• ३ असार २०८१, सोमबार

महिला भेलाको तयारी, पूर्व राष्ट्रपतिले उद्घाटन गर्नुहुने

blog

भेला तयारी पूरा भएकोबारे जानकारी गराउनुहुँदै एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १४ गते । नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रको आयोजनामा जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको छ । सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुनेछ ।  

एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता एमालेका अध्यक्ष केपी शर्मा ओली रहनुहुने जानकारी दिनुभयो । 

२०६३ जेठ १६ गते एमालेका तत्कालीन उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) का तत्कालीन अध्यक्ष विद्यादेवी भण्डारीको नेतृत्वमा तत्कालीन पुनर्स्थापित प्रतिनिधि सभाले आमाको नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसद्को सङ्कल्प प्रस्तावको रूपमा पास गरेको थियो । संसद्को यही सङ्कल्पले २०७२ को संविधानमा महिला अधिकारका विषयलाई मौलिक हकमा उल्लेख गर्ने आधार प्रदान गरेको थियो । 

नेपाल सरकारले जेठ १६ लाई राष्ट्रिय महिला अधिकार दिवस घोषणा गरी मनाउँदै आइरहेको छ । ‘हामीले पनि यो राष्ट्रिय भेला यही ऐतिहासिक दिनको सन्दर्भमा आयोजना गरेका छौँ’ पत्रकार सम्मेलनमा ढकालले भन्नुभयो,  ‘यो भेलामा महिला आन्दोलनको इतिहासको सम्झना गर्दै अहिलेसम्मका उपलब्धिहरूको चर्चा गरिने छ, चुनौतीका विषयमा छलफल गरिने छ र महिला आन्दोलनका अबका एजेण्डालाई सूत्रबद्ध गर्दै आगामी कार्यभार तय गरिने छ ।’

उहाँका अनुसार, उद्घाटन कार्यक्रम जेठ १६ गते १ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ । कार्यक्रममा करिब पाँच हजार महिलाको सहभागितामा हुने आयोजकको भनाइ छ । भेलाको दोस्रो दिन १७ गतेको  कार्यक्रम तोकिएका प्रतिनिधि बिचमा कार्की बैंक्वेट, बबरमहलमा सम्पन्न हुनेछ । 

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, एमाले आबद्ध २३ वटै जनसङ्गठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधिका रूपमा सहभागी हुने एमाले केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्त्वपूर्ण विषयमा समूह छलफल हुनेछ । समूह प्रस्तुतिपछि भेलाका निष्कर्ष सार्वजनिक गरिने छ । समापन कार्यक्रममा  एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्नुहुनेछ ।

भेलाको व्यवस्थापनका लागि अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी १ सय ५० महिला स्वयंसेवक परिचालन कमिटी निर्माण गरिएको आयोजकको भनाइ छ ।