• १२ साउन २०८१, शनिबार

विश्वकपमा भारत र पाकिस्तानको प्रतिस्पर्धा : ‘हेड टु हेड’मा भारत बलियो

blog

भारतका कप्तान रोहित शर्मा र पाकिस्तानका कप्तान बाबर आजम । फाइल तस्बिर

काठमाडौँ, जेठ २७ गते। आईसिसी टी-२० विश्वकपको समूह ‘ए’ अन्तर्गत आइतबार राति चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। 

अमेरिकाको न्युर्योकमा हुने यो प्रतिस्पर्धालाई विश्वकपको एक महत्तवपूर्ण खेलको रुपमा विश्वभरका क्रिकेट समर्थकले हर्नेछन्। यो खेल नेपाली समय अनुसार आइतबार राति ८ बजेर १५ मिनेटमा सुरु हुनेछ। 

भारत  र पाकिस्तानको राजनीतिक द्वन्द्वसँगै क्रिकेटलाई जोडेर हेर्ने भएकाले यो प्रतिस्पर्धालाई भिडन्तका रुपमा चर्चा गर्ने धेरै छन्। अमेरिका र वेस्ट इन्डिजमा जारी यो विश्वकपको समूह ‘ए’मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा र आयरल्यान्ड छन्। 



भारत र पाकिस्तान दुवै टिमले जारी विश्वकपमा दोस्रो खेल खेल्न लागेका हुन्। भारत पहिलो खेलमा आयरल्यान्डमाथि ८ विकेटको जित निकाल्दै उच्च मनोबलका साथ मैदानमा हुनेछ। पाकिस्तान भने आयोजक अमेरिकासँग सुपर ओभरमा पहिलो खेलमा पराजित भएकाले भारतसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ। 

यो समूहमा दुई खेल खेलेको अमेरिका चार अंकसहित शीर्ष स्थानमा छ। एक खेल खेलेको भारत दोस्रो स्थानमा छ भने दुई खेल खेलेको क्यानडा एक जितसहित तेस्रो स्थानमा छ। पाकिस्तान र आयरल्यान्डले खाता खोल्न सकेका छैननन्। 

क्रिकेटमा भारत र पाकिस्तानको चर्चा 

भारत र पाकिस्तान टी-२० विश्वकपका पूर्व विजेता टिम हुन्। दुवै देशले एक एक-पटक टी-२० विश्वकपको उपाधि उचालेका छन्। भारतले सन् २००७ मा टी-२० विश्वकपको पहिलो संस्करणको उपाधि फाइनलमा पाकिस्तानलाई पराजित गर्दै उचालेको थियो। सन् २००९ मा पाकिस्तानले श्रीलंकालाई फाइनलमा पराजित गर्दै एक पटक उपाधि चुमेको छ। 

टी-२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानका केही समानतासमेत छन्।  टी-२० विशवकपमा दुवै टिम पहिलो संस्करणदेखि अहिलेसम्म सहभागी हुँदै आएका छन्। दुवै देशका लागि विश्वकपको यो नवौँ सहभागिता हो। 



टी-२० विश्वकपमा ४८ खेल खेलेको पाकिस्तानले २८ मा जित हात पार्दा १८ खेल गुमाएको छ भने दुई खेल बराबरी गरेको छ। भारतले खेलेका ४५ खेलमध्ये २८ मा जित निकाल्दा १५ खेल गुमाएको छ।  एक खेलमा बराबरी गरेको भारतको एक खेल नतिजाविहीन बनेको थियो। 

विश्व क्रिकेटमा भारत र पाकिस्तानको चर्चा समान ढंगले भए पनि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वरीयता सूचीमा भने पाकिस्तान भन्दा भारत अगाडि छ। भारत आईसीसीको वरीयतामा पहिलो नम्बरमा हुँदा पाकिस्तान छैटौं स्थानमा छ। 

टी-२० अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भारत र पाकिस्तानले १२ खेल खलेका छन्। जसमा भारतले नौ खेलमा जित निकाल्दा पाकिस्तानले तीन खेलमा मात्र विजय प्राप्त गरेको छ। 



टी-२० विश्वकपमा भने भारत र पाकिस्तानबिच सात वटा खेलमा भेट भएको छ।  आइतबार राति हुने खेल यी दुई देशको आठौं प्रतिस्पर्धा हो। विश्वकपमा पाकिस्तानविरुद्ध भारत पाँच खेलमा विजयी भएको छ। पाकिस्तानले भने विश्वकपमा भारतविरुद्ध एउटा खेल मात्र जितेको छ। विश्वकपमा यी दुई देशबिचको एक खेल भने बराबरीमा सकिएको छ।