• १३ साउन २०८१, आइतबार

‘अपाङ्गता लगायत लक्षित वर्गलाई उत्साहित गर्ने कार्यक्रम ल्याउँछौँ’

blog

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री दीर्घबहादुर सोडारी।

भवानी ऐर

गोदावरी (कैलाली, जेठ २२ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले अपाङ्गता भएका लगायत विपन्न वर्गका जनसमुदायको पक्षमा प्रदेश सरकार सदैव लागिपर्ने बताउनुभएको छ। आदिवासी जनजाति अपाङ्गता महिला सङ्घ नेपाल (नीडवान्)को आयोजनामा धनगढीमा सञ्चालित चार दिने अन्तर प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटन गर्दै मुख्यमन्त्री सोडारीले मंगलबार सो कुरा बताउनुभएको हो। 

सरकारले आगामी आर्थिक वर्षको लागि बजेट तथा कार्यक्रम तयार पारिरहेका आफ्नो हकअधिकार दायित्वबारे स्मरण गराएकोमा धन्यवाद दिँदै उहाँले भन्नुभयो, “अहिलेसम्म सरकारले पूर्णता नपाए पनि जति दिन हामी सरकारमा रहन्छौ, हाम्रो समाजमा रहेका कुनै पनि लक्षित समुदायलाई निराशा पैदा हुन दिने छैनौँ।” 

सोही कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सचिव पदमराज जोशीले अपाङ्गता लगायत लक्षित समुदायको जीविकोपार्जन सहज पार्न प्रदेश सरकारले पञ्चवर्षीय योजनामा विभिन्न कार्यक्रम समेटेको जानकारी दिनुभयो।

यसअघि राष्ट्रिय अपाङ महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष मानबहादुर साउदले गतवर्ष प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमले अपाङ्गता भएका व्यक्तिलाई होच्याएको र बजेट पनि कटौती गरेकोले २१ दिनसम्म सडक आन्दोलन गर्नुपरेको स्मरण गराउँदै अब फेरि त्यो अवस्था सिर्जना नआउन दिन आग्रह गर्नुभयो। 

चार दिनसम्म चल्ने उक्त नेतृत्व विकास तालिममा नीडवान्का अध्यक्ष तथा प्राध्यापक प्रतिमा गुरुङ र अपाङ्गता अधिकारकर्मी कृष्ण गहतराजले अपाङ्गता भएका नागरिकको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि २००६ (सिआरपिडी) र यसको प्रभावकारी कार्यान्वयन सम्बन्धी प्रशिक्षण दिनुहुने छ। 

तालिम कार्यक्रममा सुदूरपश्चिमका नौ जिल्लाबाट प्रतिनिधि, कैलालीका गोदावरी, भजनी र कैलारी पालिकामा रहेका अपाङ्गताको क्षेत्रमा काम गरिरहेका संस्था यस्तै, कर्णाली प्रदेशका वीरेन्द्रनगर र बाराही पालिकामा रहेका अपाङ्गता अधिकारकर्मीहरू गरी ५० बढीको सहभागिता रहेको छ।