शिक्षाको माध्यमले नै मानिसलाई सभ्य, सुयोग्य र सक्षम बनाउँछ । शिक्षा पाएका बालबालिका नै सभ्य समाज निर्माणमा अग्रसर हुन्छन् । असल परिवार र असल गुरुबाट शिक्षा प्राप्त गरेका बालबालिकामा अनुकरणीय गुणको विकास हुन्छ । यही गुणले बालबालिकाको बोलीचाली, लवाइखवाइमा सकारात्मक स्वभाव देखा पर्छ । समुदायसँगको व्यवहारमा पनि असल आचरण देखिन्छ । धर्म, संस्कृति र संस्कार कुल र वंशबाट आउँछन् भने सिप र दक्षता जस्ता विषय सिकाइ र अभ्यासबाट प्राप्त हुन्छन् ।
विद्यालयको एउटै कक्षामा अध्ययन गर्ने बालबालिका पनि विभिन्न जात, वंश, कुल, धर्म, संस्कृति, संस्कारबाट आएका हुन्छन् । बालबालिकामा भएका असल गुण अर्कोमा स्थानान्तरण हुन कठिन हुन्छ तर खराब बानी छिटोभन्दा छिटो स्थानान्तरण हुन्छ । त्यसैले बालबालिकामा असभ्य र खराब बानी व्यवहार देखापरेमा यथासक्य छिटो परामर्शद्वारा नियन्त्रण गर्नु पर्छ ।
शिशुको जन्म हुँदा परिवारमा निकै ठुलो खुसियाली छाउँछ । शिशुका मातापिताले भविष्यका लागि विभिन्न योजना बनाउँछन् तर शिशुलाई घरमा र विद्यालयमा दिइने शिक्षाबारे चिन्तन गरिएको पाइँदैन । शिशु हिँड्न, बोल्न सक्ने हुँदा, रङ्गीन, आकर्षक चित्र र ठुला अक्षर भएका पुस्तक, चार्ट, चित्र हेर्न र पढ्न चाहन्छ तर शिशुको मनोभावना बुझ्ने अभिभावक ज्यादै न्यून हुन्छन् । शिशुलाई घरको बैठक कोठामा वा पुस्तकालयमा बालकले मन पराउने पुस्तक सजिलैसँग उपलब्ध हुनु पर्छ । शिशुलाई कोठामा भुल्न र खेल्न जताततै पुस्तकै पुस्तक राखिदिनु पर्छ । बैठक कोठा शिशुले अध्ययन गर्ने कोठा जस्तो हुनु पर्छ । शिशुले मनपराउने नेपाली, अङ्ग्रेजी र गणितका ठुला अक्षरका पुस्तक हुनु पर्छ । अध्ययन गर्ने वातावरण घरमै तयार भएमा अभिभावकका पूर्वयोजनामा सघाउँछ । अन्यथा शिशुका लागि गरिएका योजना योजनामै सीमित रहन सक्छ ।
समुदायका लागि पनि शिशु नयाँ सदस्य हो । शिशु भविष्यमा समुदाय र राज्यको नेतृत्व गर्ने अगुवा हुन सक्छ । सभ्य र शिक्षित समुदाय पाएमा शिशुले असल आचरण सिक्छ तर खराब वातावरण पाएमा उसको आचरण र बानी व्यवहार पनि त्यही किसिमको हुन्छ । भनिन्छ– जस्तो सङ्गत ग¥यो, त्यस्तै बानी र व्यवहार हुन्छ । त्यसैले शिशुको भविष्य कस्तो बनाउने भन्ने कुरो उसको सङ्गत र वातावरणले निर्धारण गर्छ । शिशुको भविष्य र असल आचरण निर्माणमा उसको सङ्गतले पनि प्रभाव पारेको हुन्छ । त्यसैले अभिभावक र शिक्षकले हरेक छात्रछात्राको निगरानी गर्नु पर्छ । एक जना खराब आचरणको बालकले छोटो समयमा नै धेरै जना बालबालिकालाई यस्तो बानी सिकाउन सक्छ ।
हरेक समुदायमा विद्वान् तथा अग्रज व्यक्तित्व हुन्छन् । बालबालिकाको भविष्य उज्ज्वल बनाउन अग्रजको प्रेरणा महìवपूर्ण हुन्छ । बालबालिकाले सफल व्यक्तित्वको जीवनी अध्ययन गर्दा उनीहरूलाई प्रेरणा प्राप्त हुन्छ । विश्वका चर्चित व्यक्तित्व, शिक्षाविद्, दार्शनिक, आविष्कारक कसरी बन्न सकिन्छ भनेर यस्ता व्यक्तित्वको जीवनी अध्ययन गर्न, उनीहरूको बारेमा जानकारी गराउन वातावरण तयार गर्नु पर्छ । शिक्षाविद्, दार्शनिक, साहित्यकार र आविष्कारकको सङ्घर्षमय जीवनीको अध्ययनबाट प्राप्त प्रेरणाले बालकलाई मार्ग निर्देशन प्राप्त हुन्छ । विश्व प्रसिद्ध व्यक्तित्वहरूको जीवनी अध्ययन गर्ने बानी विकास भएमा बालबालिकाले त्यागी र सङ्घर्षशील व्यक्तित्व निर्माण गर्न सक्छन् ।
शिक्षाका योजना बनाउने योजनाकारले विद्यालयमा अध्ययन गर्ने कलिला बालबालिकाको फोटो सामुन्ने राखी योजना निर्माण गर्नु पर्छ । आजका बालबालिका भोलिका योग्य र दक्ष जनशक्ति हुन् । आजका बालबालिकालाई भविष्यमा प्रतिस्पर्धा गर्न सक्ने योग्य जनशक्ति बनाउने विषयमा राज्यको प्रमुख भूमिका हुन्छ । देशको आवश्यकता बुझेर त्यही किसिमको जनशक्ति उत्पादन गर्न सरकारले त्यही किसिमको पूर्वाधार तथा नीति तयार गर्नु पर्छ ।
शिक्षण संस्थाले विभिन्न क्षेत्रमा दक्ष, विज्ञ र विद्वान् जनशक्ति उत्पादन तयार गर्न सक्छन् । कुशल नेतृत्व गर्ने नेता र प्रशासक आदि बन्छन् । त्यसैले हरेक क्षेत्रको विकास गर्न सर्वप्रथम गुणस्तर शिक्षाको विकास हुनु पर्छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा नीतिमा भोलिको जनशक्ति कस्तो चाहिन्छ भनेर त्यही अनुसारको नीति तयार गर्नु पर्छ । शिक्षण संस्थामा राजनीतिको रङ पोतिनु हुँदैन । यसको नेतृत्व गर्ने व्यक्ति क्षमताको आधारमा नियुक्त गरिनु पर्छ । नत्र विद्यालयदेखि विश्वविद्यालयसम्मको गुणस्तरमा नकारात्मक प्रभाव पर्छ ।
विद्यालय समुदायको आवश्यकता परिपूर्ति गर्न निर्माण भएको हुन्छ । बालबालिकालाई समुदायको सुन्दर र असल गहना बनाउने हेतुले शिक्षा प्रदान गरिएको हुन्छ । साधारण परिवारका बालबालिकाले पनि शिक्षा प्राप्त गर्न सकून् भन्ने हेतुले प्रत्येक समुदायमा विद्यालय स्थापना गरिएको हुन्छ । असल, क्षमतावान् शिक्षकद्वारा शिक्षण सिकाइ भएको अवस्थामा असल, क्षमतावान् र योग्य नागरिक उत्पादन हुन्छन् । त्यसैले समुदायमा असल, सक्षम, कुशल जनशक्ति उत्पादन गर्ने शिक्षण संस्थाको संरक्षण सबै मिलेर गर्नु पर्छ । शिक्षण संस्थाले असल नतिजा दिन सकेकोे अवस्थामा त्यो समुदायको विकासमा पनि ठुलो योगदान पुग्छ ।
शिशुको पहिलो पाठशाला घर र समुदाय भने जस्तै दोस्रो पाठशाला विद्यालय हो । बालबालिका शिशु कक्षामा रमाए भने विद्यालय जान रुचाउँछन् । अनि विद्यालयमा रमाए भने नयाँ नयाँ कुरा सिक्न र सिर्जनशील हुन अग्रसर हुन्छन् । त्यसैले पढाउने र सिकाउने कार्यमा बालबालिकालाई कोठामा थुनेर मानसिक दबाब पर्ने खालका व्रिmयाकलाप गर्नु हुँदैन । नत्र सकारात्मक नतिजा प्राप्त गर्न सकिँदैन । शिशु कक्षामा शिक्षण गर्ने कतिपय शिक्षकले तालिम लिने अवसर पनि पाएका छैनन् । तालिम लिने अवसर पाएका कतिपयले बालबालिकाको मनोभावना र स्वभावलाई बुझेर शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाएको पाइँदैन । शिशुको पारिवारिक अवस्था र उसका बानी, व्यवहारलाई बुझेर शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउनु पर्छ । नत्र विद्यार्थीले बिचमै विद्यालय छाड्न पनि सक्छन् । त्यसका लागि शिक्षक र अभिभावक संवेदनशील हुनु पर्छ ।
गुणस्तरीय शिक्षाका लागि यस्ता उपाय अपनाउन सकिन्छ– विद्यालयमा शिक्षण गर्ने प्रत्येक तहका शिक्षकलाई नयाँ पाठ्यक्रम अनुसारको पुनर्ताजगी तालिम दिनु पर्छ । आधारभूत र माध्यमिक तहमा शिक्षण गर्ने शिक्षकलाई प्रत्येक विषयमा विषयगत समूह निर्माण गरी पाठ्यक्रम र पाठ्यपुस्तकबिचको सम्बन्धमा विस्तृत अध्ययन गरी शिक्षण सिकाइमा देखिएका समस्यामा विज्ञ समूहबिच छलफल गरी समाधान खोज्नु पर्छ ।
आधारभूत तहमा लागु भएको स्थानीय पाठ्यक्रममा र पाठ्यपुस्तकमा समावेश भएका विषय शिक्षण गर्न अपनाउनु पर्ने रणनीतिका विषयमा विज्ञ समूहका बिचमा व्यापक छलफल गरी शिक्षण रणनीति र मूल्याङ्कन गर्ने प्रक्रिया तयार गर्नु पर्छ । माध्यमिक तहका विद्यार्थीलाई सभ्य र सुसंस्कृत बानीको विकासका लागि विद्यार्थीलाई कक्षा शिक्षक, प्रधानाध्यापक र विज्ञ समूहद्वारा समय समयमा परामर्शको व्यवस्था मिलाउनु पर्छ । विद्यार्थीलाई सिकाइमा सक्रिय र अग्रसर गराउन शिक्षकद्वारा कक्षाकार्य र परियोजना कार्यमा निरन्तर दिन जोड दिने र उक्त कार्यलाई नै विद्यार्थी मूल्याङ्कनको एउटा आधार बनाउनु पर्छ । शिक्षकको अनुपस्थतिमा वा अन्य कुनै कारणबाट कक्षामा शिक्षक नभएको बेला पुस्कालयमा बसेर लेख्ने, पढ्ने बानीको विकास विद्यार्थीमा गराउनु पर्छ । प्रत्येक तहका शिक्षकलाई विद्यार्थीको अभिलेख राखी मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्नु पर्छ । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबिचमा विद्यार्थीको सिकाइ उपलब्धिको विषयमा समय समयमा छलफल गरी समस्या भएमा समाधान खोज्नु पर्छ ।