काठमाडौँ, जेठ १५ गते । सरकारले प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री वर्षमान पुनले प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्रको रुपमा विकास गरिने बताउनुभएको हो ।
उहाँले यस अनुसार कोशीलाई उद्योग, मधेशलाई कृषि, बागमतीलाई सूचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडीबुटी र सुदूरपश्चिमलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने बताउनुभयो ।
मन्त्री पुनले स्थानीय पूर्वाधार विकास, सार्वजनिक, निजी साझेदारीमा बृहत स्तरका कृषि फर्म सञ्चालन, एक गाउँ एक उत्पादन, पर्यटनलगायतका कार्यक्रमबाट स्थानीय स्तरमा आय–आर्जन वृद्धि गर्ने कार्यलाई तीव्रता दिइने बताउनुभयो ।
त्यस्तै स्थानीय तहलाई उत्पादन तथा रोजगारी केन्द्रको रुपमा विकास गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।