करुण अर्याल
लण्डन, जेठ २२ गते । संयुक्त अधिराज्य (बेलायत) को लण्डनमा २५६८ औँ बुद्धजयन्ती विविध कार्यक्रमसहित मनाइएको छ ।
बुद्ध फाउण्डेसन युकेको आयोजनामा वुल्लीचको जनरल गोर्डन स्क्वायरमा सम्पन्न कार्यक्रममा गौतम बुद्धको सन्देश तथा पर्यटन प्रवर्द्धर्नात्मक सामग्रीहरु प्रदर्शनी गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा कार्यक्रमले सघाउ पुर्य ाउने भन्दै कार्यक्रमका प्रस्तुतिहरुले नेपालको सामाजिक एवम् सांस्कृतिक विविधता झल्काएको बताउनुभयो । रोयल बरो अफ ग्रीनवीचका नवनिर्वाचित मेयर जीत रानाभाटले समुदायभित्रको सांस्कृतिक विविधतालाई प्रोत्साहन गर्न बरो सदैव तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बौद्ध लामा गुरु खेम्पो कर्मा छुल्ठिमले बौद्ध दर्शनसम्बन्धी प्रवचन दिनुभएको थियो ।
नेपालबाट ल्याइएको साढे तीन फिट अग्लो बुद्ध मूर्ति र बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति हृदयरत्न बज्राचार्य एवम् प्राध्यापक कर्ण महर्जनले तयार पारेको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’ ले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । सोही अवसरमा बालबालिकाबिच बुद्ध र लुम्बिनी झल्काउने चित्रकला प्रतिस्पर्धा गराएर पुरस्कृत गरिएको थियो । कार्यक्रममा पासा पुचः युकेद्वारा धिमे बाजा र लाखे नाच देखाइनुका साथै बालबालिकाले विभिन्न जातीय भेषभूषाको आकर्षक प्रदर्शनी गरेका थिए । विश्वशान्तिको कामना गर्दै सामूहिक रुपमा दीप प्रज्वलन गरिएको थियो । फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम संयोजक एवम् फाउण्डेनशनकी उपाध्यक्ष प्रसुना कँडेलले सञ्चालन गर्नुभएको थियो ।