• १२ साउन २०८१, शनिबार

परम्परा संरक्षण गर्न कृषि औजारको पूजा

blog

हलो, जुवा, कोदालोलगायत कृषि औजारको पूजा गर्दै भादाका किसान ।

धनगढी समाचारदाता

धनगढी, जेठ २८ गते । खेतीपाती सुरु गर्नुअगाडि कृषि औजारको पूजा गर्ने थारू समुदायको परम्परागत चलन संरक्षणका लागि कैलालीको एक गाउँका किसान लागेका छन् । 

धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे गाउँ भादाका किसान परम्परागत कृषि औजारको पूजा गर्ने परम्परागत चलन संरक्षणमा जुर्मुराएका हुन् । उनीहरूले खेतीपातीको काम सुरु गर्नुअगाडि कृषि औजारको पूजाआजा गरेका छन् । विगतमा हलो, जुवा, कोदालो, किल्वाही, हेङ्गालगायतका परम्परागत कृषि औजारको पूजा गरेर मात्रै बर्खे धान खेतीको काम सुरु गर्नुपर्ने यो समुदायमा मान्यता थियोे तर अचेल त्यो चलन हराउँदै गएको छ । 

थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरी कृषि औजारको पूजा गरेर मात्रै खेतीपातीको काम सुरु गर्ने चलन थारू समुदायबाट हराउँदै गएको बताउनुहुन्छ । पुर्खाको बेलामा चलनचल्तीमा रहेको चलन संरक्षणका लागि आफ्नो गाउँका किसानले विगत तीन वर्षदेखि ‘हरोठ लेना’ कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । हलो, जुवा, कोदालो, किल्वाही, हेङ्गालगायतका कृषि औजारको पूजा गर्नुलाई थारू समुदायमा हरोठ लेना भन्ने गरिन्छ । 

उक्त समुदायका व्यक्तिका अनुसार कृषि औजारको पूजाआजा गरेर खेतीपातीको काम सुरु गर्दा औजारकै कारण कुनै बाधा अवरोध हुँदैन । कोदालोले खुट्टा नकाटोस्, हलो, जुवा नबिग्रियोस्, कृषिको सबै काम सप्रियोस् भनेर यो पूजा गर्ने गरेको बताइएको छ । 

हरोठ लिने बेला सजना गीत गाएमा पानीसमेत पर्ने जनविश्वास थारू समुदायमा रहेको अध्यक्ष चौधरीले बताउनुभयो । विगतमा खेतीपाती सुरु गर्नुअगाडि हरेक गाउँका प्रत्येक किसानले हरोठ लेना गर्नु पर्दथ्यो । त्यो चलन अब लगभग लोपको सँघारमा पुगेको कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवती चौधरीले बताउनुभयो । उहाँले कलुवा खैना, मुठलेना, हरोठ लेना, गइया बेहर्ना, हरेरी पूजा, औली उटर्ना, खेन्हुवा बहन्ना, लवाङ्गी पूजा, पेन्डियालगायतका थारू समुदायको कृषिसँग सम्बन्धित परम्परागत पूजा हराउँदै गइरहेको बताउनुभयो । 

उपाध्यक्ष चौधरीले भन्नुभयो, “यस्ता परम्परागत पूजा लोप हुँदै गइरहेकाले अहिलेको पुस्ताले पुर्खाबाट यसका बारेमा सिक्न र त्यसलाई व्यवहारमा उतार्न जरुरी छ ।” पुर्खाले अपनाएको रीति, संस्कार, परम्परालाई पुस्तान्तरण गर्न जरुरी रहेको धनगढी उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामलाल चौधरीको जोड छ । यस्ता मौलिक संस्कृति, संस्कार अहिलेको पुस्ताले नसिकेमा त्यो इतिहासको पानामा सीमित हुने उहाँको भनाइ छ ।