बिरामीको उपचारका क्रममा चिकित्सकभन्दा ज्यादा महत्व परिचारिका (नर्स) को हुन्छ । चिकित्सकले बिरामीको परीक्षण मात्र गर्ने हुन् तर स्वास्थ्य परिचारिकाले अस्पतालमा भर्ना भएका बिरामीको औषधी सेवन, खानपान, हेरचाह, चिकित्सकलाई बिरामीको अवस्थाको जानकारीलगायत यावत् जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्ने हुन्छ । बिरामीमैत्री नर्स भइदिए भने बिरामीले सान्त्वना पाउनुका साथै छिटो सन्चो हुने अवस्था बन्छ । केही वर्षअघिसम्म सजिलै जागिर पाइने भएकाले नर्सिङ विषय अध्ययनमा आकर्षण थियो । पछिल्लो समयमा भने मागभन्दा ज्यादा उत्पादन हुन थालेपछि बेरोजगार बनेका तथा निजी अस्पतालहरूले थोरै सुविधा दिएर श्रम शोषण गरेको गुनासो सार्वजनिक हुने गरेका छन् । यस किसिमको परिस्थितिजन्य अवस्थालगायतका कारण ठुलो सङ्ख्यामा नर्सहरू विदेश पलायन हुने गरेका देखिएको छ । यसले गर्दा निकट भविष्यमा मुलुकका अस्पतालमा नर्स अभाव हुने अवस्था नआउला भन्न सकिँदैन ।
मुलुकका निजी अस्पतालहरूमा कार्यरत नर्सले मासिक १५/१६ हजार रुपियाँमा काम गर्नु परेको बाध्यात्मक अवस्था देखिन्छ । जब कि नर्सिङ अध्ययनमा १० लाख रुपियाँभन्दा बढी खर्च हुने गरेको छ । लगानी अनुसारको प्रतिफल नपाएको गुनासो मात्रै नभएर श्रम शोषण भइरहेको तितो यथार्थ हो यो । मुलुकको कार्यकारी प्रमुखले समेत नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सबै निजी अस्पताल, नर्सिङ होम र स्वास्थ्य केन्द्रमा लागु गराउन आफ्नो तर्फबाट पहलकदमी रहने अभिव्यक्ति नर्सिङ दिवसका अवसरमा दिनुभएको स्मरणीय छ । यद्यपि नर्सको सेवा सुविधामा कुनै किसिमको वृद्धि हुन सकेको देखिँदैन । यसले गर्दा उनीहरूमा वैदेशिक आकर्षण बढ्दो छ । बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलियासहितका विकसित मुलुकका अतिरिक्त साउदी अरेबिया, दुबई, कतार, कुवेतलगायतका देशप्रति पनि उनीहरूको आकर्षण बढ्न थालेको देखिन्छ । युरोप तथा अमेरिका जान १५/२० लाख रुपियाँ लाग्नुका साथै उता गएर थप अध्ययन गरेर त्यहीँको काउन्सिलमा दर्ता आवश्यक पर्छ । अन्य मुलुकको तुलनामा नगण्य खर्चमा खाडी मुलुक गएर राम्रो आम्दानी गर्न सकिने भएपछि त्यसतर्फको आकर्षण वृद्धि भएको हो ।
पछिल्लो गन्तव्य मुलुक साउदी अरबमा खानेबस्ने सुविधासहित बिएन नर्सले महिनामा दुई लाख रुपियाँभन्दा बढी तलब पाउने गरेको कार्यरत नर्सहरूको भनाइ छ । खाडी मुलुकमध्ये सबैभन्दा बढी आकर्षण साउदी अरब भएको छ । निःशुल्क जान पाउने, अनुभव नचाहिने, खानेबस्ने सुविधासहितको तलबले साउदी जान नेपाली नर्स आकर्षित भएका हुन् । नर्सिङ काउन्सिलको प्रमाणीकरणको समेत आवश्यकता नपर्ने भएपछि उनीहरू म्यानपावर कम्पनीमार्फत जाने गरेका छन् । साउदीको एउटै अस्पतालमा तीन सय नेपाली नर्स कार्यरत रहेका समाचारमा आएको छ । साउदीमा करिब एक हजारको सङ्ख्यामा नेपाली नर्स कार्यरत छन् भने कतार तथा दुबईमा पनि करिब चार सय नर्स कार्यरत रहेका पाइएको हो ।
विदेश जान चाहने नर्सले खाडी मुलुकबाहेकका अन्य मुलुकमा जान नेपाल नर्सिङ काउन्सिलबाट प्रमाणीकरणपत्र लिनु अनिवार्य छ । सोही तथ्याङ्क हेर्दा २०८० सालको चैतसम्ममा ४० हजार ५३९ जनाले सो पत्र लिएका अभिलेख छ । हाल काउन्सिलमा ८२ हजार ४७१ जना नर्स दर्ता भएका छन् । काउन्सिलका अनुसार अमेरिकाका लागि सबैभन्दा बढीले प्रमाणीकरणपत्र लिएका हुन् । यस्तै अस्ट्रेलिया, दुबई, डेनमार्क, बेलायत र क्यानडाका लागि प्रमाणीकरणपत्र लिने धेरै रहेका काउन्सिलको अभिलेखमा उल्लेख छ । काउन्सिलका अनुसार बर्सेनि आठ हजारभन्दा बढी नर्स बिदेसिने गरेका छन् । सन् २०२० भन्दा अघि नेपाली नर्स नगण्य मात्रामा खाडी मुलुकतर्फ जाने गरेका देखिएको छ । सन् २०२० को सुरुताका अरब राष्ट्रमा नेपाली नर्स तथा डाक्टरलाई रोजगारीको अवसरबारे काठमाडौँमा अन्तर्राष्ट्रिय रोजगार सम्मेलन आयोजना गरिएको थियो । यसपछि भने नर्स तथा डाक्टरको रोजाइमा पर्न थालेको विदित हुन्छ । नर्स पलायनको यो तथ्यले मुलुकको स्वास्थ्य सेवामा नकारात्मक असर पर्ने देखिँदा चिन्ताको विषय बनेको हो ।
मुलुकका सरकारी अस्पतालमा नर्स र बिरामीको अनुपात नमिलेको तथ्य विभिन्न अध्ययन रिपोर्टले देखाएका छन् । एक नर्सले ५० जनासम्म बिरामीको हेरचाह गर्नुपर्ने अवस्था देखिएको छ । चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन अनुसार सन् २०३१ सम्ममा नेपालमा ६० देखि ७० हजार नर्स आवश्यक पर्ने देखिएको छ । वार्षिक रूपमा नर्स उत्पादनको घट्दो दर र नर्सका लागि विदेशमा उपलब्ध अवसरका कारण त्यतिन्जेलसम्म नेपालमा नर्सको चरम अभाव हुने विज्ञहरूको अभिमतप्रति सम्बन्धित निकायहरू संवेदनशील हुन आवश्यक छ ।