मनस्वी धिताल
कक्षाः ६, नालन्दा विद्यामन्दिर
सानोठिमी, भक्तपुर
अरूले चलाएको देखेर साइकल चढ्न त मन लाग्थ्यो तर आफैँ चलाउने आँट आउँदैनथ्यो । मावलीको भाइले उहिल्यै चलाउन थालिसकेको थियो । साथीहरूले मलाई अगाडि राखेर चलाउँदा पनि सिक्ने हिम्मत आएको थिएन । यो कुरा थाहा पाएर एक दिन मामुले भन्नुभयो, “सिक्ने कुरामा कहिल्यै पछाडि हट्नु हुँदैन । अगाडि बढ्नु पर्छ ।” उहाँको कुराले मलाई छोयो ।
पढाइबाट फुर्सद भएको बेला नजिकै रहेको मावली गएर भाइलाई साइकल सिकाइदिन भनेँ । आधा घण्टा, ४५ मिनेट चलाउँदै गर्दा सिक्न धेरै दिन लागेन । भाइले मलाई चलाउन मात्र सिकाएन, धेरैथोरै सडकको नियम पनि बतायो । अब त भाइको साइकल लिएर मावलीबाट घर र घरबाट मावली ओहोरदोहोर गर्न सक्ने भएँ । घरभन्दा तलको बाटो ठुलो भएकाले यहाँ ठुलठुला गाडी चल्छन् । त्यसैले त्यहाँ चलाउने आँट आएन । भित्री बाटो हुँदै घर–मावली गर्न थालेँ ।
सिकिसकेपछि अब आफ्नै साइकल किन्ने रहर लाग्यो । बाबालाई साइकल किनिदिन भनेँ । बाबाले “कक्षा ५ को वार्षिक परीक्षा सकिएपछि पक्का,” भन्नुभयो । त्यो बिचमा साथी र भाइको साइकल चलाउँदै रहर मेट्थेँ । परीक्षा सकियो । परीक्षाफल पनि आयो । साइकल किन्ने तयारी भयो । बाबाले बजारमा पुगेर साइकल पनि हेर्नुभयो तर किन्ने बेलामा त्यो रकम अन्त खर्च गर्नुपर्ने बाध्यता भयो ।
“अहिलेलाई किन्न सकिएन । अलिक समय पर्ख है ?” बाबाले भन्नुभयो । त्यसै बेला मेरो मनमा एउटा सोच आयो, “बाबालाई किन भार पार्ने ? एउटा साइकल त अलि अलि पैसा जम्मा गरेँ भनेँ त किन्न सकिहालिएला नि !” त्यसमा मलाई मामुले हौसला बढाउनुभयो, “ल तिहारसम्ममा जसरी भए नि किन्नु पर्छ ।” त्यसमा बाबाले थप्नुभयो, “तिमीहरूको लक्ष्यसम्ममा पैसा पुगेन भने म थपिदिउँला ।”
त्यसपछि मैले फजुल गर्न छाडिदिएँ । एक मात्र उद्देश्य थियो, साइकल किन्ने । आफ्नै साइकलमा सरर घुम्ने । बाबामामुले बेलाबेलामा दिएको पैसा र सङ्क्रान्ति–पूर्णिमामा मावलीमा टीका लगाएर पाएको दक्षिणा ओछ्यानमुनि जम्मा भइरहेको थियो । दसैँमा राम्रै दक्षिणा जम्मा भयो । साइकल किन्ने भनिएको दिन नजिकिँदै थियो । तिहारका दुई दिन मामु म र भाइ भएर देउसीभैलो खेल्यौँ । मामुले आफ्नो भागमा आएको पैसा पनि साइकलकै लागि छुट्याइदिनुभयो । पुग्ने रकम जम्मा भयो । बाबा भन्दै हुनुहुन्थ्यो, “नपुग्ने भए भन है ।” तर आवश्यक परेन ।
यो सालको छठ सकिएपछि गट्ठाघरमा रहेको पसलमा मामु, भाइ र म गएर साइकल लियौँ । आफैँले किनेको साइकल चढ्ने रहर पूरा भयो । पसलबाट चलाएरै घरसम्म ल्याएँ ।
बिहान र दिउँसो पढाइ । दिउँसो ४ बजे विद्यालय छुट्टी भएपछि घर आएर हातगोडा धुन्छु । खाजा खाएर केही समय साइकल लिएर निस्कन्छु । अहिले त घरनजिकैको ठुलो बाटोमा पनि चलाउन सक्ने भएको छु तर ठुला साधन चलाउनेहरूले लापर्बाही गरेको देख्दा डर लाग्छ । हामी जस्ता साना मान्छे र साइकल चढ्नेलाई त वास्तै नगर्ने । तैपनि आफैँ सचेत भई चलाउँछु । साइकलले दिनभरिको पढाइले एकोहोरो भएको मेरो मस्तिष्कलाई ताजा बनाउँछ । यसले शारीरिक व्यायाम पनि हुने मैले पाठ्यपुस्तकमा पढेको छु ।