• ८ पुस २०८१, सोमबार

सरकारले कृषिमा प्राविधिक जनशक्ति वृद्धिमा ध्यान दिनु जरुरी छ : कांग्रेस सांसद राणा

blog

प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा।

काठमाडौँ, जेठ २२ गते। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डा. आरजु राणाले कृषिमा प्राविधिक जनशक्ति वृद्धि गर्न सरकारलाई सुझाव दिनुभएको छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उहाँले सो कुरा बताउनुभएको हो।सांसद राणाले कृषकलाई राहत दिनका लागि छुट्टै बैङ्किङ प्रणालीको विकास गर्न पनि सरकारलाई सचेत गराउनुभयो।

उखु कृषक, दूध कृषकले समयमै भुक्तानी नपाएको गुनासो आइरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि पनि सहुलियत दरमा राहत दिने गरी समयमै भुक्तानीको व्यवस्था गर्न सरकारले सो खालको बैङ्किङ प्रणालीको विकास गर्न आवश्यकता भएको तर्क गर्नुभयो।

सांसद राणाले सरकारले कृषिलाई लगानी दशकको रूपमा घोषणा गरे पनि त्यस क्षेत्रको बजेट घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद राणाले कृषिमा लगानी वृद्धि गर्न सरकारले त्यसको बजारको पनि उचित व्यवस्था गर्नुपर्ने बताउनुभयो।