• १२ साउन २०८१, शनिबार

रुखले च्यापेर बालिकाको मृत्यु, पुन बेपत्ता

blog

टीकापुर नगरपालिका–१ विशाल नगरमा ढलेको रुख जसले बालिकाको ज्यान लियो । तस्बिर: एकिन्द्र

एकिन्द्र तिमिल्सेना

टीकापुर, जेठ २४ गते । हावाहुरीले ढलेको रुखले च्यापेर टीकापुर नगरपालिका–१ विशालनगरकी १५ वर्षीया प्याउरी विकको मृत्यु भएको छ । 

बुधवार राति ८ बजेतिर फुपूको घरबाट फर्किँदै गरेकी प्याउरीलाई आफ्नो घर नपुग्दै बाटैमा रुख ढलेर च्यापेको प्रत्यक्षदर्शी कर विकले जानकारी दिनुभयो । विक जनकल्याण आधारभूत विद्यालय लायकपुरमा कक्षा ७ मा पढ्दै हुनुहुन्थ्यो । उहाँको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ । बालिकाका बुबा कर्ण विक घुम्ती व्यापारमा जानुभएको छ ।  

टीकापुर बहुमुखी क्याम्पसको जग्गामा भूमिहीन, सुकुम्वासीका रूपमा बसेका  विशाल नगर, गणेशपुर, एकता नगरलगायतका शिविरमा बर्सेनि रुख ढलेर घर च्यापिने, मान्छेहरू घाइते हुने र मान्छेको ज्यान जाने घटना भइरहेका छन् । जङ्गल क्षेत्रमा बसेका मानिसहरूले रुख सुकाउन र दाउराका लागि फेद ताछ्ने गरेका छन् । पुराना र फेद ताछिएका रुखहरू ढल्ने र रुखको जरामा घर बनाएर बसेकाहरू च्यापिने गरेका छन् । 

सोही टोलमा जेठ २१ गते सोमबार राति आएको हावाहुरीले रुख ढलेर घर च्यापिँदा ७० वर्षका दलूँ पुरीको ज्यान गएको थियो । पुरानो वन भएकाले रुख वन कार्यालयको मातहतमा छ भने जग्गा टीकापुर विकास समितिको नाममा छ यहाँ कैलालीका विभिन्न ठाउँहरू, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट सुकुम्वासीका रूपमा आएर बसेका पाँच हजार परिवारभन्दा धेरै बसोवासी छन् ।  वडाध्यक्ष मोहन विक यहाँका शिविरका मानिसको ज्यानको सुरक्षा चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । 

यस्तै प्युठानको स्वर्गद्वारी नगरपालिका–१ जिमरीका धनबहादुर पुनको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता हुनुभएको छ । जेठ २३ गते बुधवार साँझ पौने पाँच बजेतिर पुन नुहाउन कर्णाली नदीमा पसेपछि डुबेर बेपत्ता हुनुभएको हो । ४१ वर्षका पुन मोहन्याल गाउँपालिका–४ स्थित मोहन्याल सामुदायिक वनमा सल्लाको खोटो निकाल्ने काम गर्दै आउनुभएको थियो । इलाका प्रहरी कार्यालय पण्डौनबाट प्रहरी सहायक निरीक्षक धनबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली खोजतलासमा खटिएको छ ।