• १९ वैशाख २०८२, शुक्रबार

ज्ञानको भण्डार पुस्तकालय

blog

अनुष्का ज्ञवाली

कक्षाः ७, न्यु होराइजन मावि

बुटवल, रूपन्देही

पुस्तकालय भनेको ज्ञानको भण्डार हो । पुस्तक नै पुस्तकले भरिएको घर पुस्तकालय हो । पुस्तकालयमा रहेका पुस्तक, पत्रपत्रिका आदिको अध्ययनले हामी जस्ता विद्यार्थीको पठन संस्कृतिको विकास हुन्छ । म सानो हुँदा हजुरआमा, आमा, दिदी, दाइसँग कथा सुन्थेँ । अनि घरको पुस्तकालयमा भएका विभिन्न पुस्तकमा भएका चित्र हेर्दै रमाउँथेँ । अर्को पुस्तकमा पनि के होला जस्तो लाग्थ्यो । आमाबुवाले पनि मुना, युवामञ्च जस्ता पत्रपत्रिका ल्याइदिनु हुन्थ्यो । ती पत्रिका हेरेर निकै रमाइलो लाग्थ्यो । जब म राम्रोसँग पढ्न र लेख्न सक्ने भएँ तब पहिलो पटक माइजू मञ्जु ज्ञवालीले लेख्नु भएको ‘आँप खाने उल्लु’ शीर्षकको कथा पढेँ ।

पछि म स्कुलको बुक क्लबमा जोडिएँ । खाली समयमा स्कुलको पुस्तकालयमा जान थालेँ । त्यहाँ मैले बालकथा, विभिन्न जीवनी जस्ता किताब पढ्थेँ । अहिले पनि पढ्दै आएको छु । मेरो परिवार, आफन्त र गुरुआमाले पुस्तक पढ्नलाई प्रेरणा दिनुहुन्छ । प्रत्येक वर्ष स्कुलले ‘बुक रिभ्यु’ कार्यक्रममा दिएका पुरस्कारले अझै किताब पढेर नयाँ नयाँ ज्ञान सिक्ने प्रेरणा मिलेको छ । अहिलेसम्म मैले २५० भन्दा बढी पुस्तक पढिसकेकी छु । तीमध्ये केही यी हुन्– १) पहिलो महिना (म जस्ता किशोरीमा पहिलो चोटि महिनावारी हुँदा लाग्ने डरलाई मेटाएको छ), २) आमाले सक्नुहुन्छ, ३) रोल नम्बर १, ४) नर्स दाजु, ५) माकुरालाई मोजा, ६) महारानी, ७) छोरीलाई बुवाको चिठी, पायल पढ्न जान्छे, ९) मङ्गलीको अधुरो ‘क’ र १०) जस्तो सोच त्यस्तै जीवन ।

स्कुलको फुर्सद समयबाहेक प्रायः शनिबारका दिनमा पनि पुस्तकालय जाने गरेको छु । पाठ्यक्रमबाहेकका पुस्तक पढ्दा ठुला मान्छेहरू धेरै मेहनत गरेर सफलताको उचाइमा पुगेका रहेछन् भन्ने थाहा पाएँ । हामी पनि मेहनती हुनु पर्छ, परिवार समाजलाई सहयोग गर्नु पर्छ, अनावश्यक कुरामा खर्च गर्नु हुँदैन आदि कुरा पुस्तक पढेर नै सिक्न पाएँ । पुस्तक पढेरै मलाई कक्षामा प्रथम हुन सहयोग मिलेको छ । पुस्तक पढ्नाले शब्दभण्डार बढाउन सकिन्छ । लेखन सिप र नयाँ नयाँ खोजको विकास हुन्छ ।  मलाई त मेरो जन्मदिनमा केक, चकलेट, लत्ताकपडाभन्दा उपयोगी पुस्तक नै उपहार दिए हुन्थ्यो जस्तो लाग्छ । मैले पनि कसैलाई उपहार दिँदा पुस्तक नै उपहार दिने बानीको विकास गरेकी छु । कसैले दिएको पुस्तक पढिसकेपछि मैले घरमा बनाएको सानो पुस्तकालयमा राख्ने गरेकी छु । 

हाम्रो देशमा बालबालिकाका लागि स्कुल, घरबाहेक टोल टोलमा पुस्तकालय खोली दिए म जस्तै बालबालिकाले फुर्सदको समयमा पुस्तक पढी उपयोगी ज्ञान लिने थिए । यसका लागि देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई पहल गर्न अनुरोध गर्दछु । पुस्तकालयमा बाल पुस्तकालयको अलग व्यवस्था पनि गर्नु पर्छ । त्यहाँ अपाङ्गता भएका बालबालिका पनि सजिलै प्रवेश गर्न मिल्ने व्यवस्था पनि हुनु पर्छ । 

   मुना