• १२ साउन २०८१, शनिबार

पाँच महिला उद्यमी पुरस्कृत

blog

काठमाडौँ, जेठ १७ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँच जना उद्यमी महिलालाई ‘राष्ट्रपति महिला समुन्नति महिला उद्यमी पुरस्कार’ प्रदान गरेको छ । छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा मन्त्रालयले बुधबार राजधानीमा आयोजित कार्यक्रममा महिला उद्यमीलाई नगदसहित पुरस्कार प्रदान गरिएको हो । 

सो अवसरमा मन्त्री चौधरीले कोशी प्रदेशकी ढाका व्यवसायी निर्मला चौहान, मधेश प्रदेशकी कपास उद्योगी बबिताकुमारी तेली, बागमती प्रदेशकी मह व्यवसायी सरिता श्रेष्ठ भट्टराई, गण्डकी प्रदेशकी ब्युटिसियन व्यवसायी मीना गुरुङ र सुदूरपश्चिम प्रदेशकी व्यवसायी तारा देवललाई जनही एक/एक लाख रुपियाँसहित पुरस्कृत गरिएको हो । 

 मन्त्री चौधरीले ‘हाम्रो अभियान, आत्मनिर्भर छोरीको सम्मान’ भन्ने नारासहित आयोजित राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै समाजमा व्याप्त हिंसा न्यूनीकरणका लागि समेत उद्यमले सहयोग गर्ने विचार व्यक्त गर्नुभएको छ । उहाँले शिक्षा, रोजगार र उद्यमको माध्यमबाट महिला/किशोरीलाई आत्मनिर्भर जीवन दिन सके लैङ्गिक समानताको वातावरण बन्दै जाने बताउँदै ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याएको जानकारी दिनुभयो । 

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले उद्यमी महिलालाई सरकारले पुरस्कारस्वरूप रकमसहित सम्मान गर्दा अन्य महिलालाई पनि आर्थिक रूपमा आत्मनिर्भर हुन प्रेरित गर्ने बताउनुभयो । पुरस्कृत व्यक्तित्व मीना गुरुङले रोजगारीका रूपमा आफूले धेरै वर्षअगाडिदेखि गर्दै आएको कामबाट राष्ट्रियस्तरको पुरस्कार सम्मान पाउँदा निकै खुसी लागेको बताउनुभयो ।