• १० कात्तिक २०८१, शनिबार

प्राप्चाको खानेपानी समस्या समाधान

blog

शेरबहादुर राई
ओखलढुङ्गा, जेठ २३ गते ।
मोलुङ गाउँपालिका ओखलढुङ्गाको प्राप्चाको वषौंदेखिको खानेपानीको समस्या समाधान भएको छ । गडीभुलभुले खानेपानी आयोजना सम्पन्न पश्चात् सञ्चालनमा आएसँगै मोलुङ गाउँपालिका–३ र ५ को खानेपानीको समस्या समाधान भएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुङ्गाअन्तर्गत सञ्चालित दिगो र समावेसी, स्वच्छता तथा सरसफाइ प्रवर्धन (वास) परियोजना र मोलुङ गाउँपालिकाको सह–लगानी तथा समुदायको जन श्रमदानबाट आयोजना सम्पन्न भएको हो ।

खानेपानी आयोजना सम्पन्न भएसँगै वडा नं. ३ र ५ को स्थानियवासीको खानेपानी समस्या समाधान भएको मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीको ७० लाख सात हजार ८२४ रुपियाँ, मोलुङ गाउँपालिकाको ३८ लाख ३७ हजार ६३५ रुपियाँ ८९ पैसा  र समुदायको २४ लाख १३ हजार २७६ रुपियाँ ६९ पैसा बराबरको श्रमदान गरी कुल एक करोड ३२ लाख ५८ हजार ७३६ रुपियाँ ९५ पैसा लागतमा खानेपानी आयोजना सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति नारायणप्रसाद दाहालले जानकारी दिनुभयो ।

आयोजना अन्तर्गत पाँच वटा रिजर्भ ट्याङ्की, दुई वटा इन्टेक, ३४ हजार ९६१ मिटर लामो पाइपलाइन रहेको सभापति दाहालको भनाइ छ । आयोजनाबाट २१६ घरधुरी र १४ वटा सार्वजनिक धारा गरी जम्मा २३० वटा धारा निर्माण गरिएको छ । गत कात्तिक १७ गतेबाट सुरु भएको आयोजना २०८१ वैशाख १८ गते सम्पन्न भएको कार्यालयले जनाएको छ । यस अघि खानेपानीको लागि घण्टौँ धाउनुपर्ने बाध्यता रहेकोमा आयोजना सञ्चालनमा आएसँगै त्यस क्षेत्रका नागरिकलाई सहज भएको गडीभुलभुले खानेपानी उपभोक्ता समितिका अध्यक्ष फडिन्द्रप्रसाद फुयालले बताउनुभयो ।