• ४ असार २०८१, मङ्गलबार

मनाइयो उँभौली

blog

काठमाडौँ, जेठ ११ गते । किराँत समुदायले उँभौली पर्व मनाएका छन् । किराँत धर्मावलम्बी राई, लिम्बूलगायत जातजातिले उँभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ । किराँत समुदायले यस दिनलाई ‘सम्रमा’ अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनका रूपमा पनि मान्ने गर्दछन् । 

किराँत समुदायभित्रका चाम्लिङ, बान्तवा, सुनुवार, राई याक्खा, लिम्बूलगायतले यस पर्वलाई मनाउने गर्दछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । वैशाख पूर्णिमापछि गर्मी बढ्दै जाने र बेँसीमा रहेका यो समुदायका मानिस लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको बताइन्छ । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर जान्छन् भन्ने मान्यता छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । आज साकेला नाच पनि नाच्ने गरिन्छ । ललितपुरको हात्तीवनस्थित साकेलास्थानमा पूजा आराधना गरिन्छ । किराँत समुदायको बाहुल्य भएको ठाउँमा यो पर्वलाई भव्य रूपमा मनाउने गरिन्छ । परम्परागत नृत्य गर्दै र मिठा परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उँभौली पर्व मनाउने परम्परा छ ।