• १२ साउन २०८१, शनिबार

बाजुरागडावस्तीको समस्या समाधान गर्छौँ : मुख्यमन्त्री सोडारी

blog

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी कैलालीको चुरे गाउँपालिका–४ बाजुरागडाबासीका समस्या सुन्दै । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह
धनगढी, जेठ २२ गते । 
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले कैलालीको चुरे गाउँपालिका–४ बाजुरागडाका बासिन्दाको आधारभूत आवश्यकता पूरा गर्नका लागि कटिबद्ध रहेको बताउनुभएको छ ।

सो गाउँवासीका तर्फबाट मङ्गलबार दिइएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री सोडारीले सो कुरा बताउनु भएको हो ।

मुख्यमन्त्री सोडारीले सो क्षेत्रका बासिन्दा शुद्ध खानेपानी, सिँचाइ, बिजुली, विद्यालय तथा स्वास्थ्य केन्द्र लगायतका आधारभूत आवश्यकताबाट वञ्चित रहेको बारे आफू जानकार रहेको बताउँदै अबको बजेटमा न्यूनतम आवश्यकता पूरा गर्ने गरेर बजेट विनियोजन गरिने बताउनुभयो ।

ज्ञापनपत्र भनिएको छ हाम्रो प्रमुख पेसा कृषि भएता पनि सिँचाइको सुविधा नभएका कारणले तीन महिना पनि खान नपुग्ने अवस्था छ त्यसैले सिँचाइको व्यवस्था पनि निक्कै जरुरी छ ।

यस्तै, गरेर खुटिया नदीमा पुल समेत नभएकाले वर्षातको समयमा गाउँलेहरू गाउँबाट बाहिर जान समस्या त हुन्छ नै विद्यार्थीसमेत विद्यालय जान कठिन हुने गरेको स्थानीयहरूले गठन गरेको सङ्घर्ष समितिको तर्फबाट संयोजक हेमबहादुर विष्टले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

सङ्घर्ष समितिले मङ्गलबार नै एक कार्यक्रम आयोजना गरेर प्रदेश सभाका सदस्यहरूलाई आफ्ना समस्या सुनाएका थिए । उनीहरूले प्रदेश सभा सदस्यहरूलाई पनि आफ्ना समस्या उल्लेख गरेर समाधानका लागि ज्ञापन पत्र बुझाएका थिए ।

सो अवसरमा प्रदेश सभा सदस्यहरू इन्दिरा गिरी, जानकी कुँवर पौडेल र तुलसी देवकोटाले आफूहरूले बाजुरागडाबस्तीको समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा खाद्य अधिकारका क्षेत्रमा कार्यरत याक नेपालका अध्यक्ष बलबहादुर रोकायाले सो क्षेत्रका बासिन्दाले भोगेको समस्या बारेमा आफूहरूले पनि अध्ययन गरेको र उनीहरूका समस्या गम्भीर रहेको चर्चा गर्नु भएको थियो ।