काठमाडौँ, जेठ १५ गते । आदिवासी चलचित्र महोत्सवमा प्रदर्शनी गरिने चलचित्रको सूची सार्वजनिक गरिएको छ । काठमाडौँमा जेठ २३ गतेदेखि सञ्चालन हुने महोत्सवमा सहभागी चलचित्रलाई विभिन्न आठ विधामा पुरस्कृत गरिने छ । प्रदर्शनीको तयारीबारे जानकारी दिन सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । तीनदिने सो महोत्सवको उद्घाटनमा १२ फिल्म प्रदर्शन गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उत्कृष्ट फिचर फिल्मलाई २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार र उत्कृष्ट छोटो फिल्मलाई १० हजार रुपियाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ । पब्लिक च्वाइस अवार्डका रूपमा ३५ हजार रुपियाँ दिइने भएको छ ।
महोत्सवमा लिम्बू भाषाको फिल्म ‘सुगुप’, तामाङ भाषाको ‘दार्वुङ’, गुरुङ भाषाको ‘मार्कली’, मगर भाषाको ‘रोस’, थारू भाषाको ‘जितिया २’, राजवंशी भाषाको ‘मोख’, भुजेलको ‘जन्मदेखि मृत्युसंस्कार’, प्रतिष्ठानका चार फिल्म र नर्वेको फिल्म ‘इन्डिजिनियस पुलिस’ प्रदर्शन गरिने भएको छ । आदिवासी मौलिक खानाको स्टल, आदिवासी वेशभूषा, फोटो प्रदर्शनी, आदिवासी र्याम्प वाक, विभिन्न जातिको झाँकीका साथमा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने जनाइएको छ । यसअघि कोरोना महामारीले प्रभावित भएको फेस्टिभललाई यस पटकदेखि निरन्तरता दिइने जनाइएको छ ।