• १६ भदौ २०८१, आइतबार

तरकारी खेतीबाट वार्षिक पाँच लाख आम्दानी

blog

बैजनाथका किसानले गरेको व्यावसायिक तरकारी खेती । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ २४ गते । परम्परागत खेती गरेर जीविकोपार्जन गर्न समस्या भएपछि व्यवसायिक तरकारी खेती सुरु गरेका बाँके बैजनाथ गाउँपालिकाका किसानले तरकारी खेतीबाटै वार्षिक पाँच लाखसम्म आम्दानी गरिरहेका छन् । 

थोरै लगानीमा धेरै आम्दानी हुन थालेपछि सो गाउँपालिकाका किसानहरु तरकारी खेतीतर्फ आकर्षित हुँदै खेती गर्ने बढ्दै गएका छन् । मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर अहिले वार्षिक पाँच लाख रुपियाँसम्म आम्दानी हुने गरेको कोहलपुर नगरपालिका १ कौसीलानगर घर भई बैजनाथमा तरकारी खेती गर्नुभएका दन्तेराम जैसीले बताउनुभयो। 

बैजनाथ गाउँपालिका–१ मा जमिन भाडामा लिएर तरकारी खेती गरिरहनुभएका किसान जैसीले अहिले पाँच बिघा जमिनमा तरकारी खेती गरिरहनुभएको छ । सुरुमा दुई लाख रुपियाँको लगानीमा तरकारी खेती सुरु गर्नुभएका जैसीले सुरुवातमा निकै दुःख भोग्नुपरेको सुनाउँदै तर अहिले वार्षिक पाँच लाखभन्दा बढी आम्दानी भइरहेको बताउनुभयो । तरकारी खेतीबाट आम्दानी बढ्दै गएपछि पाँच वर्ष यता बैजनाथ गाउँपालिकाका गाउँ गाउँमा व्यावसायिक रुपमा तरकारी खेती गरिँदै आएको छ । कृषिको क्षेत्रमा काम गर्ने सामाजिक सङ्घ संस्थाले जनचेतनामूलक कार्यक्रम तथा सहयोग गर्न थालेपछि किसानहरु व्यावसायिक तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । 

सुरुमा कहिले तरकारी खपत नहुने, कहिले कुहिने त कहिले जिल्ला बाहिरबाट आउने तरकारीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा धेरै दुःख खेप्नुपरेको किसान जैसीको भनाइ छ। 

बैजनाथका धेरै किसानले जमिन भाडामा लिएर शुद्ध अर्गानिक तरकारी खेती गरेको सुनेपछि कृषि ज्ञान केन्द्र बाँकेले पनि प्राविधिक सहयोग गरेको बैजनाथ १ का अर्का किसान खुशीराम थारुले बताउनुभयो ।

तरकारी व्यवसायलाई जिल्लाकै नमुना बनाउने उद्देश्यले तरकारी खेतीमा लागेको थारुको भनाइ छ । अहिले वार्षिक करिब पाँच लाख रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले पनि बताउनुभयो । 

मौसमी र बेमौसमी तरकारी गरी १२ प्रकारका तरकारी आफ्नो बारीमा फलाउने गरेको बताउँदै थारुले मौसमले साथ दिएमा सोचेभन्दा पनि राम्रो आम्दानी हुने बताउनुभयो ।

सानोतिनो जागिर, व्यापार व्यवसायभन्दा कृषि पेशा राम्रो रहेको आम्दानीबाट पुष्टि भएको बैजनाथ अर्का किसान दिनेश चौधरीले बताउनुभयो । उहाँले तीन वर्षअघि दुई लाखको लगानीमा व्यावसायिक तरकारी खेती सुरु गरेको जनाउँदै अहिले निकै राम्रो आम्दानी भइरहेको बताउनुभयो । 

चौधरीले बैजनाथ गाउँपालिकाको राजीपुरमा २ बिघा र ३ बिघा चिसापानीमा भाडा लिएर तरकारीखेती गर्दै आउनुभएको छ । उहाँले पाँच जनालाई रोजगारी दिनुभएको छ ।