• १२ साउन २०८१, शनिबार

फाप्ला रङ्गशाला निर्माणको लागि डिपीआर बन्दै

blog

धनगढीमा रहेको फाप्ला क्रिकेट मैदान।तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, जेठ २२ गते। दशक अगाडि मैदान पहिचान भएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गर्न लागिएको छ।

नेपाल सरकारले पूर्वाधार विकास निर्माण समिति गठन गरेर त्यसमार्फत काम अगाडि बढाउने निर्णय गरेपछि चालु आर्थिक वर्षभित्रै डिपीआर बनाउन लागिएको हो।

डिपीआर निर्माणका लागि टेन्डर स्वीकृत भएर काम अगाडि बढाउने तयारी भइरहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले जानकारी दिनुभयो।यसैगरी, वातावरणीय प्रभाव मूल्याङ्कनका लागि पनि ठेक्का भइसकेको उहाँले बताउनुभयो।

अध्यक्ष शाहीका अनुसार चालु आर्थिक वर्षभित्रै डिपीआर निर्माणको काम सम्पन्न गरेर आगामी आर्थिक वर्षबाट रङ्गशाला निर्माणको काम अगाडि बढाउने लक्ष्य छ।“नेपाल सरकारबाट जग्गा प्राप्ति, पूर्वाधार निर्माण विकास समिति गठनपछि डिपीआर निर्माणको प्रक्रिया अगाडि बढेको छ”, उहाँले भन्नुभयो, “आउने आर्थिक वर्षबाट संरचना निर्माणको काम अगाडि बढाउँछौँ ।”

चालु आर्थिक वर्षमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको डिपीआरमात्रै निर्माणका लागि सरकारले एक करोड बजेट समितिलाई दिएको थियो।बजेट अनुसारको काम भइरहेको भन्दै अध्यक्ष शाहीले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणका लागि स्रोत सुनिश्चितताको काम भइसकेको उल्लेख गर्नुभयो।

“तीन तहकै सरकारको सहभागितामा विकास समितिको गठनादेश अनुसार निर्माणको काम अगाडि बढ्ने छ”, उहाँले भन्नुभयो, “फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम सञ्चालन कुन मोडेलमा गर्ने भन्ने कुराको निर्णय पनि समितिले नै गर्नेछ ।”

यसअघि, ड्रिम फाप्ला अभियानको क्रममा यसको विस्तृत योजना (मास्टर प्लान) बनाइएको थियो।तर, नेपाल सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामात्रै नभई खेलग्राम नै बनाउने निर्णय गरेपछि पहिले बनेको मास्टर प्लानभन्दा केही भिन्न रूपमा संरचना निर्माणको काम हुने जनाइएको छ ।

खेलग्रामभित्र क्रिकेट रङ्गशालासहित अन्य संरचना बन्ने जनाइएको छ।निर्माणको काम भने फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्राथमिकतामा राखेर सुरु गर्ने जनाइएको छ।

धनगढीमा क्रिकेट खेल लोकप्रिय बनेपछि अस्थायी मैदानको रूपमा विक्रम संवत् २०७१ सालमा फाप्ला क्रिकेट मैदानको पहिचान गरिएको थियो।त्यसपछि यही मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउनका लागि २०७२ सालबाट ड्रिम फाप्ला अभियान सञ्चालन गरिएको थियो। 

यो अभियानलाई नेपाल सरकारले महत्त्व दिएर पहिलो पटक पूर्वाधार विकास निर्माण समिति गठन गरेर त्यसमार्फत काम अगाडि बढाउने निर्णय गरेपछि अभियानले सार्थकता पाएको अध्यक्ष शाहीको भनाइ छ।“हामी ड्रिम फाप्लाको धेरै नजिक छौँ”, उहाँले भन्नुभयो।