• ७ मंसिर २०८१, शुक्रबार

विद्यालय शिक्षामा नयाँ शैक्षिक सत्र

blog

यादव देवकोटा

दुई वर्षको अस्तव्यस्ततापछि मुलुकको अन्य क्षेत्रले जस्तै शैक्षिक क्षेत्रले पनि गति लिन थालेको छ । वैशाखबाटै विद्यालयमा नयाँ भर्ना सुरु भएको छ । एसईई सम्पन्न भएपछि नयाँ शैक्षिक सत्रको आरम्भ पनि हुन्छ । कोरोना महामारीले गिजोलेको शैक्षिक क्षेत्रले यो दुई वर्षमा भोगेको अनुभवबाट शिक्षण पद्धति र विधिमा परिवर्तन ल्याएर नयाँ शैक्षिक सत्रलाई मुलुकको शिक्षा पद्धतिमा नयाँ आयामका रूपमा लिने अवसर पनि रहेको छ । 

शिक्षण प्रणाली र पद्धतिलाई समयअनुसार ढाल्नैपर्छ । समाजको आवश्यकताअनुसार विद्यार्थीलाई अभ्यास गराउनैपर्छ । तसर्थ कोरोना सङ्क्रमणपछि शिक्षण विधिमा र शैलीमा आएको परिवर्तन अनि विद्यार्थीमा विकसित भएको ‘नयाँ कुरा सिक्ने’ प्रवृत्तिलाई नियमित शैक्षिक अभ्यासका रूपमा स्थापित गर्नुपर्छ र विद्यालयले यो कार्य गरे नेपालको विद्यालय शिक्षामा नयाँ आयाम थपिने छ । यस्तो शिक्षा र अभ्यास गरेका व्यक्ति नै राष्ट्रका लागि सक्षम नागरिक बन्छन् । 

शिक्षाको अर्थ किताब पढाएर परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र दिनु मात्रै नभएर यो जीवन पद्धति नै हो भन्ने शैलीमा अब विद्यालय अग्रसर हुनुपर्छ । किनभने कुनै पनि व्यक्तिका लागि शिक्षा जीवनको अपरिहार्य र आधारभूत आवश्यकता भएकैले नेपालको संविधानले शिक्षालाई आधारभूत आवश्यकताको क्षेत्रमा राखेर निःशुल्क शिक्षाको प्रत्याभूति गरेको छ । अहिले संविधानको त्यो प्रावधान लागू हुन नसके पनि शिक्षाको अनेकौँ पाटाको विश्लेषण गरेर नयाँ ढङ्गले शिक्षण गराउने प्रक्रियाको थालनी गर्नु आवश्यक छ ।

विद्यार्थीको उत्कृष्टता उसको नम्बरमा हैन, उसको क्षमतामा निर्भर हुन्छ । थोरै नम्बर ल्याएर पनि उत्कृष्ट काम गर्ने र धेरै नम्बर ल्याएर राम्रो काम गर्न नसकेका उदाहरण प्रशस्तै छन् । किताबी ज्ञानले मात्रै कोही पनि जान्ने बन्दैनन् । विश्वका महान् आविस्कारकहरू किताबीभन्दा व्यावहारिक ज्ञान लिएर महान् बनेका उदाहरण अनेक छन् । हामीले पनि विद्यालयमा पठनपाठन गराउँदा विज्ञान, प्रविधिसँंगै राष्ट्रियताको प्रवद्र्धन गर्ने किसिमले नेपालको पहिचान, गौरवगाथा, धार्मिक, सांस्कृतिक विविधताको चिनारी दिनुपर्छ । 

दुई वर्षयता विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी र आम अभिभावकले धेरै कुरा सिकेका छन् । किताबबाट मात्रै सबै ज्ञान पाइँदैन भन्ने जानेका छन् । अब यसलाई नियमित अभ्यासका रूपमा अघि बढाएर व्यावहारिक शिक्षालाई पनि संँगसंँगै लैजाने कार्यतालिका बनाउनैपर्छ । घोकन्ते पद्धतिमा आधारित नेपालका शिक्षामा विद्यार्थीको क्षमता, उसको कार्यशैली र प्रस्तुतिमा हैन उसले पाउने नम्बरमा देखाइन्छ । यो पूर्णतः गलत नभए पनि एउटा शिक्षिक र सक्षम नागरिक तयार पार्न अर्थात् देशलाई आवश्यक जनशक्ति उत्पादनका लागि पर्याप्त छैन । टुप्पी कसेर सामान्य ज्ञान घोकेको भरमा परीक्षा उत्तीर्ण गर्ने र घोकाइसंँगै अभ्यास पनि गर्नेहरूबीच हुने अन्तरलाई केलाउन सकियो भने व्यावहारिक अर्थात् अभ्यासमा केन्द्रित शिक्षा कति आवश्यक भन्ने स्पष्ट हुन्छ ।

यसका लागि ठूलो लगानी गर्न पर्दैन । केवल अध्यापन विधिलाई बदले मात्र पुग्छ । अझ शिक्षाको जग मानिएको विद्यालय र त्यसमा पनि शिशु कक्षालाई विशेष ख्याल गरेर शैक्षिक पद्धतिको विकास गर्ने हो भने छोटै समयमा नेपालको शैक्षिकस्तर गुनासोरहित हुन सक्छ । खासमा शिशु तहदेखि समयसापेक्ष, व्यावहारिक र नैतिक पक्षलाई समेटेर उनीहरूको बौद्धिक, शारीरिक, मानसिक विकास र प्रतिभा प्रस्फुटन गराउने शिक्षा प्रारम्भिक चरणको हुनुपर्छ तर नेपालमा त्यस्तो प्रकारको स्पष्ट शैक्षिक नीति छैन । निजी र सामुदायिक विद्यालय भनेर कित्ताकाँट गर्ने चलन छ । समस्या छ– शिक्षा पद्धतिमा, सिकाइ विधिमा । 

हामीले आजसम्म बालबालिकाका लागि दिइने प्रारम्भिक शिक्षाका बारेमा खासै बहस गर्न सकेका छैनौँ । वास्तवमा शिक्षाको जग प्रारम्भिक शिक्षा नै हो । प्रारम्भमा हामीले जस्तो शिक्षाबाट बालबालिकालाई अघि बढाउँछौँ, उसको विकास सोहीअनुसार हुन्छ, उसको सिक्ने क्षमता अनि ग्रहण गर्ने क्षमता पनि सोहीअनुसार अघि बढ्छ, परिस्कृत हुँदै जान्छ ।

जब बालबालिकालाई विद्यालयमा भर्ना गरिन्छ, तब उनीहरूको मनोविज्ञान बुझ्नु शिक्षक–शिक्षिकाको पहिलो कर्तव्य हो । उनीहरूलाई विद्यालय बोझ नभएर मनोरञ्जन गर्ने थलो हो भन्ने अनुभूति दिलाएर उनीहरूको प्रतिभा निखार्ने प्रयास गर्नुपर्छ । खेलकुद, सङ्गीत, कला वा अन्य जुनसुकै विषयमा जसको जस्तो रुचि छ, त्यस्तै वातावरण विद्यालयले दिनुपर्छ ।

अर्को महìवपूर्ण कुरा, बालबालिकाको मनोविज्ञानअनुसार उनीहरूका अभिभावकलाई विद्यालयले उनीहरूका छोराछोरीको प्रतिभा, चाहना र क्षमताका बारेमा जानकारी दिएर त्यस्तै वातावरण घरमा पनि तयार गर्न मनाउन सक्नुपर्छ । एउटा कुशल शिक्षक–शिक्षिकामा यति गुण हुनैपर्छ तर हामीकहाँ छोराछोरीले किताबी ज्ञानबाहेक बाहिरी ज्ञान राख्नु वा त्योभन्दा फरक सोच्नु अपराध नै ठानिन्छ । केवल घोकन्ते विद्यामा हामी सबैको ध्यान गढेको छ । यो सबभन्दा खराब पक्ष हो ।

बालबालिकालाई दिइने शिक्षा अर्थात् प्रारम्भिक तहबाट दिइने शिक्षा कस्तो हुनुपर्छ भन्ने अहिले संसारभरकै बहसको विषय हो । बच्चालाई शिक्षक, अभिभावक वा विद्यालयले लादेको कुरा मात्र पढाउने कि उसको क्षमता र चाहनालाई पनि ख्याल गर्ने भन्ने महìवपूर्ण पाटोतिर कसैको पनि ध्यान गएको छैन । विकसित मुलुकमा बालबालिकाको क्षमता र चाहना अनि प्रतिभाअनुसारको शिक्षा दिइन्छ, त्यसैले ती देश विकसित भए । हामीले पनि यो अभ्यासको थालनी नयाँ शैक्षिक सत्रबाटै सुरु गरौँ । 

आज एउटा बालक वा बालिकाले उसको चाहना र क्षमताअनुसार पाएको ज्ञान नै भोलि मुलुकका लागि काम लाग्छ । लादिएको शिक्षाले केवल शैक्षिक बेरोजगार मात्र उत्पादन गर्छ । आज नेपालमा त्यस्तै भएको छ । विद्यालय तह सकेपछि निम्न आय भएका परिवारका छोराछोरी खाडीतिर श्रम गर्न जाने, अलिक हुनेखानेका छोराछोरी दस जोड दुई तहको पठनपाठन सकेपछि विदेश जाने । हामीले यो परम्पराको अन्त्य गर्नुपर्छ । यसका लागि जग मजबुत बनाउनुपर्छ ।

जब बालबालिका औपचारिक शिक्षा आर्जनतर्फ लाग्छन्, तब हामी उनीहरूको तौलभन्दा बढीको किताबको भारी बोकाउने गर्छाैं । यसले बालबालिकालाई विद्यालय जानु भनेको ठूलो सजाय काट्नुसरह भएको छ । आजभोलि यो प्रचलन कम हुँदै छ तापनि बालबालिका अझै किताब कापीको भारी बोकेर घरबाट विद्यालय र विद्यालयबाट घर जाने गरेको प्रशस्तै देखिन्छ । यो नितान्त गलत छ ।

विद्यालय जानु भनेको रमाइलो गर्न जाने हो भन्ने भावनाको विकास गराउन सक्नुपर्छ । बालबालिकालाई निश्चित उमेर समूहसम्म किताबी ज्ञानभन्दा बाहिरी र व्यावहारिक ज्ञान दिनु आवश्यक छ । साथै उनीहरूको प्रतिभा र क्षमताको पहिचान गर्नु आवश्यक छ । यो समूहमा अध्यापन गराउने शिक्षक–शिक्षिकामा मनोवैज्ञानिक विश्लेषण गर्न सक्ने क्षमता र दयालुपन हुनु अत्यावश्यक छ ।

यसका लागि शिक्षक–शिक्षिकालाई तालिमको आवश्यकता पर्छ । बालमनोविज्ञान बुझ्ने क्षमताको विकास गराउनुपर्छ । सामुदायिक विद्यालयका शिक्षक–शिक्षिका तालिम लिएर परीक्षा उत्तीर्ण गरेर नियुक्त भएका हुन्छन् । उनीहरूमा योग्यता छ तर काम गर्ने जाँगर नभएर मात्रै हो । यस्तो किन भयो भन्नेतिर नजाऊँ । विशेषगरी निजी विद्यालयले आफ्ना शिक्षक–शिक्षिकालाई बालमनोविज्ञान बुझ्ने क्षमता विकासमा जोड दिएर शिक्षण कार्य सञ्चालन गर्ने परिपाटीको विकास यही शैक्षिक सत्रबाट गरौँ– यो नेपालको शैक्षिक क्षेत्रको विकासमा अग्रगामी छलाङ हुनेछ ।




Author

यादव देवकोटा