• १२ असोज २०८१, शनिबार

टी–२० विश्वकप

blog

क्रिकेटको छोटो संरचनाको महाकुम्भ आज सुरु हुँदै छ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । त्यसैले यो विश्वकपको ज्वरोले नेपालीलाई अझ च्यापेको छ; जुन एक महिना नभई निको हुने छाँट देखिँदैन ।

यसपालि आइसिसीले टी–२० विश्वकपमा चार टिम बढाएर २० टिमलाई सहभागी गराएको छ । विश्वका यी २० उत्कृष्ट क्रिकेट टिमबिच सर्वश्रेष्ठ चयन गर्न २९ दिन लगाएर ५५ खेल खेलिने छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । एक समूहमा पाँच टिम रहने छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्ने छन् । सुपर–८ मा दुई समूह हुने छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् । त्यसपछि असार १५ गते विश्वकप ट्रफी उचाल्ने टिमको निर्णय हुने छ ।

२०/२० ओभरको क्रिकेट सन् २००३ जुनमा मात्र सुरु भएको हो । क्रिकेटका विभिन्न संरचनामध्ये टी–२० अहिले सबभन्दा रुचाइएको स्वरूप हो । अन्य स्वरूपमा ‘टेस्ट क्रिकेट’ पाँच दिन र ‘वनडे क्रिकेट’ एक दिन चल्ने भएकाले परिणाम र समयको हिसाबले क्रिकेटको क्रेज कम हुँदै गयो । यो खेल कम मुलुकमा खेलिन थाल्यो । त्यसपछि यो खेलको समय घटाउने आवश्यकता महसुस गरी टी–२० क्रिकेटको प्रचलन सुरु भएको हो; जुन निकै सफल भयो । त्यसले पनि आइसिसीले टी–२० विश्वकप प्रत्येक दुई वर्षमा आयोजना गर्छ । प्रायः विश्वकप प्रत्येक चार वर्षमा आयोजना हुने गर्छ । आइसिसीले नै आयोजना गर्ने एकदिवसीय क्रिकेटको विश्वकप प्रत्येक चार वर्षमा मात्र हुने गर्छ तर आइसिसीले टी–२० लाई अझ लोकप्रिय बनाउन दुई/दुई वर्षमा विश्वकप टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय लिएको हो; जसको नवौँ संस्करण हुन लागेको छ । 

दोस्रो पटक विश्वकप खेल्दै नेपाल

गत वर्ष आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई हराएर नेपाल विश्वकपमा खेल्नयोग्य भएको हो । नेपालले दोस्रो पटक टी–२० विश्वकपमा खेल्दै छ । १० वर्षपछि विश्वकपमा पुनरागमन गरेको नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यसपछि नेपाल लगातार अन्तिम समयमा प्रत्येक टी–२० विश्वकपमा छनोट हुनबाट वञ्चित हुँदै आएको थियो । पछिल्लो पटक टी–२० विश्वकप खेल्दा नेपालले तीनमध्ये दुई खेलमा दुर्लभ जित निकालेर आफ्नो सहभागितालाई सम्झनलायक बनाएको थियो । अफगानिस्तान र हङकङलाई हराएपछि आयोजक बङ्गलादेशसँग पराजित हुँदा रनरेटका आधारमा मात्र नेपाल सो टी–२० विश्वकपको अघिल्लो चरणमा स्थान बनाउन असफल भएको थियो । यस १० वर्षमा नेपाली क्रिकेटले विश्वमा आफ्नो छवि अझ उच्च पारिसकेको छ । पहिलो पटक विश्वकप खेल्दा सानो माछाको रूपमा आकलन गरिएको नेपाल अब उलटफेर गर्न सक्ने टिम बनिसकेको छ । पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार फड्को मारिरहेकाले पनि नेपाललाई यस पटक केही अनपेक्षित नतिजा निकाल्न सक्ने टिमका रूपमा हेरिएको छ । पछिल्लो संस्करणमा खासै भाउ नदिए पनि यसपालिको टी–२० विश्वकपमा नेपाल हेर्नलायक टिमका रूपमा रहेको छ । नेपाली समर्थकले पनि नेपालले यसपालि पछिल्लो पटकको सहभागितामा भन्दा थप उपलब्धि हासिल गर्ने आशा गरेका छन् ।

नेपाली क्रिकेटरहरूले पनि नेपाली जनतालाई खुसी बनाउन भरमग्दुर प्रयास गर्नेमा कसैको विमति हुन सक्दैन । नेपाली क्रिकेटरहरू राष्ट्रिय भावनाले ओतप्रोत  छन्; जुन ठुलो कारक हुन सक्छ । अझ स्टार स्पिनर सन्दीप लामिछानेलाई आयोजक अमेरिकाले भिसा नदिएपछि टिम आहत छ; जुन यस विश्वकपमा राम्रो गर्ने प्रेरणा पनि हुन सक्छ । विश्वमा क्षमतासँगै भावना मिसिँदा चमत्कार भएका धेरै उदारहण छन् । यसपालि विश्वकपको तयारीका लागि भने उसमा औँला उठाउने ठाउँ छैन । नेपाली क्रिकेट टिम निरन्तर उच्चस्तरीय क्रिकेट खेलेर विश्वकपमा सहभागी हुँदै छ । म्याच प्राक्टिस सबभन्दा राम्रो तयारी हो । अझ अमेरिका र वेस्ट इन्डिजको हावापानीमा भिज्न सबभन्दा पहिले त्यहाँ पुग्ने टिम नेपालको हो जसले विश्वकपमा नेपाललाई अवश्य फाइदा पु¥याउने छ । यसबाहेक नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’, आयरल्यान्ड ‘ए’ सँग टी–२० शृङ्खला खेलेको छ । तयारीकै क्रममा सहभागी भएको भारतको गुजरातमा भएको एसएमएस फ्रेन्डसिप कपको उपाधि हात पा¥यो । ओमानमा भएको एसिसी प्रिमियर कपमा पनि सहभागिता जनायो । यसले नेपाललाई ठुला खेलको दबाब झेल्न सहयोग पु¥याउने विश्वास गर्न सकिन्छ । 


यसपालिको विश्वकपमा नेपालले ब्याटिङबाट अपेक्षा गरेको छ । विश्वकपमा नेपालको प्रदर्शन कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको खेलमा भर पर्ने छ । यस विश्वकपमा नेपाललाई लामो यात्रा तयार गर्ने यात्रामा महìवपूर्ण खेलाडीका रूपमा कप्तान रोहित पौडेललाई लिइएको छ । विश्वकप टी–२० २०२४ कै सबभन्दा कम उमेरका कप्तान २१ वर्षीय रोहितले आफ्नो कप्तानी मात्र होइन, ब्याटिङमा पनि राम्रो लय देखाउनुभएको थियो । गत महिना बलियो वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० शृङ्खलामा रोहित चार पालिमा एक शतक र दुई अर्धशतकसहित सर्वाधिक रन बनाएर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो । विश्वकपमा रोहितको लय नेपालका लागि महìवपूर्ण बन्ने पक्का छ । अलराउन्डर दीपेन्द्र नेपाली टिमका तुरुपको एक्का हुनुहुन्छ । गत वैशाखमा भएको एसिसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा दीपेन्द्रले छ छक्का प्रहार गर्नुभएको थियो । गत सेप्टेम्बरमा भएको होङजाउ एसियाडमा पनि दीपेन्द्रको ब्याट्बाट लगातार छ बलमा छ छक्का निस्केको थियो । सो एसियाडमा लगातार छ छक्कासहित कुल नौ बलमा विश्व कीर्तिमान अर्धशतक बनाएर दीपेन्द्रले विश्व क्रिकेटको ध्यान आफूप्रति तान्नुभएको थियो ।

दीपेन्द्रको सो अकल्पनीय पालिसँगै भारतका युवराज सिंहले १२ बलमा अर्धशतकको विश्व कीर्तिमान भङ्ग भएको थियो । दीपेन्द्रको सर्वाधिक तेज अर्धशतकको विश्व कीर्तिमान अमर रहने पक्का छ । कुशल मल्लको नाममा पनि टी–२० मा दोस्रो तेज शतकको कीर्तिमान छ । यसै गरी कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, अनिल शाह सबै टी–२० ‘फ्लेभर’ दिने ब्याट्सम्यान हुनुहुन्छ । टी–२० क्रिकेटलाई ब्याट्सम्यानको खेल भन्दा फरक पर्दैन । पिच, नियम सबै ब्याट्सम्यानकै अनुकूल बनाइएको हुन्छ; जहाँ ‘डट’ बल खेल्नुलाई पाप मानिन्छ । ‘रन अ बल’ को पालि खेल्ने ब्याट्सम्यान अर्धशतक अथवा शतक नै बनाए पनि आलोचनाका पात्र हुन्छन् । नेपालले भने यो पक्षमा चिन्ता लिनुपर्ने देखिँदैन, नेपालको ब्याटिङमा गहराइ छ । सबै जसो ब्याट्सम्यान चौका, छक्का प्रहार गर्दै तेज गतिमा रन बनाउन माहिर छन् । १० नम्बरमा क्रिजमा आउने खेलाडीमा पनि ब्याट्बाट खेल जिताउन सक्ने क्षमता छ । सागर ढकाल, ललित राजवंशी र अविनाश बोहराबाहेक सबै खेलाडी ब्याटिङ गर्न सक्छन् । त्यसैले ब्याटिङ नै नेपालको ताकत हुने छ । परम्परागत रूपमा नेपालको बलिङ सधैँ शक्तिकै रूपमा रहिआएको  छ । तर यसपालि बलिङमा नेपाल भर पर्न सक्ने स्थिति छैन । सन्दीप लामिछानेको अनुपस्थितिमा नेपालको बलिङ सामान्य देखिएको छ । करण केसी र सोमपाल कामीले आफ्नो अनुभवको भरपूर प्रयोग गर्नुपर्ने छ । स्पिन विभाग ललित राजवंशीको नेतृत्वमा हुने छ । गुलसन झा, कुशल मल्ल, कुशल भुर्तेल र दीपेन्द्र जस्ता अलराउन्डरले पनि बलिङमा उचित भूमिका निर्वाह गर्नुपर्ने पक्का छ ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पछिल्लो एक वर्ष स्वर्णिम युग नै भने हुन्छ तर नेपाल ठुला टिमसँगको परीक्षामा अझै पनि उत्तीर्ण हुन सकेको छैन । यस विश्वकपमा नेपाल कठिन समूह ‘डी’ मा श्रीलङ्का, दक्षिण अफ्रिका, बङ्गलादेश र नेदरल्यान्ड्ससँग रहेको छ । यस समूहबाट अर्को चरणमा पुग्ने अपेक्षा नभए पनि नेपालले उलटफेर गर्न सक्ने सम्भावना छ । यस समूहबाट दक्षिण अफिका र श्रीलङ्का सुपर आठमा पुग्ने अनुमान गरिएको छ ।

उपाधि दाबेदारहरू

टी–२० क्रिकेटको यस्तो संरचना हो; जसमा ब्याट्सम्यान पहिले बलबाटै रन बनाउन आतुर हुन्छन् । छ/सात ओभरमै ६०/७० रनको सुरुवात, २० ओभरमा दुई सय रन बन्न सकिने स्थिति । चौका र छक्काको बर्सात । करिब साढे तीन घण्टामा खेल समाप्त । त्यसैले यसमा एक ब्याट्सम्यान तथा एक बलर चम्कँदा पनि खेलको नतिजामा फरक पर्न सक्छ । यसैले पनि यस पटकको विश्वकपमा उपाधि दाबेदारको आकलन गर्न गाह्रो छ । टी–२० मा एक दुई ओभरमै अथवा सानो गल्तीमा पनि हारजितको स्थिति उल्टने हुने हुँदा पूर्वानुमान गर्न कठिन छ । यद्यपि लाइनअप, पछिल्ला प्रदर्शन, अनुभव र वरीयतालाई केलाउँदा यसपालि भारत, इङ्ग्ल्यान्ड र अस्टे«लियालाई प्रमुख उपाधि दाबेदारका रूपमा हेरिएको छ । आयोजक वेस्ट इन्डिजलाई पनि घरेलु मैदानमा खेल्ने र टी–२० का विशेषज्ञ खेलाडीहरूको भरिभराउ टिम भएकाले पनि उपाधि दाबेदार मानिएको छ । यद्यपि न्युजिल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र श्रीलङ्का जस्ता टिमलाई पनि बेवास्ता गर्न सकिँदैन । भारतलाई विश्वकप जित्ने प्रमुख दाबेदार हो भन्दा फरक पर्दैन । सन् २००७ मा पहिलो संस्करण जित्ने टिम हो, भारत । भारतले त्यसपछि भने सोही गौरव हासिल गर्न सकेको छैन । यद्यपि भारतलाई टी–२० वरीयतामा शीर्ष स्थान प्राप्त छ । त्यसैले पनि भारतमाथि बाजी लगाउने धेरै छन् । रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टिममा अनुभव र प्रतिभाशाली युवा खेलाडीको सम्मिश्रण छ । रोहितसँगै विराट कोहली, हार्दिक पाण्ड्या र जस्प्रित बुमराह विश्व क्रिकेटका ठुला नाम हुन् । यद्यपि कप्तान रोहित र उपकप्तान हार्दिकको आइपिएलमा खराब प्रदर्शनले भारतीय टिम अलि सशङ्कित छ । सन् २०१३ मा इङ्ग्ल्यान्डमा च्याम्पियन्स ट्रफी जितेपछि भारतले प्रमुख नकआउट प्रतियोगिता जित्न सकेको छैन । 

इङ्ग्ल्यान्डलाई क्रिकेटमा परम्परावादी भन्ने गरिन्छ तर क्रिकेटको निरन्तर बदलिँदो स्वरूपको धेरै श्रेय इङ्ग्ल्यान्डलाई नै जान्छ । एकदिवसीय क्रिकेटको सुरुवात इङ्ग्ल्यान्डबाटै भएको हो । टी–२० क्रिकेट पनि इङ्ग्ल्यान्डबाटै भएको हो । सन् २०१० मा पहिलो पटक विश्वकप टी–२० जितेको इङ्ग्ल्यान्ड यस पालि पनि उपाधि रक्षा अभियानमा रहने छ । जस बटलर, विल जेक्स, फिल साल्ट, जोनी बेरिस्टो, हेरी ब्रुक, लियाम लिभिङ्स्टन र साम करणको उपस्थितिमा इङ्ग्ल्यान्डको ब्याटिङ सशक्त छ । तेज बलर जोफ्रा आर्चरको टिममा पुनरागमन अङ्ग्रेजी टिमका लागि बोनस नै हो यद्यपि आर्चरको फिटनेसलाई लिएर भने शङ्काउपशङ्का  छन् । 

गत वर्ष इङ्ग्ल्यान्ड एकदिवसीय विश्वकपको उपाधि रक्षा अभियानमा नराम्ररी असफल भएको थियो । इङ्ग्ल्यान्डलाई टी–२० विश्वकपको उपाधि रक्षा अभियानमा त्यसरी नै चिप्लिने त होइन भन्ने डर पनि छ । इङ्ग्ल्यान्डको अहिलेको पहिचान निडर भएर क्रिकेट खेल्ने टिमका रूपमा रहेको छ; जुन टी–२० मा सबभन्दा चाहिने गुण हो । 

अस्ट्रेलिया एकदिवसीय क्रिकेटको बादशाह टिम हो । अस्ट्रेलियाले एकदिवसीय विश्वकप मात्र छ पटक जितिसकेको छ । यद्यपि क्रिकेटको यो नयाँ संरचनाको विश्वकप भने अस्ट्रेलियाले एक पटक मात्र जितेको छ । अहिले पनि एकदिवसीय विश्वकप र आइसिसी विश्व टेस्ट विजेता अस्ट्रेलिया सन्तुलित टिम हो । यस विश्वकपमा मिचेल मार्स, प्याट कमिन्स, जोस हेजलउड, ट्रेभिस हेड, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, डेभिड वार्नर, एडम जाम्पा जस्ता अनुभवी खेलाडी अस्ट्रेलियाको ताकत हुने छ । 

आयोजक वेस्ट इन्डिज तेस्रो पटक विश्वकप 

टी–२० जित्ने पहिलो टिम बन्ने धुनमा घरेलु मैदानमा खेल्ने छ । क्रिकेटका अन्य संरचनामा खस्कँदै गए पनि वेस्ट इन्डिज टी–२० संरचनामा निकै सशक्त टिम हो । वेस्ट इन्डिजका प्रायः सबै खेलाडी आइपिएल र बिग ब्यास जस्ता टी–२० प्रतियोगितामा छाएकै कारण पनि वेस्ट इन्डिज हेर्नलायक टिम हो । अझ घरेलु मैदान, अनुकूल हावापानी र समर्थकको ऊर्जाले वेस्ट इन्डिजलाई हराउन अन्य टिमलाई कठिन हुने छ । इतिहास पल्टाउने हो भने अहिलेसम्म कुनै टिमले आफ्नो जमिनमा विश्वकप नजितेको तीतो तथ्य पनि छ । वेस्ट इन्डिजले यसपालि सो इतिहास बदल्न सक्छ ।

यसै गरी न्युजिल्यान्ड सधैँ विश्वकप जस्ता प्रतियोगितामा राम्रो गर्ने टिम हो । यसपालि पनि न्युजिल्यान्डको टिम सन्तुलित छ । एडेन माक्रमको नेतृत्वमा खेल्ने दक्षिण अफ्रिका पनि जुनसुकै टिमलाई हराउने क्षमता भएको टिम हो । त्यसैले दक्षिण अफ्रिकालाई पनि बेवास्ता गर्न मिल्दैन तर ठुला प्रतियोगितामा राम्रो गर्न नसकेकाले दक्षिण अफ्रिकालाई चोकर्सको उपनाम दिइएको छ । पाकिस्तान जहिले पनि विश्वकप दाबेदारका रूपमा रहेको हुन्छ । पाकिस्तानले एक पटक टी–२० विश्वकप पनि जितिसकेको छ । पाकिस्तानी टिममा प्रतिभाशाली क्रिकेट खेलाडीको कमी कहिल्यै खट्किन्न । पाकिस्तानले पछिल्लो संस्करणमा फाइनल खेलेको थियो । यसैलै पाकिस्तानलाई पनि उपाधि दाबेदारको होडबाट बाहिर राख्न सकिँदैन । 

एसियाका अन्य तीन टिम श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानलाई अन्डरडग टिमको रूपमा लिइएको छ । अन्य १० एसोसिएट टिम एक दुई खेल जितेर प्रतियोगितामा केही उलटफेर गर्ने प्रयासमा हुने छन् ।