• ४ असार २०८१, मङ्गलबार

दुध उत्पादन घट्यो

blog

काठमाडौँ, जेठ १४ गते । कृषिप्रधान देश नेपालमा पछिल्ला दिनमा दुध उत्पादन घटेको प्रतिवेदन सार्वजनिक भएको छ । 

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको प्रतिवेदनमा गत आव २०७९/८० को आठ महिनाको तुलनामा यो वर्ष दुध उत्पादन घटेको सार्वजनिक गरेको हो । 

सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको आठ महिनामा १७ लाख ४२ हजार ५६२ मेट्रिक टन दुध उत्पादन भएको छ । गत आवको सो अवधिमा भने १७ लाख ७० हजार ९२७ मेट्रिक टन उत्पादन भएको थियो । यो तथ्याङ्क हेर्दा गत वर्षभन्दा यो वर्ष दुध उत्पादन घट्ने अनुमान गर्न सकिन्छ । 

त्यसो त सरकारले हरेक वर्ष २६ लाख मेट्रिक टन बढी दुध उत्पादन हुने अनुमान गर्दै आएको छ । हाल आठ महिनासम्म उत्पादन भएको अवस्था हेर्दा अनुमानित सङ्ख्यामा पुग्न सक्ने अवस्था भने देखिँदैन । कृषि तथा पशुपन्छी मन्त्रालयले भने दुध बढी उत्पादन हुने सिजन सुरु भएकाले बाँकी चार महिनामा अनुमानित सङ्ख्याको उत्पादन हुने दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता डा. चन्द्र ढकालले चालु आवको चार महिना बाँकी रहेको र आठ महिनाको प्रतिवेदनलाई आधार मान्दा अनुमानको नजिक पुग्ने अपेक्षा गरेको जानकारी दिनुभयो । 

गत आव २०७९/८० मा पनि कृषि मन्त्रालयले २६ लाख मेट्रिक टन दुध उत्पादन हुने अनुमान गरिएकोमा १७ लाख ७० हजार ९२७ मेट्रिक टन मात्रै उत्पादन भएको थियो । नेपाल दुग्ध विकास बोर्डका पूर्वनिर्देशक एवं पशुविज्ञ डा. राजेन्द्र यादवले छ महिनाअगाडि ‘लम्पी स्किन’ रोगका कारण धेरै गाईभँसीको क्षति भएकाले पनि यो वर्ष दुध उत्पादन अझै घट्ने देखिएको बताउनुभयो । उहाँका अनुसार दुध उत्पादन घट्नुमा दुध उत्पादन किसानले बेलामा भुक्तानी नपाउनु उपभोक्ताको आयआर्जन घट्नुलगायत रहेका छन् । 

प्रतिवेदन अनुसार आव २०७८/७९ मा २५ लाख ६६ हजार ६१४ मेट्रिक टन दुध उत्पादन भएकोमा आव २०७७/७८ मा २४ लाख ७९ हजार ८९९ मेट्रिक टन दुध उत्पादन भएको थियो ।