• १२ असोज २०८१, शनिबार

भारतसँग श्रीलङ्काको सक्रिय सहकार्य

blog

संयुक्त राज्य अमेरिका, असार ६ गते । श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिङ्घेले सौर्य तथा पवन ऊर्जामा, हरित हाइड्रोजन प्राप्ति जस्ता विभिन्न क्षेत्रमा भारतसँग सक्रिय रूपमा सहकार्य गरिरहेको बताउनुभएको छ ।

उहाँले श्रीलङ्काले उद्योगको प्रतिस्पर्धात्मक क्षमता सुधारका लागि आवश्यक कोषको सुविधा दिने विकास बैङ्क स्थापना गर्न पनि खोजिरहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय उद्योग एक्सपो २०२४ को बुधबार आयोजित उद्घाटनलाई सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घेले साना र मध्यम स्तरका उद्यमीहरूलाई सहयोग गर्न इन्टरप्राइजेज श्रीलङ्का नामक नयाँ इकाई स्थापना गर्ने योजना रहेको बताउनुभयो । श्रीलङ्काका राष्ट्रपतिले प्रधानमन्त्री नरेन्द्र मोदीसँग यी पहलहरूबारे छलफल गरिसकेको उल्लेख गर्नुभयो ।

“हामी यी योजनामा भारतसँग सक्रिय रूपमा सहकार्य गरिरहेका छौँ । मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा छलफल गरिसकेको छु र भोलि भारतीय विदेशमन्त्रीसँग थप छलफल हुने अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो । अडानी कम्पनीले श्रीलङ्कामा आफ्नो काम सुरु गरेको उहाँले बताउनुभयो ।

यसबाहेक, भारतका विदेश मन्त्री एस जयशङ्करले जुन २० मा श्रीलङ्काको आधिकारिक भ्रमण गर्ने तयारी गरिएको  विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

आफ्नो भ्रमणको क्रममा भारतीय विदेशमन्त्रीले दुई देशबिचको साझेदारीका विस्तृत मुद्दाहरूमा श्रीलङ्काका नेतृत्वसँग बैठक गर्नुहुनेछ ।

“प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विदेशमन्त्रीको यो पहिलो द्विपक्षीय भ्रमण हुनेछ,” भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत बताएको छ ।

“विदेशमन्त्री जयशङ्करको भ्रमणले आफ्नो सबैभन्दा नजिकको समुद्री छिमेकी र समय–परीक्षित मित्रको रूपमा भारतको निरन्तर प्रतिबद्धतालाई रेखाङ्कित गर्दछ,” विज्ञप्तिमा भनिएको छ । रासस/एएफपी