• १३ साउन २०८१, आइतबार

मुक्त हलियाको सवालमा सार्वजनिक सुनुवाइ

blog

प्रकाशविक्रम शाह
धनगढी, जेठ १५ गते ।
 सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले मुक्त हलियाको उचित पुनः स्थापनाका लागि प्रदेश सभाको चालू अधिवेशनबाट ऐन पारित गर्ने तथा रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका सवालमा ठोस नीति र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेश सभा सचिवालय, सञ्चार प्रतिष्ठान नेपाल, कैलाली युएनडिपीको संसद् सहयोग परियोजना र नेपाल एफएमद्वारा सोमबार कञ्चनपुरमा आयोजित सार्वजनिक सुनुवाइमा प्रदेश सभा सदस्यहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सो अवसरमा मुक्त हलियाहरुले रोजगारी, शिक्षा, स्वास्थ्य, सुरक्षा लगायतका विषयमा प्रदेश सभा र सरकारबाट ठोस नीति र कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।

सहभागीहरूले उठाएका सवालको सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य मानबहादुर रावलले अहिलेसम्म मुक्त हालियासम्बन्धी समस्याबारे प्रदेश सभामा धेरै चर्चा नभएको स्वीकार गर्दै अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा मुक्त हलियाको सवाललाई गम्भीरताका साथ उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) का प्रदेश सभा सदस्य प्रकाशबहादुर रावलले प्रदेश सरकारले मुक्त हलियाको बसोबास तथा सीपमूलक तालिम आदि कार्यका लागि विगतमा बजेट विनियोजन गरेको भए पनि कार्यान्वयनमा कमजोरी रहेको बताउनुभयो ।

नेकपा (एमाले) का प्रदेश सभा सदस्य हिरासिंह सार्कीले २०७९/०८० को नीति र कार्यक्रममा नै मुक्त हलियाको सवाल समावेश गरिएको र आगामी दिनमा ठोस नीति र कार्यक्रम ल्याउन पहल गर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य लक्ष्मी विकले मुक्त हालियासम्बन्धी कार्यविधि बने पनि सरकार र प्रदेश सभाले धेरै काम गर्न नपाएको बताउनुभयो ।

कार्यक्रममा मुक्त हलिया समाज महासङ्घ, नेपालका अध्यक्ष ईश्वर सुनार, कञ्चनपुर अध्यक्ष सिवि लोहार, संस्थाका कार्यकारी निर्देशक हरिसिंह बोहरा, मुक्त हलियाहरुले सवाल उठान गर्नु भएको थियो ।