• ८ असार २०८१, शनिबार

फुटबल खेलाडी प्रीति राई नगदसहित सम्मानित

blog

सम्मानित हुनुभएको राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रिती राई । तस्बिर : निशा राई

निशा राई
धरान, जेठ २६ गते । 
राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राई नगदसहित सम्मानित हुनुभएको छ । शनिबार किराँत राई यायोक्खा सुनसरिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा खेलाडी राई नगदसहित सम्मानित हुनुभएको हो ।

किराँत राई यायोक्खा सुनसरिको अध्यक्ष राजेन्द्र राई, नगरप्रमुख हर्क राज राई, निवर्तमान नगर प्रमुख तिलक राईलगायतले दोसल्ला ओढाएर एक लाख आठ हजारसहित सम्मानपत्रले उहाँलाई सम्मान गर्नुभएको थियो  ।

यसैगरी, खेलाडी राईसँगै अन्य विधाको व्यक्तित्वहरू राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वती राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख चन्द्रकुमार राई, इन्जिनियर पारसमणि राई र एमबिई सुवास राईलाई किरात राई यायोक्खा सुनसरिले दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो  ।

प्रीति राई नेपालको राष्ट्रिय महिला फुटबलकी प्रभावशाली खेलाडी भएको नगर प्रमुख राईले बताउनुभयो । अझै धेरै नेपालको नाम राख्न सफल हुन अग्रिम शुभकामना दिनुहुँदै खेलाडीहरूलाई हौसला प्रदान गर्न सरकारले व्यवस्थित गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

प्रतीकै उच्च प्रदर्शनले नेपालको महिला फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको निवर्तमान नगरप्रमुख तिलक राईले बताउनुभयो । यसैगरी अझै धेरै प्रगति र नेपालको नाम राख्न सफल हुन अग्रिम शुभकामना उहाँले दिनुभयो ।

किरात राईहरूको महान् चाड साकेला उँभौली वैशाख पूर्णिमा वा साकेला पूर्णिमाका दिनदेखि सुरु भई धरानलगायत सुनसरीको विभिन्न ठाउँमा साकेला उँभौली मनाउँदै आज शनिबार धरान १७ साकेला पार्कमा समापन कार्यक्रम गर्दै राष्ट्र र समाजका लागि योगदान पुराएको व्यक्तित्वहरूलाई  सम्मान गरेको किरात राई यायोक्खा सुनसरिको अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

कार्यक्रममा किरात राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष तिलक याम्फु राई, धरान १० को वडाध्यक्ष विवेक राई, नेपाल पत्रकार महासङ्घ सुनसरिको अध्यक्ष जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो ।