार मेला : पहिलो दिन दुई हजार दुई सय ५० को आवेदन

blog

अत्तरिया (कैलाली), जेठ २८ गते । कैलालीको धनगढीमा आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’मा पहिलो दिन दुई हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको रोजगार मेलामा आइतबार रोजगारीका लागि दुई हजार दुई सय ५० जनाले आवेदन दिएका हुन् । रोजगार मेलामा रोजगारीका लागि विभिन्न पदमा एक हजार दुई सय ५० जनाले अनलाइनमार्फत र एक हजार जनाले प्रत्यक्ष उपस्थित भएर आवेदन दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहराले जानकारी दिनुभयो । 

उहाँका अनुसार रोजगार मेलामा विभिन्न रोजगारदाताका २८ र सरकारी सेवा प्रवाहसम्बन्धी जानकारी दिने १० सरकारी कक्ष गरी ३८ कक्ष रहेका छन् । दुई दिने श्रमाधान रोजगार मेलामा रोजगारदाताबाट रोजगारीका लागि दुई हजार छ सय ३४ आवेदन माग गरिएको उहाँले जानकारी दिनुभयो । पहिलो दिन प्रदेशका नौवटै जिल्लाका पाँच हजार जनाले मेलाको अवलोकन गरेको उहाँले जानकारी दिनुभयो ।

आन्तरिक तथा वैदेशिक रोजगारसम्बन्धी परामर्शका साथै सार्वजनिक सेवा, जागिर पाउन सिक्नुपर्ने सीप, कुन विषय पढ्दा भविष्यमा चाँडो जागिर पाउन सकिन्छ लगायत विषयमा परामर्श हुने भएकाले मेला महत्त्वपूर्ण भएको उहाँले बताउनुभयो । आवेदन परेकाहरूलाई रोजगारदाताले सीप परीक्षणलगायत प्रक्रिया पूरा गरेर रोजगारी प्रदान गर्ने उहाँको भनाइ छ । मेलाको आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभएको थियो । श्रमाधान रोजगार मेला आज समापन हुने आयोजकले जनाएको छ । रासस