• १० कात्तिक २०८१, शनिबार

भोक्राहामा प्रथम महिला खो–खो प्रतियोगिता

blog

जयकृष्ण यादव
इनरुवा, जेठ २६ गते । 
सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम महिला खो–खो प्रतियोगिताको तयारी पूरा भएको छ । भोक्राहा नरसिंह गाउँपालिका चिरौलीको सहयोग तथा प्रदेश स्तरीय खो–खो खेलकुद उपभोक्ता समितिको आयोजना र जिल्ला खो–खो सङ्घ सुनसरीको सहकार्यमा उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खो–खो प्रतियोगिता आयोजनाको तयारी भएको हो । भोक्राहा नरसिंहका उपाध्यक्ष सुनिताकुमारी उरावँका  अनुसार प्रतियोगिता जेठ २९ देखि ३१ गते तीन दिनसम्म सञ्चालन हुने जानकारी दिनुभएको छ ।

नेपालमै पहिलो पटक उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खो–खो प्रतियोगितामा राष्ट्रिय खो–खो खेलाडीको सहभागिता रहने उराँवले जानकारी दिनुभयो । आयोजकले दिएको जानकारी अनुसार उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खो–खो प्रतियोगितालाई थप आकर्षक बनाउनका लागि त्रिभुवन आर्मी क्लब काठमाडौँसहित मोरङ, धनकुटा, धनुषा, सर्लाही, बारा, सुनसरी लगायतका टिमको सहभागी रहने आयोजक समितिका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा ६ जिल्ला र विभागीय टिम त्रिभुवन आर्मी क्लब गरी सात वटा टिमको सहभागिता रहने छ । यहाँ मोरङ, धनकुटा, धनुषा, सर्लाही , बारा, सुनसरी लगायतका ७ वटा टिम बिच प्रतिस्पर्धा हुनेछ । प्रतियाेगियताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद २५ हजार रुपियाँ प्राप्त गर्नेछ । यसैगरी उपविजेता टोलीले १५ हजार रुपियाँ र तेस्रो हुने टोलीले पाँच  हजार एक रुपियाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताका सर्वश्रेष्ठ चेजर र रनरलाई पनि जनही १० हजार रुपियाँका दरले पुरस्कृत गरिनेछ । सुनसरी जिल्ला खो खो सङ्घका अध्यक्ष तथा खो–खो सङ्घ कोशी प्रदेशका सचिव कपिलदेव यादवले पहिलो पटक महिला समूहको खो खो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिनभयो ।

नेपालमा खो खो खेलको सुरुवात वि.सं.२०५२ सालमा भएको थियो । यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएपनि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खो–खो प्रतियोगिता पहिलोपटक आयोजना गर्न लागिएको छ ।