• ३ असार २०८१, सोमबार

सिसी क्यामरा नहुँदा सुरक्षा चुनौती

blog

बुलबुले समाचारदाता

सुर्खेत, जेठ १३ गते । बुधबार साँझ कारको ठक्करबाट वीरेन्द्रनगरमा एक जना ज्येष्ठ नागरिकको मृत्यु भयो । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोकबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

प्रहरीका अनुसार बुधबार बेलुका बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको कारले पैदल यात्री शाहीलाई ठक्कर दिएको थियो । दुर्घटनापछि कारचालक फरार भए । फरार चालकलाई पक्राउ गर्न प्रहरीलाई हम्मे हम्मे पर्‍यो । सार्वजनिक ठाउँमा राखिएको सिसी क्यामरा बन्द थिए । व्यक्तिले घरमा जडान गरेको सिसी क्यामराको सहायताले प्रहरीले फरार चालकलाई पक्राउ गरेको छ । यसका लागि प्रहरीलाई २४ घण्टा लाग्यो । वीरेन्द्रनगर नगरपालिका–५ का फरार चालक प्रभात पोखरेललाई बाँकेको भृकुटीनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रूपेश खड्काले बताउनुभयो । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिक जसो सडक दुर्घटना हुने गरेका छन् तर पछिल्लो समयमा सिसी क्यामरा बिग्रिएसँगै सुरक्षामा पनि चुनौती थपिएको प्रमुख रूपेश खड्काले जानकारी दिनुभयो । सिसी क्यामरा बन्द हुँदा अपराध र विभिन्न घटनाको अनुसन्धानमा असहज भइरहेको उहाँको भनाइ छ । उहाँले सिसी क्यामरा सञ्चालन नहुँदा अपराध गर्ने व्यक्तिको खोजी गर्न समस्या हुने गरेको बताउनुभयो ।

लामो समयदेखि लथालिङ्ग सिसी क्यामराको मर्मतमा वीरेन्द्रनगर नगरपालिकाले खासै चासो दिएको छैन । बजारमा जडान गरिएका क्यामराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छ । प्रहरीका अनुसार अहिले आठ वटा क्यामराको मात्रै कन्ट्रोल रुमबाट निगरानी हुन्छ । अरू क्यामराको कन्ट्रोल रुमसँग कनेक्सन टुटेको छ । अधिकांश क्यामरा बिग्रिएर काम नलाग्ने भइसकेको एसपी खड्का बताउनुहुन्छ । नगरका मुख्य चोकमा राखिएका क्यामरासमेत बिग्रिएको अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । 

वीरेन्द्रनगर बजारका मुख्य स्थानमा जडान गरिएका ९२ मध्ये ८४ वटा सिसी क्यामरा प्रयोगविहीन बनेका छन् । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै ९२ वटा स्थानमा सिसी क्यामरा राखिएका थिए । विभिन्न चरणमा गरी मुख्यचोक र बजार क्षेत्रमा जडान गरिएका अधिकांश क्यामरा भने लामो समयदेखि बिग्रिएका छन् । बजार क्षेत्रको सुरक्षाका लागि भन्दै जडान गरिएका सिसी क्यामरा नगरपालिकाले मर्मत गर्ने गरेको छ तर बजेट अभाव हुँदा पछिल्लो समय मर्मत गर्न नसकिएको नगर प्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । प्रदेश सरकारले राजधानीको सुरक्षाका लागि बजेट विनियोजन नगर्ने र नगरपालिकाको आफ्नो स्रोत नभएकाले सिसी क्यामरा मर्मत गर्न नसकिएको उहाँको भनाइ छ । मानिसको बढी चहलपहल हुने र सम्भावित दुर्घटनाका साथै अन्य आपराधिक गतिविधिलाई दृष्टिगत गर्दै क्यामरा जडान भएका हुन् ।