• ३ असार २०८१, सोमबार

कोशी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता पेस

blog

शशिधर पराजुली

विराटनगर, जेठ १३ गते । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेटको प्रमुख नीति तथा प्राथमिकताहरू प्रदेश सभामा पेस गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार बजेटका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्नुभएको हो । 

प्राथमिकता प्रस्तुत गर्नुहुँदै मन्त्री मगरले बजेट तर्जुमा गर्दा देखिएका समस्या र चुनौतीहरूलाई केलाउनुभएको छ । देशको आर्थिक अवस्था सहज नभइसकेको उल्लेख गर्दै उहाँले सामूहिक आर्थिक गतिविधिमा शिथिलता आएको र उत्पादन, व्यापार तथा निर्माण क्षेत्रमा सुस्तता देखिएको बताउनुभयो । राजस्व परिचालनले लक्ष्य पूरा गर्न नसक्दा सार्वजनिक ऋणको दायित्व बढ्दै गएको र खर्चको दृष्टिकोणले वाञ्छित नतिजा हासिल हुन नसकेको उहाँले बताउनुभयो । 

मन्त्री मगरले प्रदेशको आर्थिक वृद्धिले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको भन्दै कुल गार्हस्थ्य उत्पादनको संरचनामा प्राथमिक तथा सेवा क्षेत्रको योगदान उच्च हुँदाहुँदै पनि उत्पादनमूलक उद्योगको योगदान अपेक्षित रूपमा बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

सङ्घीय सरकारबाट प्रदेश तथा स्थानीय तहमा संरचनागत दोहोरापना देखिएको र त्यसले वित्तीय तथा प्रशासनिक सङ्घीयता कार्यान्वयनमा समस्या देखिएको उहाँले बताउनुभयो । संविधानले प्रदेशलाई दिएको अधिकार हस्तान्तरण नहुँदा स्थानीय तहसँग समेत सहकार्य र समन्वय प्रभावकारी नभएको मन्त्री मगरले बताउनुभयो ।

आगामी बजेटका सिद्धान्त बाहेक प्राथमिकताहरूसमेत प्रस्तुत गर्नुहुँदै मन्त्री मगरले आगामी आर्थिक वर्षबाटै प्रदेश राजधानीको मुख्य प्रशासनिक संरचनाको निर्माण कार्य आरम्भ गर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभयो । विगतदेखि सञ्चालित बहुवर्षीय आयोजना निर्धारित समयसीमाभित्रै सम्पन्न गरी सुरक्षित र व्यवस्थित आवागमनका लागि सडक पूर्वाधारको गुणात्मक सुधार गर्ने उहाँको भनाइ थियो । 

धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलसम्म पुग्ने र पालिकाहरूको केन्द्र जोड्ने सडक निर्माणमा सरकारले विशेष जोड दिने मन्त्री मगरले बताउनुभयो । कोशी प्रदेशलाई मुलुककै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा अगाडि बढाउन पर्यटकीय पूर्वाधार विकास तथा प्रवर्द्धन गर्ने, हिमाली पर्यटकीय पदमार्गहरूको पहिचान र प्रचार गर्ने, जलवायु परिवर्तनबाट नेपाललाई परेको प्रभावलाई अनुकूलन तथा न्यूनीकरण गर्ने आदि कार्यक्रम सञ्चालन गरिने मन्त्री मगरले बताउनुभयो । 

कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि उच्च मूल्यका बालीनालीहरू खेतीका कार्यक्रम सञ्चालन गर्ने, पशुजन्य उत्पादनको व्यावसायिकीकरण केन्द्रित हुने उल्लेख गर्दै कृषकहरूलाई कर्जा तथा बिमाको पहुँच पुर्‍याउने उहाँको प्रतिबद्धता थियो । 

स्वास्थ्य सेवा गुणस्तरीय बनाउन प्रदेशका अस्पतालहरूको विस्तार, स्वास्थ्यकर्मीलाई प्रोत्साहन गरी जनशक्ति व्यवस्थापन गर्ने, उच्च शिक्षालाई व्यावसायिक बनाउने उहाँले बताउनुभयो ।