• १६ भदौ २०८१, आइतबार

किसानलाई आधारभूत सीप प्रदान

blog

आइपिएम कृषक पाठशाला मार्फत व्यवहारिक अभ्यास गर्दै कृषकहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ २४ गते । बेनी नगरपालिकाका किसानहरूलाई एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला मार्फत ज्ञान र सीप प्रदान गरिएको छ । बेनी नगरपालिका–५ बगुवाखोलामा सञ्चालन गरिएको १८ हप्ता लामो आइपिएम कृषक पाठशालामार्फत गोलभेँडा खेतीको आधारभूत ज्ञान र सीप प्रदान गरिएको हो । 

गोलभेँडा खेतीका बारेमा व्यवहारिक अभ्यासमार्फत किसानहरूलाई बिउ जमाउने, लगाउने तरिका, मलजल र रोगका बारेमा ज्ञान प्रदान गरिएको हो । गत पुस २२ गतेदेखि जेठ २३ गतेसम्म सञ्चालन भएको आइपिएम कृषक पाठशालामा बगुवाखोलाका २५ जना किसानले सहभागिता जनाएका थिए । 

उक्त पाठशालामा सोवित शर्मा र क्षेत्रबहादुर कटुवालले प्रयोगात्मक अभ्यास सहित सहजीकरण गर्नुभएको थियो । आइपिएम कृषक पाठशाला मार्फत गोलभेँडा खेतीको बारेमा राम्रो जानकारी पाएको कृषक तुलसी थापाले बताउनुभयो । उहाँले भन्नुभयो, "परम्परागत तरिकाले गोलभेँडा खेती गर्दै आएको थियौँ । १८ हप्ताको व्यवहारिक तालिमले गोलभेँडा खेती गर्नका लागि दक्ष बनाएको छ । आगामी दिनमा तालिमबाट सिकेको ज्ञान र सीपलाई प्रयोग गरेर गोलभेँडा खेती गर्ने छु ।" खेतीको लागि बिउँ जमाउनेदेखि बिरुवा लगाउने र मलजलको बारेमा राम्रो ज्ञान प्राप्त गरेकाले गोलभेँडा उत्पादनमा वृद्धि हुने उहाँले आशा व्यक्त गर्नुभयो । 

बिउँ र जग्गाको छनौटदेखि प्राङ्गारिक बाली उत्पादनसम्म प्रयोगात्मक अभ्यास समेतको सिकाइ भएकाले आइपिएम कृषक पाठशाला कृषकहरूका लागि उपयोगी बनेको स्थानीय कृषक आरती बानियाँले बताउनुभयो । उक्त पाठशाला कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न प्रभावकारी बनेको बेनी नगरपालिका ५ का वडाध्यक्ष गोविन्द बहादुर बानियाँले बताउनुभयो ।  

दुई वटा टनेलमा सञ्चालन गरिएको आइपिएम कृषक पाठशालामा सहभागी भएकाहरूले हरेक साताको एक दिन न्यूनतम चार घण्टासम्म सामूहिक रूपमा काम गरेर गोलभेँडा नै उत्पादन गरेको तालिमका सहजकर्ता सोवित शर्माले बताउनुभयो । 

विषादीरहित कृषि उपज उत्पादन, रोगकिराको नियन्त्रण र उपचारमा स्थानीय स्तरमा हुने जैविक र प्राङ्गारिक मलको प्रयोग गरी स्वस्थ वर्द्धक कृषि उपजको उत्पादनमा आइपिएम पाठशाला कृषकहरूको लागि उपयुक्त थलो बनेको सहजकर्ता शर्माले बताउनुभयो । 

पाठशालामा रासायनिक मलको न्यूनीकरण र प्राङ्गारिक कृषि उत्पादनको तरिका, विधि र सीप सिकाइएको सहजकर्ता शर्माले बताउनुभयो । "हामीले यो पाठशालामा गोलभेँडा सहित समग्र बाली लगाउने तरिकाबारे कृषकहरूलाई सीप सिकाएका छौँ, बिउँ जमाउने, बिरुवा लगाउनेदेखि सिँचाइ र रोगकिरा व्यवस्थापनमा स्थानीय जैविक उपचारको विधि र तरिका पनि सिकाएका छौँ, यसले कम्तीमा रासायनिक मलको प्रयोगलाई नियन्त्रण गर्न र प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिन सघाउने विश्वास लिएका छौँ," उहाँले भन्नुभयो।

कृषकलाई खेतीबालीको स्याहार, रोगकिराको पहिचान र उपचार तथा जैविक मलको प्रयोगको लागि पाठशालाले आधारभूत ज्ञान, सीप र क्षमता विकास गराएको कृषकहरूको भनाई छ । यस वर्ष बेनी नगरपालिकाले विभिन्न पाँच ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेको छ । 

नगरपालिकाले बगुवाखोला, भकिम्ली, पात्लेखेत, तोरीपानी र जामुनाखर्कमा आलु र गोलभेँडा खेतीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको कृषि शाखा प्रमुख आकृति ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले कृषक पाठशालाले विषादीरहित उत्पादन बढाउन, खेती बालीमा जैविक मलको प्रयोग गर्नुको साथै किसानलाई दक्ष बनाएर स्वस्थ बालीको उत्पादन गर्न प्रेरित गर्ने बताउनुभयो ।