• ४ असार २०८१, मङ्गलबार

असाधारण कोयन

blog

दुई छोराछोरीकी आमा नेदरल्यान्ड्सकी एथलेटिक्स खेलाडी फनी ब्ल्याङ्कर्स कोयनलाई ओलम्पिकमा चारवटा स्वर्ण पदक जित्ने असाधारण खेलाडीका रूपमा चिनिन्छ ।

कोयनले सन् १९४८ को लन्डन ओलम्पिकमा १०० मिटर, २०० मिटर, ८० मिटर बाधा दौड (हर्डल्स) र ४ गुणा १०० मिटर रिले दौडमा स्वर्ण पदक जितेकी थिइन् । उनीभन्दा अगाडि र त्यसपछि एउटै ओलम्पिकमा एथलेटिक्सका चार विधामा स्वर्ण पदक जित्ने खेलाडी कोही पनि छैन । तसर्थ सन् १९४८ को लन्डन ओलम्पिक कोयनको असाधारण सफलताले चिनिन्छ । 

महिला त्यसमाथि पनि दुई बच्चाकी आमा, घरगृहस्थी भएर खेलकुदमा समेत समर्पित भई एकै ओलम्पिकमा चार स्वर्ण पदक हात पारेर आफ्नो र राष्ट्रको नाम उच्च पार्न सक्नु कुनै चानचुनै कुरा होइन । कोयन यस सफलताले सदा स्मरणीय छिन् । 

ट्रायक एन्ड फिल्डमा कोयन एक बेजोड खेलाडी थिइन् । उनले सन् १९४६ देखि सन् १९५० सम्म युरोपेली च्याम्पियनसिपहरूमा स्वर्ण पदक जितिन् । कोयनले लङजम्प, हाइजम्प, हर्डल्स, स्प्रिन्ट जस्ता स्पर्धामा विश्व कीर्तिमानसमेत बनाएकी थिइन् । उनले पेन्टाथलन स्पर्धामा समेत विश्व कीर्तिमान बनाइन् । 

कोयनले सन् १९५५ मा ३७ वर्षको उमेरमा प्रतिस्पर्धात्मक खेलबाट अवकाश लिइन् । त्यसपछि उनलाई नेदरल्यान्ड्सको महिला ट्रायक एन्ड फिल्ड टिमको नेतृत्व दिइएको थियो । त्यसैगरी सन् १९९५ मा उनलाई इन्टरनेसनल एसोसिएसन अफ एथलेटिक्स फेडरेसनले ‘फिमेल एथलेट अफ द सेन्च्युरी’ उपाधिले सम्मानित ग¥यो । उनले आफ्नो मेहनत र सफलताबाट महिलाप्रति रहेका धेरै अन्धविश्वास तोडेकी थिइन् । खेल खेल्नका लागि उमेर र मातृत्वले अवरोध उत्पन्न गर्दैन तथा आत्मविश्वास छ भने सफलता धेरै टाढा हुँदैन भन्ने उनले सिद्ध गरिदिइन् । 

उनी एक सफल माता थिइन् । त्यसैले उनलाई ‘द पलाइङ हाउस वाइफ’ पनि भन्ने गरिन्थ्यो । त्यसैगरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनलाई ‘द पलाइङ डचमम’ र ‘अमेजिङ फनी’ समेत भन्यो । 

 फनीले पहिले धेरै खेल खेल्थिन् । उनलाई आफ्ना लागि कुन खेल उपयुक्त हो थाहा थिएन । कोयनलाई कसैले पौडी ठिक हुन्छ भन्थे त कसैले स्प्रिन्ट । कसैले हाइजम्प ठिक भएको सुझाव दिन्थे तर जब कोयनको भेट पूर्वओलम्पिक च्याम्पियन जेन ब्ल्याङ्करसँग भयो उनले कोयनलाई ट्रायक एन्ड फिल्डमा ध्यान केन्द्रित गर्न सुझाव दिए । यति मात्र होइन जेनले कोयनलाई प्रशिक्षणसमेत दिन थाले । अन्ततः कोयनले ट्रायक एन्ड फिल्डबाट ठूलो नाम कमाइन् ।  जेनसँग पछि कोयनको विवाहसमेत भयो । कोयनलाई जेनले सधैँ अगाडि बढ्न हौसला, प्रेरणा दिए । 

सन् १९४८ को ओलम्पिकमा चार स्वर्ण पदक जितेर असाधारण उपलब्धि हासिल गरी कोयन स्वदेश फर्किंदा राजधानी एमस्र्टड्याममा उनको भव्य स्वागत र सम्मान गरिएको थियो । हजारौँ खेलप्रेमी  कोयनको स्वागत गर्न बाटोमा लामबद्ध भएका थिए । विशेष सम्मान प्रदान गर्न कोयनलाई सेतो घोडा जोतिएको बग्गीमा राखेर नगर परिक्रमा गराइएको थियो । 

नेदरल्यान्ड्सकी महारानी जुलियानाद्वारा ‘नाइट अफ द अर्डर अफ अरेन्ज नासिउ’ उपाधि प्रदान गरियो ।  कोयनको मृत्यु हुनुभन्दा एक वर्षपहिले खेलकुद पत्रकार केस कोम्यानले उनको जीवनी प्रकाशित गरेका थिए । उनले आफ्नो खेल जीवनमा जनाएका सहभागिता, पाएका सफलता र पत्रपत्रिकामा दिएका अन्तर्वार्ताहरू समेटिएको छ ।

नेदरल्यान्ड्सको बार्नमा सन् १९१८ अप्रिल २६ मा जन्मिएकी कोयनको कद पाँच फिट नौ इन्च थियो । सन् २००४ जनवरी २५ मा ८५ वर्षको उमेरमा उनको निधन भएको थियो ।  

Author

रमेश खनाल