• ४ असार २०८१, मङ्गलबार

एमाले धनकुटामा शिव आङ्लाको प्यानल विजयी

blog

नेकपा (एमाले) धनकुटाको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा विजयी शिव आङ्लासहितका नेता । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे
हिले, जेठ १४ गते ।
नेकपा (एमाले) धनकुटाको आठौँ जिल्ला अधिवेशनबाट शिव आङ्ला अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्षमा आङ्ला तीन सय १४ मतका साथ विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी तामाङले दुई सय ७ मत ल्याउनुभयो ।

निवर्तमान उपसचिव रहेका आङ्ला र निवर्तमान सचिवालय सदस्य तामाङबिच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो । दुवैजना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ अध्यक्षसहित सम्पूर्ण पदाधिकारीमा आङ्लाको प्यानल नै निर्वाचित भएको छ । उपाध्यक्षमा दुई सय ९४ मतका साथ चिन्तन तामाङ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी मनोज राईले दुई सय नौ मत ल्याउनुभएको छ ।

सचिवमा दुई सय ९६ मतका साथ पर्शुराम नेपाल विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी शेरबहादुर लिम्बूले एक सय ९६ मत पाउनुभयो । उपसचिवमा नैन विश्वकर्मा दुई सय ९३ मतका साथ विजयी हुनुभएको छ भने प्रतिस्पर्धी डा. गोपाल भट्टराईले एक सय ८७ मत ल्याउनुभयो । महिला उपसचिवमा तुलसी राईले दुई सय ६५ मतका साथ विजयी हुँदा प्रतिस्पर्धी मनकुमारी तितुङ (तारा) ले दुई सय २६ मत ल्याउनुभयो ।

नेकपा (एमाले) धनकुटाको जिल्ला कमिटीको पाँचजना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । जसमा उपसचिवमा उमेद्वारी दिएका केशरमान तुम्साले उमेद्वारी फिर्ता लिनुभएको थियो । लेखा समितिका सात जनासहित ६१ जना सदस्य सर्वसम्मत चयन भएका थिए ।

पदाधिकारी र ३० जना सदस्यका लागि मतदान भएको हो । ३० सदस्यका लागि ५७ जनाको उमेदवारी परेको थियो । जेठ १२ गते शनिबारबाट सुरु भएको एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि १३ गते बेलुका ७ देखि ११ बजेसम्म मतदान भएको थियो । एमाले धनकुटाको अधिवेशनमा पाँच सय ४४ जना मतदाता रहेकोमा पाँच सय ३७ मत खसेको थियो । अधिवेशनबाट जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा र अपाङ्ग, मजदुर, पेशागत, दलित तथा अल्पसङ्ख्यक गरी १० प्रतिशत अनिवार्य सहभागी भएको एमाले धनकुटाले जनाएको छ ।