• १३ पुस २०८१, शनिबार

स्मृतिमा भीष्मपितामह

blog

कवि तथा लेखक पण्डित दीपनारायण मिश्र हामीमाझ हुनुहुन्न । उहाँले यो धर्ती छाडेको चार वर्ष बितिसकेको छ । भौतिक रूपमा उहाँ हामीमाझ हुनुहुन्न तर उहाँ आफ्नो साहित्यिक कर्म र धर्मले गर्दा उहाँ हिजो, आज र भोलि पनि जीवित रहनुहुने छ । पं. मिश्र हिजो अर्थात् बितेका दिनमा पनि आजको झैँ आदरणीय पात्र हुनुहुन्थ्यो, पूजनीय हुनुहुन्थ्यो । उहाँले जीवितावस्थामै नेपालको मात्र होइन, भारतको पनि भोजपुरी साहित्यिक समाजद्वारा आदर सम्मान पाउनुभएको थियो । पं. मिश्रलाई नेपालको समग्र भोजपुरी जगत्ले भीष्मपितामहका रूपमा मान्ने गर्छन् । उहाँलाई यो पदवी सरकारले दिएको होइन, भोजपुरी भाषाभाषी, साहित्यकार तथा साहित्यानुरागीहरूले आदरका साथ दिएका हुन् । राज्यले उहाँलाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार’, ‘मायादेवी प्रज्ञा पुरस्कार’ बाट सम्मानित नगरेको पनि होइन तर उहाँले वास्तविक सम्मान वीरगन्ज नगरपालिका, वीरगन्ज उद्योग वाणिज्य सङ्घका साथै त्यहाँका साहित्यिक सङ्घ संस्थाद्वारा ‘नागरिक अभिनन्दन’ हुनेबेला पाउनुभएको हो । पण्डितजी जीवनभरि शिक्षा र साहित्य सेवामा लागिरहनुभयो । यहाँहरूको मनमा प्रश्न उठ्न सक्छ, उठ्नु स्वाभाविक पनि हो– आखिर उहाँले त्यस्तो के गर्नुभएको छ ? उहाँलाई नेपालको मात्र होइन, भारतको पनि भोजपुरी साहित्यजगतले उहाँ उच्च कदर गर्दछ, सम्मानपूर्वक भीष्मपितामह भन्ने गरिन्छ । कुनै कुनै बेला नेपालका अलिक बढ्ता आलोचनाचेत (नकारात्मकताले भरिएको भन्नु पर्दछ) भएका समीक्षकहरूले ‘पं. दीपनारायपण मिश्रका साहित्यिक रचनालाई गद्य पद्यको मूल्याङ्‍कनको कसीमा कस्ने हो भने उहाँको लेखन निकै प्रभावहीन देखिन पुग्छ’ भन्ने गरेको सुनेको हुँ । हुन सक्छ, आलोचकहरूको भनाइमा सत्यता होस् तर म के भन्न चाहन्छु भने पं. दीपनारायण मिश्रले भोजपुरी भाषा र साहित्यको संरक्षण तथा विकासका लागि जे जे गर्नुभयो र जुन समयमा गर्नुभयो तथा जति समयसम्म गर्नुभयो... त्यसको मूल्याङ‍्‍कन गर्ने हो भने उहाँको कुमसम्म पुग्ने अरू कोही देखिँदैनन् । पण्डितजीले के गर्नु भएन ? नेपालमा भोजपुरी भाषा र साहित्यको विकासको लागि जुन बेला जे आवश्यक देख्‍नुभयो, त्यो गर्नुभयो ।

उहाँसँग मैले कहिले अन्तर्वार्ता लिएको छु, कहिले उहाँले वीरगन्जमा भोजपुरी कवि सम्मेलनको आयोजनाका व्रmममा सघाएको छु, यत्ति मात्र होइन, कहिले उहाँको रेशमकोठीमा रहेको घरमा भेटेको छु । उहाँसँगको मेरो चिनजान २०४४ सालदेखि थियो र त्यो भौतिकरूपको चिनारी उहाँको निधन (२०७६ वैशाख २६) सम्म रह्यो । यद्यपि उहाँसँगको साहित्यिक, सामाजिक चिनारी त म नमरुन्जेल रहनेमा कुनै द्विविधा छैन, कुनै संशय छैन । उहाँसँग कुरा हुँदा सामाजिक र राजनीतिक परिवर्तनको कुरा पनि हुन्थ्यो, साहित्यिक कुराकानीको अतिरिक्त । मैले उहाँको चिन्तालाई अझै बिर्सेको छैन । एक पटक म र गोपाल दादा, उहाँसँग भेट्न गएका थियौँ । त्यो बेला उहाँ मधुमेह र हृदय रोगको सिकार भइसक्नुभएको थियो । गोपाल (अश्क) दादा पनि हर्ट एट्याक्ट भएर नियमित एनजिओ प्लास्ट गराईकन नियमित औषधी सेवन गर्न थालिसक्नुभएको थियो । हामी दुवैलाई देखेर पण्डितजी औधी खुसी हुनुभएको थियो । तर हामीले अनुभूत गरेका थियौँ– उहाँको खुसी एक छिनपछि चिन्तामा बदलिएको थियो । उहाँले चिन्ता पोख्दै ‘पचास वर्ष पहिले रोपिएको नेपाल–भोजपुरी समाजको रुख अब खतम हुँदै छ’ भन्नुभयो । पण्डितजीको चिन्ता जायज थियो । उहाँ नेपाल भोजपुर समाजलाई सव्रिmय र जीवन्त देख्न चाहनुहुन्थ्यो । 

म यसो एकान्त र अलिक फुर्सदको बेला, सोच्ने गर्दछु– एक जना व्यक्तिले के के गर्न सक्छन् हँ ! पण्डितजीले पनि के के गरेनन् । एकातिर आफैँ काव्य सिर्जना गरे । गद्य र पद्य विधाका दर्जनौँ कृति दिएर नेपालीय भोजपुरी साहित्यको श्रीवृद्धिमा योगदान गरे भने अर्कोतिर ‘सनेस’ र ‘समाद’ जस्ता ऐतिहासिक साहित्यिक पत्रिकाको प्रकाशन सुरु गरेर नेपालमा भोजपुरी भाषामा साहित्य सर्जना गर्ने वातावरणको निर्माण गरी नयाँ पिँढीलाई आलोकित हुन अवसर प्रदान गरे । आज नेपालीय भोजपुरी साहित्य संसारमा देखिएका महìवपूर्ण तथा ओजस्वी रचनाकारहरू  पण्डितजीले कोरिदिनुभएको रेखाको सुपरिणाम हुन् । 

पण्डितजी २०२९ मा नेपाल भोजपुरी परिषद्को स्थापना गर्नुभयो जो पछि नेपाल भोजपुरी समाजको रूपमा स्थापित भयो । उहाँ आफ्‍नो जीवनभरि अध्यक्ष रहनुभयो र प्रत्येक वर्ष गोपाष्टमीको अवसरमा बृहत् भोजपुरी कवि सम्मेलनको आयोजना गर्नुभयो । यो भोजपुरी कवि सम्मेलन हिन्दुहरूको महान् पर्व छठको बिहनिया घाटको भोलिपल्ट हुने गथ्र्यो । कवि सम्मेलनमा भाग लिनका लागि नेपालका साथै भारतका पनि चर्चित कविहरू आउँथे । मलाई २०४४ सालमा भएको भोजपुरी कवि सम्मेलनको एउटा घटना सम्झना छ । गोपाल अश्क र म दुवैजना आआफ्नो कविताका साथ महावीर धर्मशालामा दिउँसो पुगेका थियौँ । 

मलाई लाग्छ, हामी दुवै जना पहिलो पटक कविता वाचन गर्नका लागि गएका थियौँ । कवि सम्मेलन त साँझमा हुनेवाला थियो तर पण्डितजी त्यो कवि सम्मेलनमा भाग लिन चाहने नेपाली कविहरूको कविता पहिला हेर्न चाहनु हुन्थ्यो । त्यसैले हामी उहाँलाई आफ्ना कविता देखाउन गएका थियौँ । उहाँ आदर्शनगर मेनरोडमा रहेको महावीर धर्मशालाको एउटा कोठामा बसेर नयाँ कविहरूका कविता हेर्दै, सल्लाह दिँदै हुनुहुन्थ्यो । अग्लो कदको मोटो, गोरो वर्णको पण्डितजीले सेतो मर्दानी र सेतै कमिज लगाउनुभएको थियो । काँधमा रातो गमछा राख्‍नुभएको थियो । बडो आकर्षक व्यक्‍ितत्व लाग्यो उहाँको हामीलाई । 

त्यसबेला मैले आफ्‍नो कविता देखाइनँ, मैले कविता नपढ्ने विचार गरेँ र गोपाल भैयालाई ‘भैया अपने आपन कविता देखाईँ’ भनेँ । गोपाल दाइले पण्डिजीलाई प्रणाम भन्दै आफ्ना दुई कविता हातमा राख्दै भने, “हमहुँ कवि सम्मेलन में भाग लेवे के चाहतानीं ।” मलाई त्यस बेलाको दृश्य अझै सम्झना छ । पण्डितजीले गोपाल दाइका दुइटै कविता केहीबेर घोरिएर पढ्नुभयो र एउटा कविता गोपाल दाइलाई दिँदै भन्नुभयो, “यो कविता नसुनाउनू ।” गोपाल दाइले सोध्नुभयो, “केही खराबी छ कि ?” पण्डिजीले हाँस्दै खराबी खसै छैन तर कवि सम्मेलनमा भारतबाट पनि कवि आउँदै हुनुहुन्छ । तिम्रो यो कविता  उनीहरूलाई खराब हुन सक्छ । त्यसपछि हामी त्यहाँबाट बाहिर आयौँ र साँझ हुने कवि सम्मेलनको प्रतीक्षा गर्न थाल्यौँ । साँझ गोपाल अश्क दाइले रे बदरा कविता सुनाउनुभयो र नेपाली कविका साथै भारतीय कविहरूबाट पनि खुबै प्रशंसा पाउनुभयो । पं. दीपनारायण मिश्र सकारात्मक सोचको व्यक्‍ित हुनुहुन्थ्यो । उहाँ नकारात्मक कुरो गर्नु हुन्नथ्यो तर कहिलेकाहीँ अरूको लहैलहैमा नगर्नु पर्ने काम पनि गरिहाल्नु हुन्थ्यो । एक पटकको कुरो हो । त्योबेला डा. तुलसी भट्टराई नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव हुनुहुन्थ्यो । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल भोजपुरी प्रतिष्ठानको संयुक्‍त आयोजनमा कार्यव्रmम भएको थियो– वीरगन्जस्थित पर्सा मिलन केन्द्रको सभाहलमा, जो सिडिओ कार्यालयको हाताभित्र थियो । डा. भट्टराई, प्राडा केशवप्रसाद उपाध्याय, डा. ध्रुवचन्द्र गौतम आदिको उपस्थिति थियो । 

त्यस कार्यव्रmमको सञ्चालन म नै गर्दै थिएँ, गोपाल अश्क अध्यक्षता गर्दै हुनुहुन्थ्यो । अचानक मैले पण्डिजी, भाग्यनाथ गुप्ता, सञ्जयकुमार श्रीवास्तव निशीथलाई आफ्‍नो हातमा कालो पट्टी बाँधेर कार्यव्रmमको विरोध गरिराखेको देखेँ । मैले विस्तारै पण्डितजीलाई सोधेँ, “किन विरोधमा कालोपट्टी बाँध्नुभएको ?” उहाँले जवाफ दिनुभयो, “म त खास केही जान्दिनँ तर भाग्यनाथजीले नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको ‘भोजपुरी’ समिति खारेज गरिएको बताउनुभयो र त्यसैको विरोधमा यस्तो गरेका हौँ ।” डा. भट्टराईजीले भोजपुरी समिति खारेज भए नभएको तथ्य सत्य कुरो बताएपछि पण्डितजीले पछुतो गर्नुभयो । मैले सोचेँ, पण्डितजीमा रहेको भोजपुरी भाषा तथा साहित्यको प्रेम तथा लगावको कारण त्यस्तो हुनपुग्यो । 

यसरी मेरो स्मृति विम्बमा पण्डितजी अर्थात् पं. दीपनारायण मिश्रको भोजपुरी भाषा र साहित्यका अनन्य साधकको छवि अङ्‍कित भइरहन्छ, जीवनभरि भोजपुरी भाषा र साहित्यको श्रीवृद्धिका लागि चिन्तन र चिन्ता गरिरहने एक सच्चा सपुतको अनुहार चम्किरहन्छ । साँच्चै भन्ने हो भने नेपालीय भोजपुरी साहित्यका भीष्मपितामहको विराट् व्यक्‍ितत्व प्रतिविम्बित भइरहन्छ । उहाँ एक अविस्मरणीय साहित्यकार हुनुहुन्छ, वन्दनीय व्यक्‍ितत्व हुनुहुन्छ र हुनुहुन्छ अनुकरणीय पात्र । 


  कवि शिरोमणि टोल, वीरगन्ज