• १२ साउन २०८१, शनिबार

अन्तर्राष्ट्रिय बजार मूल्य घट्दा मलको बजेटमा कटौती

blog

काठमाडौँ, जेठ १८ गते । सरकारले रासायनिक मलको बजेटमा कटौती गरेको छ । चालु आर्थिक वर्षका लागि ३० अर्ब विनियोजन गरेको बजेट आगामी आवका लागि २७ अर्ब ९५ करोड रुपियाँ विनियोजन गरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा रासायिनक मलको मूल्य घटेका कारण बजेटमा कटौती गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

आगामी आवका लागि छ लाख मेट्रिक टन मल खरिद गर्ने लक्ष्य राखिएको छ । त्यो मल खरिद गर्न करिब २७ देखि २८ अर्ब रुपियाँ लाग्ने देखेर नै त्यति बजेट विनियोजन गरेको कृषि मन्त्रालयले जनाएको छ । 

कृषि सामग्री कम्पनी लिमिटेडका निर्देशक विष्णु पोखरेलले जति मल चाहिन्छ त्यति नै रकम माग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हिसाब गर्दा आगामी आवका लागि करिब छ लाख मेट्रिक टन मल खरिद गर्नुपर्ने हुन्छ, त्यसका लागि २७–२८ अर्ब भए पुग्छ । त्यही भएर कृषि मन्त्रालयले माग गरे अनुसार नै विनियोजन गरेको छ ।”

विगतका वर्षमा 

अन्तर्राष्ट्रिय बजारमा रासायिनक मलको मूल्य वृद्धि भएका कारण बढी रकम चाहिएको थियो, अहिले सो मूल्य घटेको उहाँले बताउनुभयो । गत वर्षहरूमा सातदेखि नौ सय डलरसम्म प्रतिमेट्रिक टन मल खरिद गरिएको थियो । त्यही भएर ३० अर्ब रुपियाँभन्दा बढी रकम पनि खर्च भएको थियो तर चालु आवदेखि अन्तराष्ट्रिय बजारको मूल्य घटेका कारण रकम कटौती गरिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । 

अहिले अन्तर्राष्ट्रिय बजारको मूल्य प्रतिमेट्रिक टन तीन सयदेखि पाँच सय डलर रहेको निर्देशक पोखरेलले बताउनुभयो । यो मूल्य यस्तै रहन्छ भन्ने निश्चित छैन, मूल्यवृद्धि हुँदा यहाँ पनि रकम थप्नुपर्ने हुन्छ । चालु आवको बजार मूल्यको अनुमान गरेर आगामी आवको बजेट सुनिश्चित गरेको बताउनुभयो । 

चालु आवका लागि ३० अर्ब रुपियाँ बजेट सुनिश्चित गरिएको थियो तर २६–२७ अर्ब रुपियाँ मात्र खर्च भएको छ । सो रकमले साढे पाँच लाख मेट्रिक टन मल खरिद भइसकेको छ । 

चालु आवका लागि पनि छ लाख मेट्रिक टन मल खरिद गर्ने लक्ष्य लिएको छ । आवको अन्तिमसम्म साढे पाँच लाख मेट्रिक टनसम्म मात्र आयात गर्न सकिने अवस्था रहेको निर्देशक पोखरेलले बताउनुभयो ।