• १२ साउन २०८१, शनिबार

युगकविको जन्मजयन्ती मनाइयो

blog

काठमाडौँ, जेठ १० गते । युगकवि सिद्विचरण श्रेष्ठको ११३ औँ जन्मजयन्ती राजधानीमा मनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा संयुक्त रूपमा बुधबार आयोजित कार्यक्रममा नेपाली साहित्यमा युगकवि सिद्धिचरणले पुर्‍याउनुभएको सिर्जनात्मक र क्रान्तिकारी योगदानबारे चर्चा गरिएको थियो ।प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले निरङ्कुश राणा शासनविरुद्ध नेपाली साहित्यमा क्रान्ति, सङ्घर्ष र बहुभाषिक सिर्जनालाई अघि बढाउन युगकवि सिद्विचरण श्रेष्ठले महत्वपूर्ण योगदान दिनुभएको चर्चा गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले युगकवि सिद्विचरण श्रेष्ठका कवितामा पाइने युगीन चेतना र प्रभावले युवा पुस्तालाई प्रगतिपथमा लाग्न प्रेरणा दिएको बताउनुभयो । 

प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले युगकवि सिद्विचरण श्रेष्ठले नेपाली साहित्यको स्वच्छन्दतावादी तथा प्रगतिवादी धाराको विकासमा महìवपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । युगकवि सिद्विचरण प्रतिष्ठानका सदस्य डा. फणीन्द्रराज निरौलाले युगकवि श्रेष्ठको जीवनी चर्चा गर्दै नेपाली साहित्यमा सर्वप्रथम हडताल र क्रान्ति जस्ता शब्दको प्रयोग गर्दै युगीन चेतनाबोध गराउन युगकवि सक्षम देखिएक‍ो बताउनुभयो ।

युगकवि सिद्विचरण प्रतिष्ठानका उपाध्यक्ष प्राडा मोहन लोहनी, प्राडा विश्वनाथ भण्डारीले युगकवि सिद्विचण श्रेष्ठको सिर्जनात्मक र क्रान्तिकारी योगदानबारे चर्चा गर्नुभएको थियो ।