• ३ असार २०८१, सोमबार

सहकारी अपचलन : सांसद सासू, ज्वाइँसहित ३५ जनालाई १६ करोड बिगो

blog

बोमलाल गिरी

नवलपुर, जेठ १३ गते । नवलपुर सदरमुकाम कावासोतीको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडमा भएको आर्थिक  अपचलन र घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको हो ।

प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बर्दियाका प्रतिनिधि सभा सदस्य गीता बस्नेत, बस्नेतका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाकै योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष गोपीकृष्ण शर्मा, बिनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले प्रतिवादी बनाइएकामध्ये रिमाल, पाण्डे, शर्मासहित १० जना प्रहरी हिरासतमा छन् । सांसद बस्नेतसहित २५ जना फरार रहेको र उनीहरूको खोजीकार्य जारी रहेको जानकारी दिनुभयो । 

प्रहरीले सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार २६१ रुपियाँ बराबरको बिगो, जरिबाना, हर्जना र जेल सजाय मागदाबी गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । यसअघि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले पनि उल्लिखित रकम हिनामिना गरेको प्रतिवेदन बुझाएको थियो । 

सहकारीको बचत रिसोर्टमा लगानी

सहकारी हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको प्रहरी र सहकारी रजिस्ट्रारको कार्यालयको अनुसन्धानबाट खुलेको छ । सात वर्षसम्म सहकारीको अध्यक्ष र व्यवस्थापक रहेका पाण्डेले आफूनिकटका व्यक्तिलाई बिनाधितो ऋण प्रवाह गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । प्रहरी उपरीक्षक रेग्मीका अनुसार छिपछिपे उपभोक्ता सहकारी संस्थामा सेयर सदस्यसमेत नरहेका व्यक्तिलाई पनि नगद दिएर रकम हिनामिना गरेको पुष्टि भएको छ । उहाँले भन्नुभयो, “कावासोतीमा कार्यालय रहेको सहकारीबाट बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा सोझै करिब एक करोड रकम लगिएको छ । त्यहाँ रकम लैजान पर्ने कुनै कारण देखिँदैन ।”

बर्दियाका पाण्डेले आफूनिकटका नगेन्द्रबहादुर रिमालले बर्दियामा सञ्चालन गरेको कृष्णसार रिसोर्टमा सहकारीको रकम सोझै लगानी गरेको पनि अनुसन्धानले देखाएको छ । राप्रपाबाट प्रतिनिधि सभा सदस्य बस्नेत अध्यक्ष रहेको रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले तीन हप्ताअघि पक्राउ पुर्जी जारी गरे पनि उहाँ अझै फरार हुनुहुन्छ । 

२०६६ मा स्थापना भएको सहकारीमा २३ सय ९३ जना बचतकर्ता र सेयर सदस्य छन् । सहकारीमा कम्तीमा एक हजारको सेयर लिएको हुनुपर्ने व्यवस्था छ । एसपी रेग्मीले ऋण प्रवाह भएको सबै रकम असुली हुन सके बचतकर्ताको रकम फिर्ता हुन सक्ने अवस्था रहेको बताउनुभयो ।