• १२ साउन २०८१, शनिबार

राजनीतिसँगै कृषि पेसामा सक्रिय शाही

blog

एलगाउँमा युवा नेता दिपकबहादुर शाहीले गर्नुभएको कागतीखेती । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, जेठ २३ गते । चामुण्डा विन्दवासिनी गाउँपालिका–४ दैलेख स्थायी ठेगाना भई हाल नेपालगन्ज उपमहानगरपालिका –१८ मा अस्थायी बसोबास गर्दै आउनुभएका नेता दीपकबहादुर शाही राजनीतिकर्मी हुनुहुन्छ । राजनीतिसँगै उहाँले कागती खेती पनि सुरु गर्नुभएको छ । 

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य, कर्णाली प्रदेशको सहसंयोजक तथा बाँके र बर्दिया जिल्लाको इन्चार्ज रहनुभएका नेता शाही पछिल्लो समय राजनीतिसँगै कृषि पेसामा आबद्ध हुनुभएको छ ।

बाँकेको खजुरा गाउँपालिका–२ स्थित एलगाउँ गुराँसपुरमा शाहीले ३० कठ्ठा जग्गामा कागती खेती सुरु गर्नुभएको हो । “राजनीतिसँगै उत्पादन क्षेत्रमा पनि काम गर्नुपर्छ, उत्पादन नै नगरी कसरी जीविकोपार्जन गर्न सकिन्छ ? जीवन चलाउन खानु पर्छ, खानाका लागि उत्पादन गर्नुपर्छ र उत्पादन आफैबाट सुरु गर्नुपर्छ” नेता शाहीले भन्नुभयो ।

“राजनीति गर्न जनताको घरमा पुग्नुपर्छ, खर्च हुन्छ, नेताहरूलाई सबैले अरूसँग मागेर चन्दा उठाएर खान्छन् भन्ने आरोप लगाउँछन् । त्यसलाई चिर्न र आफू आत्मनिर्भर हुनका लागि उत्पादन क्षेत्रमा काम गर्नु जरुरी हुन्छ” उहाँले भन्नुभयो ।

राजनीति गर्ने हरेक नेतृत्वले सिद्धान्तका कुरा मात्र गरेर नहुने भन्दै उहाँले आफैबाट व्यवहारमा लागू गरेर जनतालाई उत्पादनसँग जोडिएर देखाउनु पर्ने र जनताले पनि त्यसको सिको गर्दै उत्पादन क्षेत्रमा काम गरी उत्पादकत्व बढ्ने र आयातमा कमी आउने शाहीले बताउनुभयो ।

आत्मनिर्भर अर्थतन्त्रको विकास आफैबाट सुरु गर्नुपर्ने नेता शाहीले बताउनुभयो । देशमै कुनै न कुनै वस्तुको उत्पादन गर्न सक्यौँ र उत्पादकत्व बढाउन सक्यौँ भने मात्र विदेशबाट आयात हुने वस्तु घटाइ देश भित्रको अर्थतन्त्र बलियो बताउन सकिने उहाँको भनाइ छ ।

देशमा रहेका तमाम बेरोजगार युवालाई उत्पादन क्षेत्रमा काम गर्ने वातावरण सरकारले तयार गर्नुपर्ने भन्दै उहाँले आन्तरिक अर्थतन्त्रलाई टेवा पुग्ने हिसाबले युवालाई सरल र सहज तरिकाबाट लगानी गरी उत्पादनसँग जोड्नुपर्ने र राज्यले प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेता शाहीले सातसय बढी सुनकागती जातको कागतीको बिरुवा लगाउनुभएको छ । यस वर्षबाट कागतीले फल दिन सुरु गरेको उहाँको भनाइ छ । पहिलो वर्षको उत्पादन कस्तो हुन्छ त्यसैअनुसार अगाडि कार्ययोजना बनाउने उहाँले बताउनुभयो ।

शाहीले ६५ लाख रुपियाँ बढीको लागतमा गरेको कागती खेतीको वरिपरि चारैतिरबाट अग्लो तारबार गर्नुभएको छ । सिँचाइका लागि सोलारमार्फत् समरसेल जडान गरी पानीको व्यवस्था गरेको उहाँले बताउनुभयो । 

पछिल्लो प्रविधि तथा यन्त्र, उपकरण सहयोगका लागि स्थानीय वडा कार्यालय, गाउँपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्रसमेत आफू धाएको तथा सहयोग भने कसैबाट नपाएको उहाँले गुनासो गर्नुभयो । राज्यले वास्तविक किसानको पहिचान गरी आवश्यक प्रविधि तथा उपकरणमा सहयोग गर्नुपर्ने र प्रोत्साहन गर्नुपर्ने शाहीले बताउनुभयो ।

दैनिक रोजगारीका लागि बिदेसिने युवालाई देशमै स्वरोजगार बनाइ आत्मनिर्भर बनाउन आवश्यक सिप, ज्ञान तथा लगानी गरी उत्पादनमा जोड्न सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।