• २ असार २०८१, आइतबार

वैशाख पूर्णिमा रौनक, १२९ वर्षदेखि अखण्ड यज्ञ

blog

सुजल श्रेष्ठ 

प्युठान, जेठ १० गते । स्वर्गद्वारीमा सुरु गरिएको अखण्ड यज्ञ १२९ वर्षदेखि निरन्तर बलिरहेको छ । बाल तपस्वी नारायण गौतमले बि.सं. १९५२ वैशाख शुक्ल पूर्णिमाको दिन वेद मन्त्रबाट स्थापना गर्नुभएको यज्ञ निरन्तर बलिरहेको छ । 

विश्व शान्तिको कामना गर्दै महाप्रभुले यज्ञ स्थापना गर्नुभएको स्वर्गद्वारी आश्रमका कोठारी प्रमुख वासुदेव भट्टराईले जानकारी दिनुभयो । विश्वमा धर्म हराउँदै गएकाले धर्मको रक्षा गर्न महाप्रभुले यज्ञ स्थापना गरेको उहाँको भनाइ छ । यज्ञ अनवरत रूपले चलाउन समेत महाप्रभुले आग्रह गरेर १९९७ मा परमधाम हुनुभएको उहाँले बताउनुभयो । 

शान्ति र मोक्ष प्राप्तिका लागि स्वर्गद्वारीमा भक्तजन पुग्ने गर्छन् । वैशाख पूर्णिमा मेला हेर्न बुधबारदेखि नै नेपालका विभिन्न ठाउँ र भारतको उत्तरप्रदेशबाट भक्तजन स्वर्गद्वारी पुगेका छन् । वैशाख पूर्णिमामा सबैभन्दा ठुलो मेला लाग्ने भएकाले धेरै भक्तजन पूर्णिमा मेलामा स्वर्गद्वारी पुग्ने गर्छन् ।

स्वर्गद्वारीमा यज्ञ लगाएर पाँच पाण्डव स्वर्ग गएको किम्बदन्ती छ । स्वर्गद्वारी दर्शन गरेमा मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ । स्वर्गद्वारीमा करिब पाँचसय गाई छन् । यहाँ गौमाताको दर्शन समेत गरिन्छ । स्वर्गद्वारीसम्म पछिल्लो समय कालोपत्रे बाटो भएकाले भक्तजनलाई पुग्न सजिलो छ । 

दुई हजार एकसय मिटर उचाइमा अवस्थित स्वर्गद्वारीबाट विभिन्न हिमाल हेर्न सकिन्छ । यहाँ वैशाख पूर्णिमा, गाई तिहार औँसी, माघे सङ्क्रान्तिमा विशेष मेला लाग्ने गर्दछ ।