• ८ मंसिर २०८१, शनिबार

नेपाल फेसन फेस्टिभल सुरु

blog

गोरखापत्र समाचारदाता

ललितपुर, जेठ १२ गते  । फेसन नेटवर्क नेपालले तिनदिने ‘नेपाल फेसन फेस्टिभल’ सुरु गरेको छ । ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले बिहीबार साँझ फेसन फेस्टिभलको सुरु गर्नुभएको थियो । फेस्टिभललाई ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलालाई सशक्तीकरण’ नाराका साथ सुरु भएको कार्यक्रममा उपप्रमुख शाक्यले भन्नुभयो, “मलाई फेसन गर्न नआउने भए पनि मैले फेसन भनेको आफ्नै आत्मविश्वासको स्तर माथि पु-याउने शैली हो भन्ने बुझेकी छु । यो फेस्टिभलले जीवन शैलीका सबै पक्ष समेटेको पाउँदा खुसी लागेको छ । म यो फेस्टिभलको सफलताको शुभकामना चाहन्छु ।”

आयोजक फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले लामो समयको कठोर परिश्रमपछि नेपालमै पहिलो पटक एउटा भिन्नै प्रकारको फेस्टिभल अर्थात् नेपाल फेसन फेस्टिभल आयोजना गर्न सफल भएको बताउनुभयो ।

निर्देशक ताम्राकारले नेपालको फेसन जगत्लाई फेसन उद्योगमा परिवर्तन गर्न यो क्षेत्रमा आबद्ध भएका सम्पूर्ण व्यक्ति, सङ्घ, संस्था, उद्यमीलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रमा भएका उपलब्धिहरूका बारेमा जानकारी गराउन तथा सरकारलाई नेपाल फेसन काउन्सिलको स्थापना गराउन माग गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो ।