माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा प्रकाशित भएको छ । विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय, लगानीकर्ता र सरकारी संस्थाबाट सबैभन्दा जोड दिएर प्रचारप्रसार गरिएको विषय भनेको आफ्नो वा आफू सम्बद्ध शैक्षिक संस्थामा कति सङ्ख्यामा विद्यार्थी उत्तीर्ण भए र ककसले ३.६ देखि माथि चार जिपिएसम्म प्राप्त गरे भन्ने हो । कुनै कानुन र नियमले नचिनेको भए पनि ग्रेडको उक्त वर्गान्तरलाई ‘ए प्लस’ भनेर प्रचार गर्न शिक्षक, अभिभावक र विद्यार्थीले छाडेका छैनन् । (यो आलेखमा भने यस वर्गान्तरलाई उच्च जिपिए भनिएको छ) । कतिपय विद्यार्थीले छ वटा विषयमा राम्रो ग्रेड प्राप्त गरेर पनि एउटा विषयमा कमजोर नतिजा आएका कारण समग्रमा ३.६ भन्दा मुनिको जिपिए प्राप्त गरेको वा अवर्गीकृत समूहमा समेत परेका छन् (यस लेखमा त्यस्तो ग्रेडलाई मध्यम ग्रेड भनिएको छ) । त्यस्ता विद्यार्थी भने उच्च जिपिएको ठेलमठेलमा पर्दा पछाडि परेका छन् । सङ्ख्यात्मक रूपमा बहुमतमा रहे पनि यस वर्गका विद्यार्थीको नतिजाप्रति सहानुभूति दिन अभिभावकदेखि राज्यसम्म कोही पनि तयार छैन । उच्च ग्रेड प्राप्त गर्नु सकारात्मक पक्ष हो तर सबै विद्यार्थीले चार जिपिए नै प्राप्त गर्न सम्भव छ कि छैन भन्ने प्रश्न विचारणीय छ । अर्कोतर्फबाट हेर्दा सबै विद्यार्थीले चार जिपिए प्राप्त गर्नु राज्यको लक्ष्य हो ? वा त्यो राज्यका लागि आवश्यक हो ? भन्ने जस्ता प्रश्न गम्भीर रूपमा प्रकट हुन सक्छन् । सबै विद्यार्थीले चार जिपिए ल्याउनु राज्यको लक्ष्य होइन भने चार जिपिए ल्याउने विद्यार्थीको अस्वाभाविक प्रचारप्रसार गरिनु उपयुक्त देखिँदैन ।
सम्भव छ ?
शिक्षण र परीक्षणलाई शिक्षा प्रणालीका दुई वटा महत्वपूर्ण आयामका रूपमा लिने गरिन्छ । शिक्षण पद्धतिले सबै बालबालिकाले आफ्नो क्षमता अनुसार फरक फरक तरिकाबाट सिक्न सक्ने कुराको मान्यता राख्छ । शिक्षणशास्त्रीय मान्यता अनुसार सही विधिद्वारा शिक्षण गर्ने हो भने सबै बौद्धिकस्तरका बालबालिकाले सिक्न सक्छन् । परीक्षण प्रणालीले भने सबै विद्यार्थीले परीक्षामा समान अङ्क वा ग्रेड ल्याउन सक्दैनन् भन्ने दृष्टिकोण राख्छ । परीक्षण साहित्यमा असल परीक्षा त्यसलाई मानिन्छ जसले जान्ने र नजान्ने विद्यार्थीका बिचमा विभेदीकरण गर्न सक्छ । त्यसैले परीक्षा स्तरीय र गुणात्मक हुने हो भने यसले विद्यार्थीको प्राप्ताङ्कमा भिन्नता कायम गर्छ । शिक्षण र परीक्षणको फरक मान्यताका कारण एउटा स्वाभाविक प्रश्न पैदा हुन्छ । सबै बालबालिकाले विषयवस्तु सिक्न सक्छन् भने सबै बालबालिकाको प्राप्ताङ्क/ग्रेड समान हुन नहुनुको कारण के होला ? यस प्रश्नको जवाफ दिन के गरिएको छ भने शिक्षा पद्धतिले सबै बालबालिकालाई सिक्ने अवसर प्रदान गर्नु पर्छ जुन बालबालिकाको स्वाभाविक अधिकार पनि हो । केही बालबालिकाले सिक्ने अवसरलाई सदुपयोग पूर्ण रूपमा गरेनन् भने त्यसको परिणाम उनीहरूले बेहोर्नु पर्छ । त्यस्तो परिणाम भनेको अङ्क वा ग्रेडमा हुने कम वा बेसी हो । सबै विद्यार्थीले चार वा उच्च जिपिए नै प्राप्त गर्नु पर्छ वा प्रदान गरिनु पर्छ भन्ने चाहिँ उनीहरूको अधिकार होइन बरु यो उनीहरूको क्षमताको प्रश्न हो । अर्को पाटोबाट हेर्ने हो भने परीक्षामा विद्यार्थीले प्राप्त गरेको अङ्क भनेको विद्यार्थीले सिक्ने अवसर कति मात्रामा तथा कुन रूपमा प्राप्त गर्यो र त्यस अवसरलाई उसले कुन हदसम्म सदुपयोग गर्यो भनेर अनुमान लगाउने प्रणाली हो । आम बुझाइमा भए जस्तो चार जिपिए ल्याउने विद्यार्थी सर्वज्ञ हुने र अवर्गीकृत हुने विद्यार्थी बुद्धुकै वर्गमा गनिने कुरामा कुनै सत्यता छैन ।
चार जिपिए ल्याउने व्यक्तिलाई स्वर्ण पदक विजेताकै रूपमा समेत चित्रित गरिएको प्रतीत हुन्छ । यसलाई सही नै मान्ने हो भने पनि सबै विद्यार्थीले स्वर्ण पदक नै जित्ने हो भने त्यो स्वर्ण पदकको के महत्व रहन्छ र ? सबै विद्यार्थीले उच्च ग्रेड प्राप्त गर्ने हो भने त्यस्तो ग्रेडको ओज नै के हुन्छ र ? यस्तो अवस्थामा ग्रेड स्फीति हुन जान्छ । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी जस्ता देशमा ग्रेड स्फीतिलाई लिएर शैक्षिक क्षेत्रमा विवादसमेत हुने गरेको छ । नेपालको सन्दर्भमा मनन गर्दा पनि सबै विद्यार्थीले चार जिपिए नै ल्याउन व्यावहारिक रूपमा सम्भव देखिँदैन, न त यो नेपालका लागि आवश्यक नै हो । बरु आवश्यकता चाहिँ सबै विद्यार्थीले न्यूनतम सक्षमता वा ग्रेड हासिल गरून् भन्ने हो ।
चार जिपिए ल्याउनेको भविष्य
उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थीले वर्तमानमा पाएको उच्च चर्चा, बधाई र स्याबासी उनीहरूका लागि भविष्यको चुनौती पनि हुन सक्छ । मानौँ अहिले चार जिपिए प्राप्त गर्ने विद्यार्थी भविष्यको अध्ययनका क्रममा अनुत्तीर्ण हुने वा कमजोर ग्रेड प्राप्त गर्ने अवस्था आएमा त्यो वर्तमान नतिजाले जटिल प्रश्नको सामना गर्नु पर्छ । यस अवस्थाले विद्यार्थीमा मनोवैज्ञानिक समस्यासमेत सिर्जना गर्न सक्छ । अर्कोतर्फ मध्यमस्तरको ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई त्यस्तो दबाब कम पर्न सक्छ । कुनै विद्यार्थीले अहिले चार जिपिए प्राप्त गर्दैमा उसको भविष्यको व्यावसायिक जीवन पनि सफल हुने कुराको कुनै सुनिश्चित छैन । व्यावसायिक रूपमा सफल मानिएका व्यवस्थापक, इन्जिनियर, डाक्टर वा शिक्षक कसैको पनि ग्रेड हेरेर सेवाग्राहीले उनीहरूसँग सेवा लिँदैनन् । यस अवस्थामा उनीहरूको कार्यकुशलता सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसैले विद्यार्थीको जीवनमा पनि चार जिपिए प्राप्त गर्ने भन्दा व्यावहारिक ज्ञान र सिप हासिल गर्ने कुरा महत्वपूर्ण हुन्छ ।
योगदानको अपेक्षा
राज्यले शैक्षिक क्षेत्रमा गरेको वर्तमान लगानीले भविष्यमा प्रतिफल प्राप्त गर्नुपर्ने मान्यता हुन्छ । यस प्रकारको लागत प्रतिफलको मान्यतालाई अहिलेको बौद्धिक पलायनले चुनौती दिइरहेको छ । राज्यले लगानी गरेर निःशुल्क शिक्षा प्रदान गर्ने तर शिक्षा प्राप्त गरिसकेपछि नागरिक विदेशमा नै पलायन हुने हो भने राज्यको लगानी व्यर्थमा खेर जान्छ । विद्यार्थीले प्राप्त गरेको ग्रेडका आधारमा बिदेसिने विद्यार्थीको भरपर्दो तथ्याङ्क प्राप्त नभएको भए पनि के अनुमान गर्न सकिन्छ भने उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थीले विदेशी विश्वविद्यालय वा शिक्षालयमा समेत सहजै भर्ना पाउने भएको हुँदा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको बाहुल्यता पनि उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थीकै हुन्छ । उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थी दीर्घकालीन रूपमा नै बिदेसिने हो भने देशको सेवा गर्ने जनशक्ति भनेको मध्यमस्तरको ग्रेड पाउने विद्यार्थी नै हुने गर्छन् । यसर्थ हामीले उच्च ग्रेड पाउने विद्यार्थीलाई झैँ मध्यमस्तरको ग्रेड प्राप्त गर्ने र अहिले अवर्गीकृत भएका तर भविष्यमा वर्गीकृत हुने विद्यार्थीलाई समेत समान महत्व दिनु जरुरी छ किनभने भविष्यमा राज्यले उनीहरूबाट नै सेवा लिने छ ।
सबै विद्यार्थीले उच्च ग्रेड प्राप्त गर्न सकून् भन्ने शिक्षक, अभिभावक र राज्यको चाहना हो । यो चाहना पूर्ण रूपमा पूरा हुन सम्भव छैन । उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रचारले सबै विद्यार्थीलाई एउटा प्रेरणा प्रदान गर्न सक्छ । यस्तो प्रचारबाट सबै विद्यार्थी उच्च ग्रेड प्राप्त गर्ने दिशातर्फ अभिमुख हुन्छन् भन्ने अपेक्षा पनि गर्न सकिन्छ । यसरी गरिने प्रचारप्रसारले उच्च ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीमा, जो बहुसङ्ख्यकमा रहेका हुन्छन्, आफूप्रति हीन भावना पैदा हुन सक्छ । यस अवस्थाको समाधान भनेको उच्च ग्रेड र मध्यम ग्रेड प्राप्त गर्ने दुवै प्रकारका विद्यार्थीलाई समान महत्व दिनु हो ।
ग्रेडको जस र अपजस
उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थीका विषयमा कसले जस लिने भन्ने होडबाजी छरपस्टिएको पाउन सकिन्छ । शिक्षालयले ठुलठुला ब्यानर र फ्लायर बनाएर चार जिपिए प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिँदै आफ्नो विद्यालय अब्बल रहेको विज्ञापनसमेत गरेका छन् । कुनै विद्यालयमा ३.६ देखि चार जिपिए प्राप्त गरेका विद्यार्थी रहेका रहेछन् भने अन्य विद्यार्थीको नतिजा कमजोर नै भए पनि
उक्त विद्यालयले उच्च ग्रेडको नकाबले अन्य विद्यार्थी छोपेर आफू अब्बल रहेको दाबी गर्छ । अर्कोतर्फ अभिभावक र विद्यार्थीले उच्च ग्रेडको दाबी आफ्नो मेहनतका कारणले प्राप्त भएको भन्ने हुन्छ । सरकारले पनि आफूले अथक प्रयासका कारण नतिजामा सुधार ल्याएको दाबी गरेको छ । यसमा कसको दाबी बलियो भन्ने निष्कर्षमा पुग्नुअघि केही महत्वपूर्ण प्रश्नको जवाफ दिनु आवश्यक छ ।
मानौँ विद्यालयको मेहनतका कारणले कुनै विद्यार्थीले चार जिपिए प्राप्त गरेको हो भने किन बाँकी विद्यार्थीले उच्च ग्रेड प्राप्त गरेनन् ? सरकारको प्रयासले नतिजा सुधार भएको भए, किन सबै विद्यार्थी उत्तीर्ण भएनन् वा चार जिपिए प्राप्त गर्न सकेनन् ? यी प्रश्नको चित्त बुझ्दो जवाफ कोहीसँग छैन । बरु विद्यार्थीको दाबी सही यसर्थ हुन सक्छ कि उसले मेहनत गरेकाले राम्रो ग्रेड प्राप्त भयो । अनुत्तीर्ण हुने र कमजोर ग्रेड प्राप्त गर्ने विद्यार्थी र उनीहरूका अभिभावकले भने आफ्नो कमजोरी स्विकार्नेभन्दा विद्यालय र शिक्षकप्रति दोष देखाउने प्रचलनसमेत रहेको छ । राम्रो नतिजा प्राप्त त्यस अवस्थामा प्राप्त हुन्छ जहाँ विद्यालय/शिक्षक र विद्यार्थी/अभिभावकको राम्रो सहकार्य भएको हुन्छ । अन्यथा विद्यार्थीको नतिजा कमजोर हुने पक्का छ । यस अवस्थामा पनि सफलताको जस लिनेभन्दा असफलतालाई कामयाबी बनाउन अभिमुख हुनु आवश्यक छ ।
परीक्षामा सफलता प्राप्त भएको श्रेय लिन लाम लाग्नुभन्दा असफलता सुधार गर्नेतर्फ कार्योन्मुख हुन आवश्यक छ । यसले आगामी दिनमा दिगो र सकारात्मक नतिजा प्राप्त हुने छ । विद्यार्थीले चार जिपिए प्राप्त गर्नु ठुलो सफलता त हो तर यही नै साध्य होइन । मध्यमस्तरको ग्रेड भनेको प्रचार गर्न अयोग्य नै चिज पनि होइन । सबै विद्यार्थीका उपलब्धिलाई समान तवरबाट सम्मान र स्वीकार गर्नु विद्यालय, सरकार र अभिभावकको दायित्व हो । यो दायित्व हामीले कुशलतापूर्वक वहन गरेको खण्डमा नेपालको शैक्षिक भविष्य उज्ज्वल छ ।