• २ असार २०८१, आइतबार

दस महिनामा साढे पच्चिस अर्बको रासायनिक मल आयात

blog

काठमाडौँ, जेठ १० गते । चालु आर्थिक वर्षको १० महिनामा मुलुकमा साढे २५ अर्ब रुपियाँ बराबरको रासायनिक मल आयात भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म २५ अर्ब ५६ करोड रुपियाँको रासायनिक मल आयात भएको थियो । गत आवको सोही अवधिमा ३१ अर्ब ८७ करोड रुपियाँको आयात भएको थियो । यो गत वर्षको १० महिनाको तुलनामा छ अर्ब ३१ करोड रुपियाँको मल आयात भएको छ । 

नेपालमा इन्डोनेसिया, दक्षिण कोरिया, मोरोक्को, जापान र अमेरिका तथा जर्मनीबाट समेत विभिन्न प्रकारका रासायनिक मल आयात हुने गरेका छन् ।

नेपालमा आयात हुने रासायनिक मललगायत अन्य प्रकारका मल १३ वटा देशबाट भित्रिने गरेका छन् । यस अवधिमा जनावर र खेतीमा प्रयोग हुने मल, युरिया, एनोमियम सल्फेट, सोडियम नाइट्रेट, पोटासियमलगायतका मल आएका छन् ।

विभागका अनुसार तुर्किमिनिस्तानबाट एक अर्ब ११ करोडको युरिया आयात हुँदा साउदी अरेबियाबाट एक अर्ब ११ करोड रुपियाँको युरिया भित्रिएको छ । यस्तै रुसबाट दुई अर्ब ५५ करोडको युरिया, कतारबाट एक अर्ब ८९ करोडको र ओमानबाट चार अर्ब ७० करोडको युरिया आयात भएको छ । चीनबाट २५ करोडको र ब्रुरुनाईबाट तीन अर्ब ४६ करोडको युरिया भित्रिएको तथ्याङ्क छ । 

यस्तै संयुक्त राज्य इमिरेट्सबाट ८३ लाख र भारतबाट ४२ लाखको युरिया आयात हुँदा जनावर र खेतीमा प्रयोग हुने अन्य रासायनिक मल भारतबाट पाँच करोड १३ लाख रुपियाँको आयात भएको छ । 

यस्तै टर्कीबाट १० करोडको युरिया र एमोनियम मिश्रित रासायनिक मल भित्रिएको तथ्याङ्क छ ।  यस्तै क्यानडाबाट ३३ करोड ६४ लाखको पोटास र तुर्किमिनिस्तानबाट ४४ करोड १५ लाख रुपियाँको पोटास आयात भएको छ । धान बाली, गहुँ बाली, तरकारी  बालीलगायतका अन्य बालीमा रासायनिक मलको प्रयोग  हुन्छ । अन्य बालीको तुलनामा धान बालीका लागि रासायनिक मलको माग बढी हुने गर्छ । 

प्रत्येक वर्ष धान रोप्ने बेला बजारमा रासायनिक मलको माग बढी हुने गर्छ । माग अनुसार मलको आपूर्ति नहुँदा प्रत्येक वर्ष किसानले अभाव खेप्ने गरेका छन् ।